–चन्द्रप्रकाश बानियाँ
१. स्थानाभिमानिनः सृष्ट्वा साधकानसृजन् पुनः ।
मरीचिभृगवङ्गिरसं पुलत्स्यं पुलहं ऋचुम् ।
दक्षमत्रिं वसिष्ठिं च धर्म संकल्पमेव च ।। ३३।। ७ । –कुर्मपुराण ।
स्थानाभिमानीहरुको सृजना गरेर फेरि सृष्टिका सहायकहरु मरीचि, भृगु, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, दक्ष, अत्रि, वसिष्ठ, धर्म र संकल्पनामका ऋषिहरु उत्पन्न गरे ।
प्रसंग हो म्याग्दी, पुलाचौर, पुलाडाँडा(पक्षै) मा नवनिर्मित शिवमन्दिरमा रावणका पितामह (बाजे) पुलस्त्यको प्रतिमा स्थापना गर्ने कुराको । सामान्यतः शिव मन्दिरमा पाञ्चायन देवताको स्थापना गर्ने परम्परा छ । पक्षैको शिवमन्दिरमा भने शिवलिङ्गका अतिरिक्त पुलस्त्य पुलह ऋषिद्वयको पाषाण प्रतिमा पनि स्थापना गर्ने सल्लाह भएको रहेछ । पुलस्त्य पुलह ऋषिद्वयको तपोभूमि पक्षै हो भन्ने स्थानीय लोकमान्यता छ । पक्षैको महत्ता र गौरव भनेको ऋषिआश्रम रहनुको नै हो । सामान्यतः ऋषिमुनि भन्नाले घरगृहस्थीबाट टाढा, वनपाखामा विचरण गर्ने मानिस भनेर मानिन्छ । त्यसैले न त ऋषिको घर नै हुन्छ । न त मन्दिर बनाएरै ऋषिप्रतिमाहरु प्रतिस्थापित गरिन्छ । ‘घरबारेलाई घर, देवतालाई मन्दिर’ भन्ने लोकायत समाजमा प्रचलित छ । शिवमन्दिरभित्र ऋषिद्वयको मूर्ति स्थापना गर्न चाहने बन्धुहरुलाई मन्दिर बाहिर राख्दा चोरिएला, हराउला वा नासिएला भन्ने चिन्ता रहेछ । असुरक्षाको चिन्ताले पुलह पुलस्त्यका मूर्तिहरुले मन्दिरभित्र शिवलिङ्गको सहवासको मौका पाउने भएका रहेछन् ।
शिवको मन्दिरभित्र देवताले झैं स्थान पाउने भाग्यमानी पुलस्त्य पुलह ऋषिहरु को हुन् भन्ने जिज्ञासा सबैमा रहनु स्वाभाविक हो । पुराणादि धार्मिक ग्रन्थहरुका अनुसार पुलस्त्य पुलह ऋषि आदिमानव हुन् । अर्थात् यी दुई ऋषिहरु जन्मनुपूर्व यो धर्तीमा मानव अस्तित्व नै थिएन रे ! सृष्टिकर्ता ब्रह्माजी (विश्वकर्मा) विष्णुको नाभीमा उम्रिएको कमलबाट उत्पन्न भए रे ! पुलस्त्य ब्रह्माको नाभीबाट र पुलह मस्तक (निधार)बाट जन्मे रे ! त्यसैले यी दुई ऋषिलाई ब्रह्माजीका ‘मानसपुत्र’ भनेर मानिन्छ । त्यस अर्थमा ती दुई ऋषिहरु शेषशायी भगवान् विष्णुका नाति ठहरिन आउँछन् । पुलस्त्य ऋषिको प्रामाणिकताकोे खोजी गर्दै जाँदा श्रीलंकाको यौटा पहराको चट्टान खोपेर मूर्ति कुँदिएको फेला पर्दछ । ऋषिको प्रतिमा रहेको त्यो ठाउँको नाम पोलोन्नारुवा रहेको छ र त्यो ठाउँको पुरानो नाम पुलस्थीपुरी थियो भनिन्छ ।
