माओवादी आन्दोलनलाई केन्द्रित गरेर विजयी हुने प्रचण्डकाे जिकिर

132

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले परास्त गर्न नसक्ने जिकिर गरेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टीलाई मंगलबार माओवादी केन्द्रमा समाहित गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोेलनलाई केन्द्रित गरेर आफूहरु विजयी हुने जिकिर गरेका हुन्।

‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं’, उनले भने, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन।’

उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताए। ‘माओवादीलाई देश भित्र र बाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्’, प्रचण्डले भने, ‘हामी यति ठूलो परिवर्तनका बाहकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’

उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो। प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) सहित सिंगो जिल्ला समितिका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश गर्नेहरुका तर्फबाट रविकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने औंल्याए। अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीको घरमा आफूहरु फर्किएको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here