चन्द्रप्रकाश बानियाँ
निर्वाचन सम्पन्न भैसकेको छ । निर्वाचन परिणामको सम्बन्धमा सामान्यतः मानिसहरूको अनुमानमा एकरूपता देखिन्छ । यसपटक वामपन्थी गठबन्धनले चुनाव जित्ने अनुमान सबैको रहेको छ । यसपटकको चुनाव लोकतान्त्रिक अभ्यासको निरन्तरता मात्र होइन । यसले मुलुकलाई संघीय गणतन्त्रात्मक शासनको प्रारम्भतिर डो¥याउने छ । देशका लागि यो एउटा नयाँ अभ्यासको थालनी हो । नयाँ व्यवस्थाबाट मुलुकले निकै ठूलो आशा अपेक्षा राखेको पनि छ । तर ‘प्रथम ग्रासे मच्छिका पातः’ भनेजस्तो संघीय गणतन्त्रको सम्भावित पहिलो प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिले भने मानिसहरूलाई हिस्सिनुपर्ने बनाएको छ । हुन त उडन्ते गफ र सस्तो हाँस्यले मानिसलाई लोकप्रियताको उचाइमा पु¥याइदिने वातावरण समाजमा भैदिएपछि गम्भीरता प्रदर्शनको आवश्यता पर्ने कुरा भएन । सभ्य र उन्नत समाजमा भैदिएका भए ‘तित्राको मुखै वैरी’ भन्नुपर्ने अवस्था आउँथ्यो होला । हामीकहाँ त्यस्तो मूल्याङ्कनको परिपाटीको विकास भएकै छैन । अब्बलमा ‘कौवाले आफ्नो नाम आफै कहन्छ’ भनेर समाजले त्यस्तो भनाइलाई एक कानबाट सुनेर अर्को कानबाट उडाइदिन्छ ।
कुरो वाम गठबन्धनको एकजना घागडान अभियन्ताको हो, प्रधानमन्त्री पदको निर्विकल्प उम्मेदवारको हो । एउटा प्रतिष्ठित दैनिकलाई दिएको अन्तर्वार्तामा वामगठबन्धनको सैद्धान्तिक, वैचारिक र राजनीतिक आधारको वास्तविकता सार्वजनिक गर्ने सन्दर्भमा ‘गठबन्धनमा सामेल भएका दलहरूको नाम कम्युनिष्ट भए पनि सैद्धान्तिक र वैचारिक दृष्टिले नभई केवल राजनीतिक रूपमा मात्र ती पार्टीहरूलाई कम्युनिष्ट भन्नुपर्छ’ भनिदिएछन् । एक जमानामा स्वर्गीय मनमोहन अधिकारीले आफू संलग्न तत्कालीन पार्टीको नाम र झण्डा दुनियाँलाई देखाउने ट्रेडमार्कको रूपमा मात्रै उपयोग गरिएको हो, यथार्थमा एमाले ‘प्रजातान्त्रित्तक समाजवादी’ मात्रै हो भनेर खुलासा गरिदिएजस्तै ती नेताले पनि आफ्नो नक्कली गाउन लाज नमानीकन सार्वजनिक रूपमा उतारेछन् । नेपाली जनतालाई उल्लु बनाउनका लागि मात्र रातो झण्डाको दुरूपयोग गरिएको कुरा लुकाउन आवश्यक ठानेनछन् । दुनियाँलाई उल्लु बनाएर आफ्नो दुनो सोभ्mयाउने कर्तुतको रूपमा परिभाषित गरिदिएछन् ।
‘बिरालोको रङ्गले कुनै अर्थ राख्दैन, महत्वको विषय बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो’ भनेर चिनियाँ नेता तङ साओ पिङले भनेको थिए भनिन्छ । वास्तवमा नेपाली जनताले एमाले, माले, माके, माक्र्सवादी आदि अनेकौं रूपरङ्गका पार्टीहरूलाई कम्युनिष्ट भनेर समर्थन र सहयोग गर्दै आएका पनि होइनन् । निरंकुश राजतन्त्रको विकल्प खोज्दा हात लागेको काउसोरूपी काँग्रेसको विकल्प खोजेका मात्र हुन् । सायद, कम्युनिष्ट नामधारी पार्टीबाहेक अरु कुनै भरोसालाग्दो राजनीतिक दल नेपाली जनताका आँखामा परेका भए नेपालमा कम्युनिष्ट नामको खेती यतिसारो मौलाउने पनि थिएन होला । कम्युनिष्टहरूको आकर्षण, साख र लोकप्रियता संसारभर ओरालो लाग्दै