हिन्दूधर्मको मान्यताअनुसार यो धर्तीका सबभन्दा जेठा मानिसहरुमध्येका पुलस्त्य र पुलह ऋषिद्वय पनि मानिन्छन् र यी दुई ऋषिहरु सर्वज्ञाता, विद्वान्, ज्ञानी र गुणी थिए भनेर मानिएको छ । यहीँनेर यौटा स्वाभाविक प्रश्न उब्जन्छ– के साँच्चै ती दुई भाइ ऋषिहरु सबभन्दा जेठा मानिस होलान् त ? मानवसमाज निरन्तर विकासोन्मुख छ । समाज विकसित हुनु भनेको मान्छे सभ्य, गुणी, ज्ञानी र विवेकी हुँदै जानु हो । जति जति मान्छे सभ्य, सुशिक्षित, सुशील र शिष्ट हुँदै जान्छ, समाज पनि थप विकसित मानिँदै जान्छ । आजसम्म पनि अफ्रिकाका जंगलहरुमा अनेक असभ्य मानवसमुदाय रहेका छन् । जीववैज्ञानिक अनुसन्धानले अफ्रिकालाई मानवजातिको उद्गमस्थल प्रमाणित गरिदिएको छ । मान्छेको स्वभाव घुमन्ते हुन्छ । अर्थात् आरामदायक जिन्दगीको खोजीमा मान्छेले यात्रा गर्दै रहन्छ । एकै ठाउँमा टाँस्सिएर बस्न रुचाउने मानिसजातिको स्वभाव होइन । हुन पनि व्यवहारमा जो जसले आफ्नो पैतृक थलोबाट बाहिरिने हिम्मत गर्छन्, जिन्दगीमा तिनीहरुले उन्नति प्रगति गरेको देखिन्छ । यतिबेला ककेसियन भनिने युरोपियन र मंगोलियन भनिने एसियनहरुका पुर्खाहरु पनि कुनै जमानामा अफ्रिकाबाटै आएका हुन् । एसिया युरोपतिर आउने मानिसहरुले जति उन्नति प्रगति गरे त्यति अफ्रिकाका मानिसहरुले गर्न सकेनन् । किनकि त्यहाँ बस्न रुचाउने मानवसमुदायहरु यथास्थितिमै रमाए ।
माथिको सानु प्रसंगले के प्रमाणित गरिदिन्छ भने मान्छे आफ्नो बुद्धिविवेकको प्रयोगबाट आजको जस्तो सभ्य र सुशिक्षित बनेको हो । जन्मँदै ज्ञानी, गुणी, सभ्य, सुशील, सुशिक्षित थियो भन्ने कुरा गलत हो । त्यो कुरा मान्नै सकिँदैन । मान्छे उत्पत्ति हुँदैका बखत पुलह पुलस्त्य जस्तो ज्ञानी, गुणी र सभ्य हुनै सक्तैन । यदि त्यस्तो हुन्छ भने जगत् नियन्त्रक सृष्टिकर्ता भगवान् पक्षपाती छ । ब्रह्माको काखमा जन्मने मान्छे जन्मँदै ज्ञानी गुणी हुने र अफ्रिकाको जंगलमा जन्मने मान्छे असभ्य, अशिक्षित, अज्ञानी र जंगली हुने कुरा प्राकृतिक न्याय विपरीतको कुरा हो । त्यसैले पुलस्त्य पुलहादि ऋषिमुनिहरु ज्ञानी, गुणी, सुशिक्षित र सभ्य थिए भन्ने कुरा पत्याउन त सकिन्छ तर सबभन्दा जेठा मानिस हुन् भनेर किमार्थ पत्याउन सकिँदैन । एक त उनीहरुको संस्कारले पनि मानवविकासको जुन स्तरमा पुगेका थिए