वाम गठबन्धनको विरोध किन ?

159

हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२को कार्यान्वयनको अन्तिम प्रक्रियाका लागि यही मंसिर १० गते र २१ गते प्रदेश र संसदको निर्वाचन हु“दै छ । यसमा नेपालका दक्षिणपन्थी संशोधनवादी कम्युनिष्टहरू मिलेर अहिले वाम एक ठामको नाममा यो निर्वाचनमा सहभागी भएका छन् । दक्षिणपन्थी संशोधनवादी कम्युनिष्टहरूको नेतृत्व अहिले रूपमा एमाले र माकेले गरेको देखिएता पनि सारमा एमाले एक्लैले गरिरहेको छ । तर यो वाम गठबन्धनका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा विप्लव समूह देखिएका छन् । पहिलाले क्रान्तिकारी उपयोगद्वारा यो समग्र संसदीय निर्वाचन प्रक्रियाको भण्डाफोर गर्दै छ भने दोस्रोले केही उम्मेदवारमाथि व्यक्तिगत आतंक, बमप्रहार र उनीहरूसित आफ्नो जनताको नाममा आर्थिक बार्गेनिङ गरेर यसको विरोध गरेको देखिँदै छ । तैपनि यसको सक्कली रूप के हुने हो अझै स्पष्ट खाका बाहिर आएको छैन ।

 

यो सही हो वर्तमानमा यी दक्षिणपन्थी संशोधनवादी कम्युनिष्टहरूको गठबन्धन एकीकृत र जनताको नजरमा बलिया देखिएका छन् । नेपाली कांग्रेस र उसका स्वदेशी र विदेशी मतियारहरू केही आतंकित देखिएका छन् । केही भाट बुद्धिजीवीहरूले एउटा हौवा फैलाउँदै छन् र भन्दै छन् नेपालमा अब अर्को अक्टोबर क्रान्ति हुँदै छ । यी कस्ता बुद्धिजीवीहरू हुन्, जसले अब नेपाल साम्यवादी शासनतर्फ त्यो पनि सर्वहारावर्गको अधिनायकत्वतर्फ अगाडि बढ्दै छ । वर्तमान नेपालको यो संसदीय निर्वाचनको नौटंकीलाई र यो नौटंकीबाट नेपालमा संसदीय व्यवस्थालाई सुदृढ बनाउनका लागि गठबन्धनमा आबद्ध केही कम्युनिष्टहरू, जो अब सिद्धान्त, विचार, राजनीति र कार्यदिशाको कुनै पनि हिसाबले माक्र्सवादी, लेनिनवादी र माओवादी छैनन्, तर यिनीहरूबाट संसद र प्रदेशमा बहुमत ल्याएर अर्को अक्टोबर क्रान्ति हुँदै छ भनेर स्यालहुइया“ गर्ने नेपाली कांग्रेस र त्यसका नामधारी भाट बुद्धिजीवीहरूको विश्लेषण पढ्दा दया लागेर आउछ । यो चाहिँ सही हो कि त्यसको नकारात्मक असर नेपालका क्रान्तिकारी कम्युनिष्टहरू माथि बलियो गरी आउने स्पष्ट छ र अर्को अक्टोबर क्रान्ति होइन, बरु अक्टोबर क्रान्तिलाई जतिसक्दो टाढा धकेल्ने काम यिनीहरूबाट हुने स्पष्ट छ ।

 

क्रान्तिकारी कम्युनिष्ट पार्टीका समर्थक जनता र नेता तथा कार्यकर्तामाथि यी वामपन्थी गठबन्धनवालाको दबाब र आतंक अवश्य बढ्नेछ । क्रान्तिकारीहरूले आफ्नो रक्षाका लागि प्रथम यो सोच्नु आवश्यक भएको छ भने दोस्रो संसदवादीहरूको केन्द्र माके र एमाले भएझैं नेपालका क्रान्तिकारीहरूलाई पनि एकताबद्ध गर्ने महान् अभियानमा ती पार्टीहरू गम्भीर बनेर त्यसका लागि क्रान्तिकारीहरू बीच एकता र ध्रुवीकरणको आह्वान गर्ने मात्रै होइन, त्यसलाई तत्कालको विषय बनाएर अगाडि बढ्नै पर्ने जरुरत भएको छ ।

 
‘युद्धबाट युद्ध सिक्ने’ माओको दीर्घकालीन सैनिक रणनीतिलाई आत्मसात् गर्दै सर्वहारावर्गको रक्षाका लागि आफ्नै सेना आवश्यक छ भन्ने महान् अवधारणालाई निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने र यसको बहिष्कार गर्ने दुवैले गम्भीरताका साथ लिनै पर्दछ र वर्तमान प्रतिक्रियावादी संसदीय निर्वाचनलाई उपयोग गर्ने र बहिष्कार गर्ने दुवैको बीचमा तत्काल एकताको सम्भवना कम छ तैपनि प्रतिक्रियावादी संसदीय व्यवस्थाका पक्षधरका विरुद्ध सम्भावित क्षेत्रमा कार्यगत एकताले पनि जनतामा एउटा सकारात्मक सन्देश दिन सक्नेछ ।

 
अहिले जनताको नजरमा प्रतिक्रियावादीहरूका ठूला दुई गठबन्धन–कांग्रेसको वरिपरिको तथाकथित लोकतान्त्रिक गठबन्धन र एमालेको वरिपरि रहेको माके लगायतको तथाकथित वामपन्थी गठबन्धन भनेका नेपालको सन्दर्भमा माओले भनेझैं दीर्घकालीन तथा रणनीतिक रूपमा ती सबै प्रतिक्रियावादीहरू तथा साम्राज्यवादीहरूका दलाल हुन् । यही सन्दर्भमा त्यसकारण वाम गठबन्धनको विरोध क्रान्तिको लागि आवश्यक छ । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here