सूर्य खड्का
आफ्ना पछिल्ला अन्तर्वार्ताहरूमा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले आफ्नो हालैको उत्तर कोरिया भ्रमण पार्टीगत प्रतिनिधित्वमा नभई व्यक्तिगत सम्बन्धका आधारमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै भएको दाबी दोहो¥याइरहेका छन् । उनले स्पष्टीकरणका शैलीमा आफ्ना भनाइहरू मिडियामा राख्दै आएका छन ।
तर मनोनीत हुने लाइनका उपसभापति तथा भावी सभापतिका रूपमा चर्चामा रहेका काँग्रेस नेता विमलेन्द्र निधिले एमाले नेता नेपालको भ्रमणलाई उत्तरी छिमेक चीनसँग जोडिदिएका छन् । भदौ २६ गते सोमबार गहनगर धनुषामा आयोजित पत्रकार सम्मेलनमा एमालेको राष्ट्रवादको आलोचनाका क्रममा कांग्रेस नेता निधिले माधव नेपाल काठमाडौंस्थित चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको आरोप लगाए ।
जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गहमन्त्री समेत रहेका निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेता नेपालको आलोचना गरे । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको उनले दाबी गरे । नेता निधिले भने, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’
२ नम्वर प्रदेशको असोज २ को स्थानीय तह चुनावमा पार्टीलाई कम्तीमा १०० स्थानमा विजयी बनाउन गहनगरमा अड्डा जमाइरहेका नेता निधिले एमालेको चर्को आलोचना गरे । एमाले संघीयता र मधेसविरोधी पार्टी भएको भन्दै उनले प्रदेश २ का जनताले उसलाई नपत्याउने दाबी गरे । संघीयता पक्षधर र विरोधीबीचको यो जनमत संग्रह रहेको निधिको तर्क थियो ।
चुनावका बेला कुनै पनि दलका नेताले एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने तथा खुइल्याउने कुरा सामान्य भए पनि एक शीर्षस्थ नेताले अर्को पूर्वप्रधानमन्त्रीसमेत रहेका नेतालाई उत्तरी छिमेकी चीनसँग जोडेर आरोपित गर्नु भने अस्वाभाविक प्रसंग हो । पूर्वउपप्रधान तथा गहमन्त्री रहिसकेका नेता निधिले चीनको सल्लाहमा नेता नेपाल उत्तर कोरिया गएको सूचना पाएरै भनेका हुन् भने त्यो गम्भीर सवाल हो ।
विश्व शक्ति राष्ट्रहरूबाट एक्लो पारिएको कम्युनिष्ट देश उत्तर कोरिया निरन्तर आणविक परीक्षणहरू गरेर थप आलोचनामा पर्दै गएको छ । उता नेपालको उत्तरी छिमेक साम्यवादी चीनसँग नेपालको आफ्नै विशिष्ट सम्बन्ध छ । तर पूर्वगहमन्त्री निधिले एमाले नेता नेपालको भ्रमणका दौरानमा लगाएको आरोपले उत्तर कोरियाको आणविक परीक्षणमा चीनको पनि साँठगाँठ रहेको संकेत गर्दछ । जब कि सत्य फरक छ । उत्तर कोरियाको आणविक कार्यक्रममा सबैभन्दा ठूलो विरोध र विमति चीनकै रहेको छ । फरक यत्ति हो चीन मानवीय मूल्यमान्यताको परिधिमा रहेर उत्तर कोरियाको विरोध गरिरहेको छ । अमेरिका तथा पश्चिमाहरू दानवीय रूपमा उत्रेर कोरियाविरुद्ध जेहादी छेड्न उद्दत छन् ।
सत्तारुढ दलका पूर्वमहामन्त्री समेत रहेका नेता निधिको यो अभिव्यक्तिका कारण उत्तरी छिमेकी चीन झस्किन वा बिच्किन सक्छ । उसले तत्काल प्रतिक्रिया दिएर वा नदिएर पनि यसबारेमा चित्त दुखाउँदा वा मनमा चिसो पाल्दा त्यसबाट नेपाल चीनको मित्रतामा असर पर्न सक्छ । दुनियाँले पनि उत्तर कोरियाको आणविक यात्रामा चीनले साँठगाँठ गरेको प्रमाण दिन नसकेका बेला नेता निधिको वाणीले त्यतातिर इंगित गर्नु कूटनीतिक रूपमा ठूलै प्रहार हो । एमालेको रिसले उत्तरी छिमेकीलाई बिच्क्याउने भूल नेता निधिबाट जानी जानी भएको हो भने अक्षम्य हो ।
अर्को कुरा नेपालस्थित चिनियाँ राजदूतको सल्लाहमा एमाले नेताले उत्तर कोरियाको भ्रमण गरेको भन्ने नेता निधिको दाबीमा पनि बलिया आधारहरू दिइनु आवश्यक छ । किनभने हचु्वाका भरमा उत्तरी छिमेकका राजदूतलाई आरोपित गरेर दुई देशीय सम्बन्धमा खलल पार्ने काम कम्तीमा निधि जस्ता जिम्मेवार नेताबाट हुनु हुँदैन ।
चीन सरकारका उपप्रधानमन्त्री वांग याँगले साउन अन्तिम साता काठमाडौं भ्रमण गरेर नेपाल राजनीतिक स्थिरताको बाटोमा गएमा लगानीको चिन्ता नगर्न नेपाललाई आग्रह गरेका थिए । चीन नेपालमा लगानी विस्तार गर्न तयार रहेको मात्रै होइन, भारतको तुलनामा आयोजना ओगट्ने र समय कटाउने जस्तो घातक काम नगर्ने असल छिमेकी हो ।
नाकाबन्दीको बेला पनि चीनले कठिन भूगोलका बीच नेपाललाई पेट्रोलियम पदार्थ सहायता गरेको थियो भने भूकम्पका बेला उत्तिकै निःस्वार्थ सहयोग गरेको थियो । हालैको तराई मधेशको बाढी तथा डुबानमा पहिलो सहायता उपलब्ध गराउने छिमेकी पनि चीन नै थियो । तर यस्तो समस्यारहित सम्बन्धको छिमेकलाई अनायासै विवादमा पर्ने निधि वाणीमा लगाम आवश्यक देखिएको छ । निधिका वाणी सही हुन् भने उनले त्यसलाई प्रमाणित गर्न सक्नुपर्छ । होइन भने कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्तिमा अंकुश लगाउनै पर्छ ।