भनेर मानिएको छ, त्यसले उनीहरुलाई आदिमानव होइनन् भन्ने पुष्टि गरिदिन्छ । दोस्रो उनीहरुको बस्ती वर्तमान नेपालमा रहेको देखिनाले पनि यी दुई भाइ त्यति धेरै वर्ष पुराना हुन् भन्ने कुरा खण्डित गरिदिन्छ । किनकि नेपालको मानवबस्ती अब्बलमा ५००० वर्षभन्दा पुरानो मानिँदैन । मानवजातिलाई १ करोड ३० लाख वर्ष पुरानो मानिन्छ ।
बाँच्नका लागि बलियो हुनुपर्ने जंगली जनावरहरुको जीवनवृत्तिको मुख्य आधार रहेको देखिन्छ । जंगलमा बलियो जनावरलाई निर्धो जनावरको शिकार गर्नबाट कसैले रोक्न सक्तैन । अर्थात् बलियोले मार्दछ, निर्धो र कमजोर मारिन्छ, मासिन्छ । यो जंगली शासनको सनातन परम्परा हो । यस्तो अभ्यासलाई मत्स्य न्यायको रुपमा परिभाषित गर्ने चलन छ । मान्छे पनि कुनै जमानामा असभ्य र जंगली नै थियो । मानवजातिको बाँच्ने आधार पनि पशुजगत्कै जस्तो थियो । विधिको विडम्बना के रहेको छ भने मान्छे शारीरिक रुपमा असाध्य कमजोर रहेको छ । घामपानीबाट जोगिनका निमित्त न त बाघभालुको जस्तो बाक्ला भुत्ला (रौं) नै छन् न त गैंडाको जस्तो बलियो छाला नै छ । अन्य हिंस्रक जीवजन्तुहरुको जस्तो शत्रुको सामना गर्नका लागि तिखा दाह्रा नङ्ग्रा र सिङको पनि अभाव छ । त्यही कारणले गर्दा सृष्टिको प्रारम्भकालदेखि नै मान्छेले आफ्नो जातिको अस्तित्व संकटको सामना बुद्धिविवेकद्वारा गर्न थालेको हो । जीवननिर्वाहका साथै स्वअस्तित्व रक्षाकै लागि मान्छेले हतियारको आविष्कार ग¥यो, आत्मसुरक्षाको लागि घरबास र समाजको विकास गरेको हो । त्यसैले भन्न सकिने कुरा के हो भने मानवजातिले आविष्कार गरेको पहिलो कुरा हतियार र दोस्रो घरबास र समाज नै हो । ज्ञान, गुण, शिक्षादीक्षा र सभ्यता त त्यसपछिको मात्र कुरा हो । यो तथ्यले पनि पुलह र पुलस्त्य ऋषिहरुलाई पहिलो मानवपुस्ताका हुन् भनेर मान्न सकिँदैन ।
“काली म्याग्दी दोविल्लामा पुलस्त्यको ढुङ्गो
त्यही ढुङ्गो पल्टी गयो, संसार भयो– बुङ्गो” ।।
स्वर्गीय “कोटघरे काहिंला” रचित सवाईको अंश हो यो । ऋषि पुलस्त्यले तपस्या गर्ने गरेको चप्लेटो ढुङ्गो बेनीको दोविल्लामा अवस्थित थियो रे ! २००८ सालको बाढीले ढुङ्गो बगायो । ढुङ्गो बगे पनि पुलस्त्यको नाम बगेको छैन । लोकोक्ति मरेको छैन । कृष्णा गण्डकी र गोमती नदीको सङ्गममा “पुलस्त्य–पुलह” आश्रम रहेको थियो भन्ने कुरा हिन्दू धर्मधुरन्धर डा. पाण्डुरङ्ग वामनकाँडेले आफ्नो