दिल्लीमा ओहोडाकै प्रमाणपत्र बुझाएजस्तै नबनोस् देउवाको भ्रमण

192

भारत र चीनबीच डोक्लम सीमा क्षेत्रमा देखिएको समस्या अहिले पश्चिम सीमा क्षेत्र लद्दाखसम्म देखिएको छ । पछिल्लो समय दुईदेशबीचको टकराब उत्कर्षतर्फ लम्किँदै जाँदा भारतीय फौजले चिनियाँ फौजमाथिको कारबाही नै थालेको छ । यसलाई गम्भीर खतराको रूपमा चिनियाँ विदेश मन्त्रालयले लिएको छ । चिनियाँ विदेश मन्त्रालयले जुन सिद्धान्तले भारत चीनको सीमा क्षेत्रमा घुस्न खोजिरहेको छ, त्यही सिद्धान्तलाई आधार मान्दै चीन भारतको सीमा क्षेत्रमा घुस्ने अवस्था आए भारतले चर्को मूल्य चुकाउनुपर्ने चेतावनीे दिएको छ ।

 
भारत–चीन सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको ‘भयंकर कारबाही’ले आफ्ना सैनिक घाइते भएको चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ । सोमबार सीमा क्षेत्र पनगोंग ताल नजिक दुई देशबीचका सैनिकहरूले एक–आपसमा ढुंगा हानाहानको भिडियो सार्वजनिक भएपछि विदेश मन्त्रालयले आफ्ना सैनिकहरू घाइते भएको पुष्टि गरेको पिपुल्स डेली चाइनाले उल्लेख गरेको छ ।

 
विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगका अनुसार अघिल्लो मंगलबार चिनियाँ सैनिकहरू पनगोंग ताल नजिक दुई देशबीचको सीमा क्षेत्र रेखाभित्रको आफ्नै भु–भागमा नियमित गस्तीको क्रममा हिँडिरहेका थिए । तर, एक्कासी भारतीय सीमा सुरक्षा बलले अवरोध गर्दै ढुंगा बर्साएका थिए ।

 
चीन र भुटानबीचको सीमा क्षेत्र दोक्लमबाट सुरु भारत र चीनबीचको यही तिक्त तनावका बीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारबाट सुरु गरेको ५ दिने भारत भ्रमण कति संवेदनशील छ भन्ने बुझ्न यो सानो उदाहरण हो ।
दोक्लमबारे नेपाललाई आफ्नो पक्षमा उभ्याउन, बोलाउन भारतीय समकक्षी नरेन्द्र मोदीले देउवालाई सकेसम्म रिझाउने, फकाउने वा घुक्र्याउने प्रयाश अवश्य गर्नेछन् । तसर्थ एक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न असंलग्न मुलुकका कार्यकारी प्रमुखकका हैसियतले भारत, चीन तथा भूटान विवादमा सतर्कतापूर्वक देखाएको तटस्थताको वर्तमान नेपाल नीतिप्रतिको अडानमा देउवा दिल्लीमा अडिग रहनैपर्छ ।

 
मूलतः भ्रमणका दौरान आउने लिखित संयुक्त वक्तव्यमा भारतीय चाहना पुरा गर्ने शव्दावलीमा देउवा फसेमा चीन रिसाउने मात्रै छैन, नेपाल आफैं आत्माघाती छिमेक सम्बन्धको संकटमा फस्नेछ । दोक्लम विवादको शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान हुनुपर्ने नेपालको दृष्टिकोण दोहो¥याउन नचुकून् देउवा भन्ने नै नेपाली सदिच्छा हो ।
देउवा नयाँ दिल्लीका पाहुना बनिरहँदा नेपालको तराई मधेश बाढी डुबानको कहरमा छ । कोशी नदीमा आएको बाढी सो बाँधका पूर्ण ढोकाहरू नखोलेको कारण नेपालको भूमि डुवानमा परी ठूलो धनजनको क्षति भएको तथ्य ओपन सेक्रेट हो ।

 
कोशी बाँधको चावी भारतीय रुचिमा उसको स्वार्थमा मात्रै खुल्ने नियन्त्रणमुखी प्रवृत्ति नेपालको मधेशको बाढी डुबानको सधैको नियति हो । नेपाल–भारत दशगजा नजिक अन्तर्राष्ट्रिय कानून विपरीत भारतले बनाएको करीब डेढ दर्जन तटबन्ध, सडक तथा उच्च संरचनाहरू पनि पाल डुबाउने र जनता सताउने भारत सिर्जित कहर हुन् । प्रधानमन्त्री देउवाका लागि यी र यस्तै विषयहरू नै हुन् दिल्लीमा भारतसँग उठाउने मूल मुद्दा । आफ्नै पालामा महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सम्झौता भएको दुई दशक बित्दा पनि डीपीआरसम्म तयार हुन नसकेको ताजा उदारहरण देउवाका लागि पेचिलो मुद्दा हो । सो सम्झौताअनुसारको बराबर पानी र बिजुलीको सुनिश्चित गरेर मात्र शीघ्र डीपीआर गरी आयोजना कार्यान्वयन अघि बढाउन समकक्षी मोदीलाई सहमत गराउनु देउवाको क्षमताको परीक्षा पनि हो ।
प्रधानमन्त्री देउवाको चौथो पटक सत्ता सम्हालेको करिब साढे दुई महिनापछि आफ्नो पहिलो औपचारिक विदेश यात्रामा नयाँ दिल्लीमा रमाईरहेका बेला आफ्नो करिब २१ वर्षअघि प्रधानमन्त्रीका रूपमा पहिलोपटक दिल्लीको पाहुना बन्दा गरेका कर्म दुष्कर्महरूको इमान्दार समीक्षा गरे मात्रै पनि देउवा दिल्लीबाट रित्तो हात हुने छैनन् ।

 
तीन पटक भारतीय आतिथ्य पाइसकेका देउवाले जारी यो भ्रमणमा महाकाली सन्धि, डुबान समस्याको समाधान जस्ता विगतका तिनै दिल्ली भ्रमणमा उठेका विषयको कार्यान्वयनमा जोड दिन सके मात्रै यो दिल्ली यात्रा सफल हुनेछ । नेपालसँग गाँसिएका ठूला परियोजनाहरू कार्यान्वयनमा यस्ता भारतीय पक्षको सुझबुझपूर्ण ढिलासुस्तीका श्रृंखलाहरूमा क्रमभंगता ल्याउन सक्नु पनि उनको कर्तव्य हो ।

 
भारतलाई रिझाउने नाममा चिनलाई चिढ्याउने आत्मघाती महाभुलबाट बचेनन् भने, भारतीय मीठा आश्वासनको विगतमा भुलिए भने र जनताले भारतीय नाकाबन्दीदेखि मधेश डुबानसम्मका कहरका पीडा आत्मसात् गरेर बोल्ड रूपमा प्रस्तुत हुन सकेनन् भने देउवाको जारी दिल्ली यात्रा वामपन्थी नेता चित्रबहादुर केसीकै शब्दमा भारतमा ओहोदाको प्रमाणपत्र बुझाउन जाने परम्पराको निरन्तरता मात्रै हुनेछ । कामना गरौं प्रधानमन्त्री देउवा नेता केसीको आशंका र आरोपबाट मुक्त बनी स्वाभिमानी नेपालीको असल प्रतिनिधि बनून् । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here