काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भेट्टाएसम्म कारबाही गर्ने सरकारी तयारी भइरहेको खबरबीच नेकपाले आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई कब्जा गर्नेसम्मको योजना बनाएको थाहा भएको छ । नेकपाले पार्टी पंक्तिभित्र यससम्बन्धमा पार्टी नीतिका रूपमा परिपत्र गरेको सार्वजनिक भएको छ । पार्टीले सार्वजनिक गरेको योजनाअनुसार मंसिर १० गते विशेष अभियान चलाउन आज ७ मंसिरदेखि पर्सि ९ गतेसम्म उम्मेदवार कब्जा गर्न मातहतका कमिटीहरूलाई निर्देशन गरिएको छ । त्यसैगरी नेकपाले केही पार्टीका ठूला नेताहरूलाई कारबाही गर्ने तयारी पनि गरेको छ ।
यसरी कारबाही गर्नेक्रममा ‘हिट एण्ड रन’को नीति अख्तियार गर्ने योजना बनाइएको थाहा भएको छ । नेकपाले निर्वाचनलाई असफल तुल्याउन हरेक किसिमका उपायहरू अवलम्बन गर्ने जनाएको छ । विप्लव नेतृत्वको नेकपाले मतपत्र लुट्नेदेखि उम्मेदवार कब्जा गर्नेसम्मका गतिविधि गर्ने सार्वजनिक भएपछि सरकारले कडा नीति अवलम्बन गर्दै सुरक्षा निकायलाई तत्काल गोली हान्न समेतको अधिकार प्रत्यायोजन गरेको सुरक्षा स्रोतले जनाएको छ । पार्टीले गरेको परिपत्रमा कब्जा गरिएका उम्मेदवारहरूलाई सामान्य भौतिक कारबाही गरे पनि क्षति पु¥याउने गरी कारबाही नगर्न कडा निर्देशन गरेको थाहा भएको छ । सरकारको दमनलाई मध्यनजर गरी नेपाल बन्दसम्मको कार्यक्रमसमेत गर्न सकिने जनाइएको छ । (- जनधारणा साप्ताहिक)


