पुस्तक “धर्मका इतिहास” मा उल्लेख गरेका छन् । श्रीमद्भागवत, महाभारतलगायतका पौराणिक ग्रन्थहरुमा पनि कालीगण्डकीको किनारातिर कतै पुलस्त्य आश्रम रहेको थियो भन्ने कुरा उल्लेख छ । बेनी नगरपालिका वडा नं. ५ पुलाडाँडास्थित “पछै” नै पुलस्त्याश्रम हो भन्ने मान्यता स्थानीय समाजमा रहेको छ । पौराणिक ऋषि पुलस्त्य र उनको आश्रमको बारेमा दाबी गर्दैगर्दा पुलस्त्य साँच्चै थिए कि थिएनन् ? थिए भने उनी को थिए र उनको जीवनकाल कुन हो भनेर खोजीपाँसुली गर्नु अप्रासङ्गिक हुने कुरा भएन ।
चराचर जगत्को सिर्जना इश्वरले गरेको हो भने पनि दावाका साथ भन्न सकिने एउटा तथ्य के हो भने देवता, भगवान् वा ईश्वरको न्वारान गर्ने मानिस नै हो । समीक्षात्मक दृष्टिले धर्मशास्त्रका कथनहरुको अध्ययन अवलोकन गर्ने हो भने हिन्दू धर्मसंस्कृतिले सृष्टिकर्ता भनेर मानेको देवता ब्रह्माजीको भौतिक अस्तित्वमा प्रश्न उठाउने प्रशस्त गाउँ फेला पर्छ । स्वयम् ब्रह्माको बारेमा संशय उत्पन्न भएपछि उनका मानसपुत्र भनिएका पुलस्त्य पनि काल्पनिक पात्र हुन् कि भन्ने जिज्ञासा उत्पन्न हुने नै भो । उनको बारेमा खोजीपाँसुली गर्ने जिज्ञासा उत्पन्न हुनुको कारण त्यही हो । शताब्दीयौंदेखि आफूलाई पवित्र पुलस्त्यपुलहाश्रमको भाग्यमानी बासिन्दा भनेर दाबी गर्दै आएको परम्परामा प्रश्न उठ्ने कुराले जिज्ञासु मनहरुलाई चिमोट्नु स्वाभाविक थियो । हो, त्यही साझा मर्काले उनको इतिवृत्तान्त खोज्नुपर्ने बनाएको हो ।
ब्रह्माजी काल्पनिक भए पनि पुलस्त्य यथार्थ सत्य हुन् । “वृद्धयाज्ञवल्क्य” भन्ने पुस्तकले पुलस्त्यलाई एकजना “धर्मवक्ता” मानेको छ । श्राद्धभोजन सम्बन्धमा पुलस्त्यस्मृतिको एउटा श्लोक “मिताक्षरा”मा उद्धृत गरिएको छ । सन्ध्या, श्राद्ध, आशौच र प्रायश्चित्तको सम्बन्धमा “अपरार्क”मा थुप्रै उद्धरणहरु पुलस्त्यस्मृतिबाट लिइएका छन् । “स्मृतिचन्द्रिका”ले पनि पुलस्त्यको उल्लेख गरेको छ । मृगचर्म दान सम्बन्धमा “दानरत्नाकर” भन्ने पुस्तकमा पनि पुलस्त्यको उद्धरण परेको छ । यतिबेला पुस्तकाकारमा उपलब्ध नभए पनि पुलस्त्यस्मृतिको उल्लेख भएका अनेक ग्रन्थहरु अस्तित्वमा रहेका हुनाले कुनै जमानामा पुलस्त्य नाम गरेका विद्वान् यो जगत्मा थिए र उनले पुलस्त्यस्मृति नामको ग्रन्थको रचना गरेका थिए भन्ने कुरा प्रमाणित हुन आउँछ । अर्थात् पुलस्त्य केवल पौराणिक पात्र मात्र