सरकारका सय दिन उपलब्धिमूलक रहेको दाबी

298

काठमाडौँ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि बिहीबार सय दिन पुगेको अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले संविधानको कार्यान्वयनका सिलसिलामा सबै तहका निर्वाचन सम्पन्न गराउने अग्रसरता नै सरकारको प्रमुख उपलब्धि भएको बताए।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले वर्तमान सरकार गठन भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनाका साथै आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताए । “सरकारले संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न मिति घोषणा गर्नुका साथै निर्वाचनको आवश्यक तयारी र व्यवस्थापन गरिरहेको छ,”,उनले भने ।
प्रधानमन्त्री देउवाले गत जेठ २४ गते पदबहाली गरेपछि संविधान कार्यान्वयन, सबै तहका निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक समृद्धि, शान्ति सुरक्षा र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने प्राथमिकता तोकी कार्यारम्भ गरेको थियो ।

उनले संविधान संशोधन विधेयकलाई मतदानका लागि संसद्मा प्रस्तुत गरी सबै तहका निर्वाचनमा मधेश केन्द्रित सम्पूर्ण दलको सहभागिता सुनिश्चित गर्दै सरकारले निर्वाचनका लागि आवश्यक कानून निर्माण गरेको जानकारी दिए ।

सरकारले गत साउन महिनाको अविरल वर्षापछि मुलुकभर आएको बाढी, पहिरो र डुबानबाट अस्तव्यवस्त जनजीवनलाई सामान्यीकरण गर्न तत्काल राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित रहेको जनाएको छ ।
सय दिनको अवधिमा भारत र चीनलगायत अन्तर्राष्ट्रिय मञ्चमा उच्चस्तरमा भएको भ्रमणले छिमेकी मुलुक एवं अन्तर्राष्ट्रियस्तरमा आपसी कूटनीतिक सम्बन्ध अझ बढी सुदृढ र उन्नत बनाउन मद्दत पुगेको सरकारको बुझाइ छ । सो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीट्जरल्याण्ड भ्रमण, उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको भारत र चीन भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुनाका साथै अन्तर्राष्ट्रिय जगत्सँग नेपालको सम्बन्ध थप उचाइमा पुगेको छ ।

सय दिनकै अवधिमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गर्नु तथा बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक काठमाडौँमा हुनु र बैठकले बिमस्टेकको शिखर सम्मेलन उपयुक्त समयमा काठमाडौँमा गर्ने निर्णय गर्नु नेपालका लागि गौरवको विषय बनेको सरकारले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा पछिल्लो पटक उल्लेखनीय कार्य भएको बताउँदै सञ्चारमन्त्री बस्नेतले सो अवधिमा सम्पदा, निजी घर, विद्यालय, सरकारी कार्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणको विवरण दिए ।

स्थानीय तहको बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट अनुदानका रुपमा हस्तान्तरित र स्थानीय स्रोतसमेत कायम गरी निर्माण गरिएको बजेट व्यवस्थित तुल्याउन आवश्यक व्यवस्था गरिएको उनले बताए । सरकार गठन भएको सो अवधिमा अर्थ, उद्योग, वाणिज्य, ऊर्जा, कृषि, शहरी विकास, सिँचाइ, सञ्चार, स्थानीय र भौतिक पूर्वाधार र सडकलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् ।

सरकारले प्रमुख चाडपर्वका मुखमा आपूर्ति व्यवस्थापन र बजार अनुगमनलाई प्रभावकारी बनाउनाका साथै सुरक्षा अवस्थालाई समेत चुस्त बनाएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नाका साथै स्रोतसाधनको कमी हुन नदिने सुनिश्चितता गर्दै समयमै निर्माण सक्ने गरी तीव्रता दिन प्रोत्साहन दिएको मन्त्री बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here