आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झना गरिँदै

407

काठमाडौं,आजबाट पितृपक्ष सुरु भएको छ । सनातन मानिने हिन्दु धर्ममा आश्विन कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ । बोलीचालीमा पितृपक्षलाई ‘सोह्रश्राद्ध’ भन्ने गरिन्छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन र्पुयाइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ । पञ्चांग निर्णायक समितिबाट स्वीकृतिप्राप्त पात्रोहरूमा आज पूर्णिमा तिथि उल्लेख गरिएको छ । मध्याह्नपछि मात्र आश्विन कृष्ण प्रतिपदा तिथि सुरु हुनेछ । तिथिको घटबढका कारण प्रतिपदा श्राद्ध गरिँदैछ । पूर्णिमा तिथि भएकाहरूले मंगलबार नै श्राद्ध गरिसकेका छन्। यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ । मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई सम्झिइन्छ । आमाबाबु नहुने यो पक्षभरि नियममा बस्ने र एक तिथिमा श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ । सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ । आमाबाबु बाँचुञ्जेल श्रद्धापूर्वक उनीहरूको हेरविचार, पालनपोषण गर्नु सन्तानको कर्तव्य भएको सनातन शास्त्रमा बताइएको छ । यस्तै दिवंगत भएपछि पनि शास्त्रको विधानअनुसार अन्त्येष्टि क्रिया श्राद्ध आदि कर्म गर्नुपर्ने सनातन धर्मको मान्यता छ । श्राद्धमा श्रद्धा र शुद्धताको बढी महत्त्व हुने धर्मशास्त्रविद्हरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here