होइनन्, एकजना स्थापित ऐतिहासिक पुरुष हुन् भन्नुपर्ने हुन्छ । तर हाम्रा धर्मग्रन्थहरुले भनेजस्तो पुलस्त्य पहिलो पुस्ताका मानिस हुन्÷होइनन् भन्ने कुरा भने विचारणीय हुन आउँछ । मानवविकासको इतिहासलाई हेर्दा मान्छेको पहिलो पुस्ता नै ज्ञानगुन, विद्याबुद्धि सम्पन्न थियो भनेर पत्याउन गाह्रो पर्छ । दोस्रो कुरा, पुलस्त्यस्मृतिले ऋषिको अस्तित्वको प्रमाण दिएजस्तै उनको जीवनकालको निक्र्योल गर्ने आधार पनि उनको त्यही पुस्तकले दिन्छ ।
संस्कृत साहित्यभण्डारमा दर्जनौं स्मृतिहरुको रचना भएको पाइन्छ । तिनीहरुमध्ये “गौतमस्मृति”लाई सबभन्दा जेठो मानिन्छ । गौतमस्मृतिले एक ठाउँमा मनुको उल्लेख गरेको भए पनि उद्धरण भने हाल उपलब्ध मनुस्मृतिमा भेटिँदैन । पुरानै मानिए पनि भाषागत दृष्टिले मनुस्मृति गौतमस्मृतिभन्दा निकै कान्छो ठहर्छ । मिताक्षरा, अपरार्क, स्मृतिचन्द्रिका, दानरत्नाकरजस्ता अपेक्षाकृत कान्छा पुस्तकहरुमा मात्र पुलस्त्यस्मृतिको उल्लेख भएको र उद्धरणहरु साभार गरिएको पाइने हुनाले पुलस्त्यस्मृतिको रचनाकाल इ.सं ४००–७०० भित्र कतै भएको हो भनेर मान्नुपर्ने कुरा विख्यात हिन्दू धर्मशास्त्रविज्ञ डा. पाण्डुरङ्ग वामनकाँडले आफ्नो पुस्तक “धर्मशास्त्रका इतिहास, पहिलो भाग”को पृष्ट नं.– ६१ मा उल्लेख गरेका छन ।
माथिका प्रमाणहरुले पुलस्त्य नामका ऋषि यथार्थमै थिए र उनी विद्वान् थिए भन्ने कुरा प्रमाणित गर्छन् । पुलस्त्यस्मृतिका रचनाकार उनै हुन् भन्ने कुरा पनि सर्वमान्य छ । पुलस्त्य नामका दुई ऋषि भएको छनक कतै कहीँ पाइँदैन । हाम्रा धर्मशास्त्रहरुले ब्रह्मापुत्र मानेका ऋषि र पुलस्त्यस्मृतिका रचनाकार एउटै हुन् भन्नुपर्ने हुन्छ । त्यसैले उनको काल पुराणहरुले भनेजस्तो मानिसहरुको जेठोपुस्ता हो भनेर मान्न मिल्दैन । जसरी ब्रह्मा नामका देवताले चराचर जगत्को सृष्टि गरे भन्ने कुरा अप्रमाणित कल्पना हो, त्यसैगरी पुलस्त्य पनि सृष्टिको पहिलो पुस्ताका मानिस हुन् भन्ने कुरा पनि काल्पनिक ठहर्छ ।
मान्छेले हतियार बनायो, घर बनायो, समाज बसाल्यो र पनि आफूलाई पूर्णरुपमा सुरक्षित मान्न सकेन । आगो, पानी, वर्षा, घाम जस्ता प्राकृतिक शक्तिसँग मानिस सधंै पराजित हुँदै आयो । उसको ज्ञान र विज्ञानले पनि ती शक्तिहरुसँग जुध्ने क्षमता दिएनन् । पलपलमा संकट र खतराको सामना गर्नुपर्ने अवस्था सधैं विद्यमान रह्यो । सधैं डरले