भारती सेनाका अध्यक्षलाई नेपालको जबाफः भारतले नेपालसँग बाटो माग्‍ने दिन आउँछ

218

काठमाडौ। भारतीय स्थल सेनाध्यक्ष विपीन रावतले दिएको अभिव्यक्तिलाई ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले धन्यवाद व्यक्त गरेका छन् । नेपालको सार्वभौमिकताविरुद्ध बोलेको भन्दै सडक र सदनमा रावतको विरोध भइरहेको बेला अध्यक्ष नेपालले उनलाई धन्यवाद दिएका हुन् ।

रावतले गत भदौ ३१ गते आइतबार भारतमा भएको बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासको समापनपछि भौगोलिक बाध्यताका कारण नेपाल भारतबाट टाढा जान नसक्ने र चीनसँग नजिकिन अनुकूल नभएको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति प्रति चर्को विरोध भइरहेको छ । सेनाअध्यक्ष रावतको टिप्पणीलाई नेपालले स्वाभाविक ठानेको र गम्भीरतापूर्वक लिएको जनाएका छन् । ग्रेटर नेपालका अध्यक्ष नेपाल विगत लामो समयदेखि गुमेको नेपाली भूमि फिर्ताको लागि अभियान चलाई रहेका छन् । नेपालले रावतको अभिव्यक्तिले नेपाल र नेपालीलाई ईख राखेर अघि बढ्ने शिक्षा दिएको भन्दै सामाजिक संजालमा धन्यवाद दिएका हुन् ।

 

‘नेपालको भौगोलिक बाध्यता के हो, उनले हामीलाई त्यही सम्झाएका हुन् । चीनतिरको बाटो सहज छैन, त्यसैले भारत नेपालका निम्ति बाध्यता पनि हो भन्ने कुरा उनको गलत होइन । तर विपीन रावतजीको भनाइ अन्तिम सत्य होइन’ नेपालले सामाजिक सञ्जालमा लेखेका छन् । उनले नेपालको पूरानो भूमि फिर्ता भएमा भारतले नेपालसँग बाटो माग्नु पर्ने पनि जनाएका छन् ।

 

‘सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिएपछि नेपालको सिमाना बङ्गलादेश र भुटानसँग जोडिनेछ । त्यो दिन धेरै टाढा छैन । त्यतिबेला बङ्गलादेश पुग्न नेपालले भारतसँग बाटो माग्नुपर्दैन, उल्टो पूर्वीउत्तर भारत जान भारतले चाहिँ नेपालसँग बाटो माग्नुपर्नेछ’ नेपालले लेखेका छन् । चीनसँग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न अहिलेसम्म जुन प्रतिकूलता र असहजता नेपालले भोग्दै आएको छ, यो पनि हामी नेपालीकै कमजोरी हो । वि. सं. २०४५/४६ को भारतीय नाकाबन्दी झेलिसकेपछि नेपालले त्यसबाट पाठ सिकेर आफ्ना उत्तरी नाकाहरूको विकास र स्तरोन्नति गरेको भए त्यतिबेलै भारतको विकल्पका रूपमा चिनियाँ बाटो र बन्दरगाह उपलब्ध भइसक्ने उनको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here