वाम गठबन्धनबाट माओवादी केन्द्रमा असन्तुष्टि

134

काठमाडौं/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बनेको चुनावी गठबन्धनले जुन अनुपातमा एमाले पंक्तिमा खुशियाली देखिएको छ, त्यस्तो खुशियाली माओवादीपंक्तिमा भने देख्न पाइएको छैन । विभिन्न जिल्लाहरूमा माओवादी केन्द्रका बागी उम्मेदवार देखिएका छन् भने कतिपय स्थापित नेताहरू पनि राजनीतिबाटै सन्यास लिने सोचाइमा पुगेका देखिन्छन् । यो गठबन्धनबाट माओवादी केन्द्रका स्थापित नेता कृष्णबहादुर महरा सबैभन्दा बढी निराश देखिएका छन् । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका नेता महरा दोस्रो संविधानसभा निर्वाचनमा दाङबाट उम्मेदवारी दिएनन् ।

रोल्पा निवासी महराले आफ्नो गृह जिल्लालाई नै सुरक्षित थलोका रूपमा बुझेका कारण दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पाको १ निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका थिए, त्यो बेला पनि महराको आलोचना भएको थियो । खासगरी पार्टीपंक्तिबाटै महराले दाङमा आफूलाई असुरक्षित ठानेर रोल्पा निर्वाचन क्षेत्र रोजेको आरोप लगाइएको थियो । रोल्पा जिल्लामा लोकप्रिय मानिने नेता महरा अध्यक्ष प्रचण्डका पनि विश्वासिला मानिन्छन् । महरालाई प्रतिस्पर्धी ठान्ने वर्षमान पुन अनन्तले यसपटक रोल्पाबाट पनि महरालाई किनारा लगाउन सफलता हासिल गरेका छन् ।
यसअघिका सबै निर्वाचन रोल्पाबाहिर लड्दै आएका वर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा ‘स्पेस’ नरहने भएको छ । यद्यपि माओवादीले यसलाई भने महराकै सुझावका आधारमा वर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ । वर्षमान पुन रोल्पाको उम्मेदवार बन्ने भएपछि महराका लागि दाङ नै निर्वाचन क्षेत्र निर्विकल्प भएको छ । दाङको २ नम्बर निर्वाचन क्षेत्रमा उत्रने भएका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here