त्राहिमाम रहनुपर्ने भयो । अर्को शक्ति आफूभन्दा बलियो ठह¥यो, त्यसलाई कुनै किसिमले पनि जित्न नसकिने भो भने, हार स्वीकारेर त्यसको शरण पर्नुको विकल्प रहँदैन । मान्छे पनि प्राकृतिक शक्तिसँग पराजित भयो । पराजित मानसिकताले उसलाई झन् कमजोर बनायो र ज्यान बचाउनका लागि बलियाको शरण पर्नु पर्ने आवश्यकता बोध गरायो । पूजा, प्रार्थना जस्ता विधिहरु त्यही पराजित मानसिकताबाट उत्पन्न “त्वं शरणम्”ं का अभिव्यक्तिहरु हुन् ।
घामपानी जस्ता अपेक्षाकृत मानव सामथ्र्यभन्दा बाहिरका वस्तुहरुलाई बलिया शक्तिहरुको रुपमा पूजाअर्चना गर्ने परम्परा मानवसभ्यताको प्रारम्भिक चरणमै सुरु भएको हो । जहाँसम्म तिनलाई देवता, ईश्वर वा भगवान् भन्ने नाम जुराइएको कुरा हो त्यो त झन् पछिको हो । मान्छेले भाषाको विकास गरेपछि मात्र हरेक चिजवस्तुहरुको नामाकरण भएको हो । त्यसैले ईश्वर वा भगवान् भन्ने नाम पनि मानवसभ्यताले निकै पछि मात्र दिएको हो भन्ने कुरा स्वतःसिद्ध हुन्छ । मान्छेले भाषाको प्रयोग नगर्दै देवता वा ईश्वर वा भगवान् वा परमात्मा जस्ता शब्दहरु नै बनेका थिएनन् । हिन्दूधर्मदर्शनद्वारा स्वयम् भगवानका मुखबाट उत्पन्न भएको भनिएको ऋग्वेदले पनि घाम, पानी, हावा, आगोलाई देवताको रुपमा मानेको छ । मानवसभ्यताले कविलातन्त्रमा प्रवेश गरेपछि राजा (सुवाहु वा इन्द्र) पनि देवताको रुपमा थपिएको पाइन्छ । मान्छेले आफूभन्दा बलियो हरेक वस्तुलाई देवता मानेको छ भन्ने कुरा नृसिंह अवतारको रुपमा सिंहलाई र वराह अवतारको रुपमा बनेललाई पनि देवता मानेबाट स्पष्ट हुन्छ ।
पुराणहरुले सृष्टिकर्ता देवताको रुपमा ब्रह्मालाई मानेका छन् । उनका अनेकौं मानसपुत्रहरुमध्येका एकजना पुलस्त्य हुन भनिएको छ । उनको रचना पुलस्त्यस्मृतिको रचनाकाल इस्वीको चौथो शताब्दीभन्दा पछिको ठहरेपछि हिन्दू धर्मले गर्नेगरेको चारयुगको कथा झुटो ठहर्छ । अर्थात् ब्रह्माको सिर्जना इस्वी संवत्सँगै सुरु भएको हो भन्नुपर्ने हुन्छ । अथवा पुराणवर्णित युगगाथाहरु झुटा कथा हुन् भन्नुपर्ने हुन्छ । कि त पुलस्त्य ऋषिहरुलाई ब्रह्मा पुत्र भन्न मिल्दैन । इस्वीको चौथो पाँचौं शताब्दीमा पुस्तक लेख्दै गरेका पुलस्त्यहरु कसरी सृष्टिका पहिलो पुस्ताका मानिस हुन सक्छन् र ? ब्रह्मा र पुलस्त्य ऋषिबीचको साइनोले हिन्दूमान्यताको सृष्टिकथाको पोल खोलिदिन्छ भन्नु बढ्ता हुँदैन ।
















