प्रकाश दाहालको मृत्यु र यदु गौतमको हत्याको पीडा

414

– निमकान्त पाण्डे 
मृत्यु कसैको पनि पीडादायी हुन्छ भन्ने कुरा अस्वीकार गर्न सकिन्न । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क.प्रचण्डका छोरा भएकै कारणले बढी चर्चामा आएका प्रकाश दाहाल अल्पायुमै रहस्यमय निधन भएपछि उनको मृत्यु वास्तवमै पीडादायी बन्यो । मेरो मानसपटलमा प्रकाश दाहालको रहस्यमय मृत्यु र लगभग १९ वर्षअघि रुकुममा घाँटी रेटेर मारिएका तत्कालीन एमाले नेता यदु गौतमको मृत्यु समान किसिमको पीडादायी अनुभव भयो ।
यदु गौतम पढेलेखेका अधिवक्तासमेत भइसकेका अत्यन्त मिलनसार र मृदुभाषी राजनीतिक व्यक्तित्व थिए । यदु गौतमलाई अनेरास्ववियुको सदस्यता म स्वयंले दिएको थिएँ नेपालगञ्जमा । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसका अध्ययनरत रहँदा यदु गौतमले निर्वाह गरेको अनेरास्ववियुलाई सशक्त बनाउने भूमिका मैले उनको हत्या भएको सुनेपछि सम्झिरहें । यदु गौतमको हत्या माओवादी कार्यकर्ताहरूबाट भएको हो । तत्कालीन नेकपा (माले)का महासचिव कमरेड वामदेव गौतमका साथमा चुनावी प्रचार अभियानमा झापा जिल्लामा पुगेका बखत यदु गौतमको हत्या भएको खबर सुनियो । खबरले कमरेड वामदेव गौतमसँगै रहेका गोल्छे सार्की र म अत्यन्त स्तब्ध भयौ । माओवादीले सुरु गरेको हिंसात्मक युद्धको सबैभन्दा नकारात्मक पक्षको रूपमा यो घटनालाई हामीले विश्लेषण ग¥यौं । हुन त यस्ता नकारात्मक गतिविधिहरू युद्धकालमा धेरै भएका थिए । तैपनि यदु गौतमको हत्या एउटा वर्गीय लडाइँमा खारिएर आएको नेताको जघन्य हत्याको रूपमा मैले लिएको थिएँ । युद्धमा लडाइँ लड्दाको अवस्थामा यदु मारिएको भए त्यो स्वाभाविक मान्न सकिन्थ्यो । प्रतिनिधि सभाको चुनावमा आफ्नै प्रचार अभियानमा हिंडेका राजनीतिक व्यक्तित्वलाई अपहरण गरेर घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिनु निश्चय पनि राजनीतिक क्रियाकलाप मान्न सकिंदैन । परन्तु राजनीतिक उद्देश्यका साथ सशस्त्र युद्धको थालनी गरेको पार्टीका कार्यकर्ताको आवरणमा रहेका व्यक्तिहरूले गरेको हत्यालाई त्यति चर्काे आलोचनाको विषय बनाउन तत्कालका लागि आवश्यक ठानिएन ।
गौतम मारिएको घटनाले यदु गौतमका परिवारजनलाई परेको जति पीडा प्रत्येक परिवारलाई अवश्य प¥यो, जसले आफ्ना परिवारका सदस्यको हत्या भएको घटना सुन्नु प¥यो । युद्धकाल यस्तै पीडाजन्य खबरहरूले स्तब्ध गराउने समयका रूपमा नेपाली जनमानसले भोग्नु प¥यो । त्यो युद्धको नायकत्व गरेका कमरेड प्रचण्डले ती सबै गहुँ्रगो लाग्ने घटनाक्रमहरूको जिम्मेवारी बोक्नु भएको छ भन्ने विश्वास नेपाली जनमानसले गर्नु अन्यथा होइन । कमरेड प्रचण्डलाई युुद्धकालमा साथ दिएर आपूmलाई राजनीतिक क्षेत्रमा परिचित गराउने मात्र नभएर सामान्य क्रियाकलापमा समेत प्रचण्ड पुत्रको रूपमा आलोचना खेप्नुपर्ने अवस्थासँग पौंठेजोरी खेल्दै आएका युवा नेता प्रकाश दाहालको रहस्यमय निधन यदु गौतमको निधन जत्तिकै पीडादायी बन्न पुग्यो ।
हुन त यदु गौतम मारिएका थिए भने प्रकाश दाहाल स्वाभाविक मृत्युवरण गर्न पुगेको भनेर समाचार बाहिर ल्याइएको छ । प्रकाश दाहालको शवलाई आर्यघाटमा दागबत्ती दिइएको दृश्यले सबैलाई रुवायो भने कमरेड प्रचण्ड र उहाँका परिवारजनप्रति सहानुभूति पनि सर्वत्र देखियो । प्रकाश दाहालको मृत्यु र यदु गौतमको हत्या किन यति फरक बन्न पुग्यो ? मलाई यो प्रश्नले भने अझै पनि कचोटिरहेको छ । यदु गौतम देशका लागि होनहार नेता थिए । उनी मारिनुपर्ने कुनै कारण थिएन । उनी कम्युनिष्ट आन्दोलनको घर निर्माण गर्दा हजारौं ईटा निर्माण एउटा कुशल ज्यामी थिए । त्यही कम्युनिष्ट आन्दोलनबाट समाज रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास लिएर कम्युनिष्ट पार्टीकै झण्डा बोकेको नेकपा (एमाले)का नेता थिए उनी । उनको हत्या हँसिया हथौडा अंकित झण्डा बोकेकै कमरेड प्रचण्डका कार्यकर्ताहरूबाट भएको थियो । उनै यदु गौतमले निर्माण गरेकोे पार्टीसँग आज कमरेड प्रचण्डले नेतृत्व गर्नुभएको पार्टील चुनावी गठबन्धन गर्न पुगेको छ । चुनावी प्रचार अभियानमा हिंडेकै बेला छोरा प्रकाशको निधनको खबर कमरेड प्रचण्डले सुन्नुप¥यो । आज यदु गौतम बाँचेका भए प्रकाश दाहालको निधनमा आयोजना भइरहेका शोक सभाहरूमा प्रखर वक्ताका रूपमा शायद मञ्चहरूबाट सबैलाई भावविह्वल बनाइरहेका हुन्थे होला ! यदु गौतमको हत्याबाट विधवा बन्न पुगेकी बहिनी तीर्था गौतम र उनका टुहुरी बन्न पुगेका दुई छोरीहरूको आजको अवस्था कसलाई मतलब छ र ? जेहोस् प्रकाश दाहाल यदुको हत्याका निम्ति अवश्य जिम्मेवार होइनन् । तथापि युद्धका दौरानमा मारिएका व्यक्तिहरूको लासको थुप्रोबाट व्यक्तित्व निर्माण गरेका माओवादी नेताहरू सबैले बिर्सिदै गएका युद्धकालका एजेण्डाहरू सम्झना नगर्ने हो भने सबै धिक्कारका पात्र अवश्य हुनेछन् । आज माओवादी नेताहरूले जे गरिरहेका छन्, यस्ता कूकृत्यहरू यदु गौतमले गरेका थिएनन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here