एनआरएनएले ध्यान दिनुपर्ने पक्ष

170

–राज्यलक्ष्मी शाक्य
देशमा अहिले प्रवासी नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावी सरगर्मी बढेको छ । सायद यो लेख प्रकाशित हुँदासम्म एनआरएनएले नयाँ अध्यक्ष र कार्यसमिति पनि पाउनेछ । विदेशमा रहे पनि नेपाली मनमुटु भएका र नेपालीहरुलाई माया गर्नेको संगठन एनआरएनए । नेपालको परिस्थिति तथा आआफ्नै समस्याका कारण विश्वका थुप्रै ठाउँमा नेपालीहरु पुगेका छन् । काम, अध्ययन र अन्य सिलसिलामा नेपालीहरुले विश्वका लगभग सबै स्थानमा रहेका छन् । विश्वमै कमै चिनिएका र भाषागत समस्या भएका स्थानमा पनि नेपालीहरुले आफ्ना दशनंग्रा खियाएर पसिना बनाइरहेका छन् । यस्ता नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा चिनिएको छ, एनआरएनए । त्यसैको चुनावका कारण विदेशमा रहेका नेपालीहरुलाई नछुने कुरै भएन ।
विदेशमा गएर सफल भएका उद्यमीहरुले हालसम्म यस संगठनको अध्यक्ष बन्न तथा कार्यसमितिमा रहन सफल भएका छन् । संगठनले नेपालमा गर्ने लगानीका सम्बन्धमा सधैंजसो चर्चा पाउने गरेको छ । नेपालीहरुले विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति अहिले नेपालमा लगानी गर्ने विषयले प्राथमिकता पाएको छ । धेरै एनआरएनले नेपालमा लगानी पनि गरिरहेका छन् । यसरी विदेशमा रहेका नेपालीहरुले आफ्नो लगानी नेपालमा प्रयोग गरिरहँदा नेपालमै रहेका उद्यमीहरु भने देशबाट पूँजी पलायन गर्न उद्दत रहेका छन् । विश्वकै अर्बपतिहरुको सूचीमा नेपालको तर्फबाट सूचीकृत उद्यमीले विभिन्न माध्यमबाट विदेशमा पूँजी पलायन गर्नुले नकारात्मक सन्देश दिइरहेको छ । विश्वभर छरिएर रहेका नेपालीहरुले आफ्नो आम्दानी नेपालमा लगानी गर्न खोज्ने तर नेपालकै व्यवसायीले विदेशमा पूँजी पलायन गर्नतर्फ लाग्नुले गलत अर्थ प्रवाह गरिरहेको छ । यस्तो प्रवृत्तिले कारण नेपालको लगानी बाहिर हुने, बाहिर नै कर तिर्ने बाहिर नै मुनाफा जाने हुन्छ । जसले प्रश्रय पायो भने नेपालमा लगानी गर्न खोज्नेमाझ कस्तो अर्थ जाला ? कोही विदेशीहरुले नेपालमा लगानी गर्न हिच्किचाउने अवस्था सृजना हुनेछ । यसले नेपालमा उद्यम गर्न कोही तयार हुनेछैनन् । जसले देशलाई नै अझ कंगाल बनाउनेतर्फ लैजाने निश्चित । यसतर्फ पनि राजनीतिक दल, सरकार तथा सम्बन्धित पक्षहरुले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । सरकारले प्रवासी नेपालीहरुको लगानी कसरी भित्र्याउन सकिन्छ, उनीहरुको लगानीलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर विचार विमर्श चलाइरहेका छन् । हालै मात्र राजधानीमा भएको एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रमुखले नेपालको पूँजी बजारमा प्रवासी नेपालीहरुको लगानी भित्र्याउन कसरी सकिन्छ भनेर बोर्डले कार्यविधि बनाउन लागेको जानकारी दिएका थिए । यसले राज्यका निकाय प्रवासी नेपालीहरुसँग सहकार्य गर्न इच्छुक रहेको पुष्टि हुन्छ । तर, त्यसलाई प्रभावकारी ढंगबाट प्रयोग पनि अत्यावश्यक छ ।
साथै, एनआरएनएले हाल नेपालमा विभिन्न सामाजिक क्षेत्रमा पनि लगानी गर्दै आएको छ । भूकम्पले प्रभावित गोरखाका लाप्राकवासीलाई घर निर्माण होस् वा अन्य काम, यसले नेपालको सामाजिक क्षेत्रमा गैरनेपालीहरुको ठूलो योगदान रहेको छ । एनआरएनएको अर्को महत्वपूर्ण नेपालमा लगानी मैत्री वातावरणको सन्देश दिनु पनि हो । त्यसैका लागि उनीहरुले नेपालमा प्रतिकूल अवस्थामा पनि लगानी गर्दै आएका छन् । तर, उनीहरुले लगानी गर्दागर्दै पनि देशबाटै पूँजीपलायन हुनुले उनीहरुको अभियान नै असफल हुने हो कि भन्ने भय पनि देखिएको छ । यद्यपि, देशको पूँजी योग्य लगानीलाई मुलुकमै जोखाइराख्ने वा प्रयोग गर्ने अवस्था सृजना गर्ने काम सरकारको काम हो । तर, यस काममा गैरआवासीय नेपाली संघको पनि भूमिका हुन सक्छ । यदि संघले नेपालमै लगानीयोग्य पूँजी रोक्न अभियान चलाउन सके यसले उसको अभियानमा थप टेवा पु¥याउने निश्चित छ ।
प्रवासी नेपालीहरु भनेका विदेशमा नेपालको निःशुल्क ब्राण्डएम्बेसडर हुन् । उनीहरले आफू बसेका स्थानमा नेपाल घुम्न जान, नेपालमा लगानी गर्नका लागि सल्लाह दिनका लागि सहयोग पु¥याइरहेका छन् । नेपालमा विभिन्न क्षेत्रमा योगदान त छँदै छ, विदेशीभूमिमा नेपालको पक्षमा सधैं सकारात्मक सोच प्रवाह गर्नु गैरआवासीय नेपालीहरुको तारिफयोग्य काम हो । यसका लागि उनीहरुको जति प्रशंसा गरे पनि कम हुन्छ । तर, नागरिकस्तरमा हुने कामको एउटा सीमा हुन्छ । उनीहरुको काम एउटा सरकारको जति प्रभावशाली त हुन सक्दैन । अन्त्यमा सबैभन्दा मुख्य भूमिका त सरकारको नै हुने गर्दछ । नेपाल सरकारले बढीभन्दा बढी गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्ने हो भने त्यसैले नेपालको विकासमा नै टेवा पुग्नेछ । विदेशमा आर्जेको सीप, ज्ञान र लगानीले नेपालको आर्थिक वृद्धिमा उनीहरुले ठूलो सहयोग गर्न सक्नेछन् । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

(-स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here