गरेको समयमा नेपालमा भने जनसमर्थन बढदै जानुको कारण ‘अड्को पड्को, तेलको धुप’ भन्ने भनाइ पछ्याइएको मात्र हो । कम्युनिष्ट दर्शन, सिद्धान्त र कार्यक्रमबाट नेपाली जनता मोहित भएका होइनन् । एमाले माकेजस्ता राजनीतिक पार्टीहरूप्रति देखिएको उर्लँदो आकर्षण नेपाली काँग्रेसप्रतिको विकर्षण मात्र हो । रोज्नका लागि अर्को उत्तम विकल्प उपलब्ध नभएको हुनाले जनताको रोजाइमा कम्युनिष्टहरू पर्ने गरेका हुन् । परिस्थितिले यसपटक काँग्रेसको विकल्प खोज्ने जनताको चीरप्रतीक्षित कामनाले कथित वामपन्थी गठबन्धनलाई संसदीय बहुमत पु¥याइदिने अनौठो संयोग जुटाइदिएको छ । हड्डीको एउटा टुक्राको निमित्त आपसमा लड्ने कुकुरबुद्धिको प्रदर्शन गरिएन भने एक अवधि निर्विघ्न सत्तामा राइदाई मच्चाउने अवसर वामहरूलाई प्राप्त हुने भएको छ ।
सत्तामा राता पार्टीहरू पुगून् वा सेता, अथवा हरिया पुगून्, मुलुकको हितमा कसैबाट उदाहरणीय काम हुनेछ भनेर आशा गर्नु अलि बढी नै मानिनेछ । सत्तारुढ हुने अवसर यसपटक वामपन्थी गठबन्धनलाई मिल्ने अनुमान गरिएको छ । अर्थात् नेपालका कम्युनिष्टहरूले पहिलोपटक पाँचवर्षका लागि अकन्टक राज्यसत्ता उपभोग गर्ने पाउने भएका छन् । जनताले हर्षबढाई गर्नुको भने कुनै अर्थ छैन । किनकि चरित्रले काँग्रेसभन्दा नेपालका वामहरू फरक हुन् भन्ने प्रमाणित गर्दैन । मुलुकमा कम्युनिष्ट सत्ता आउने भो भनेर व्यर्थैमा केही मानिसहरू उत्साहित र पुलकित भएको देखिन्छ । चुनावबाट राज्यसत्ताको स्वरूप बदलिने होइन, सत्ताका ठेकेदार मात्र फेरिने हुन् । अरुभन्दा वामहरू फरक होइनन् भन्नु कुनै गलत आरोप मानिदैन । स्वयम् गठबन्धनका नेताको भनाइले त्यही कुरा पुष्टि गर्छ । अर्थात् वामगठबन्धनमा सामेल भएका राजनीतिक झुण्डहरू माक्र्सवादी सिद्धान्त र विचारबाट अनुप्राणित भएका रहेनछन् । सिद्धान्त र विचारबाट च्यूत भएको स्वार्थीहरूको झुण्डको नाम कम्युनिष्ट पार्टी राख्नुभन्दा ठूलो परिहासको विषय अरु के हुन्छ र ? क्रान्तिकारी सिद्धान्त र सिद्धान्तनिष्ठ संगठनविना कम्युनिष्ट पार्टी बन्नै सक्तैन । नाम र झण्डा झुठको पुलिन्दा मात्रै थियो । ‘लाटीले पापा देखेझैं’ रातो झण्डा देखेर नेपाली जनताहरू मोहित भएका हुन् । मन्त्रमुग्ध भएर दलहरूको पछि लागेका मात्र हुन् । निम्नवर्गीय जनताको सर्वाङ्गीण हितसाधनका लागि कम्युनिष्ट पार्टीहरू बन्ने एउटा स्थापित परम्परा हो । आचरण र व्यवहारले नेपालका कम्युनिष्टहरूलाई तल्लो वर्गको पक्षपाती सावित गरेको छैन । त्यसैले ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर सावित गर्ने एउटा थप अवसर आएको मात्र हो भन्ने कुरा नेताजीको पछिल्लो स्पष्टोक्तिले पुष्टि गर्छ ।
नामका मात्र कम्युनिष्ट भए पनि जनताले आफ्नो अमूल्य मत दिएका छन् । यसपटकको मत पनि खेर जाने निश्चित हुँदाहुँदै पनि मतदातासँग उपलब्ध विकल्प त्यही थियो । जनताको मतको मूल्यमा शुभफलको कल्पना गर्न नसकिए पनि निराश भैहाल्नुपर्ने अवस्था भने आउने छैन । काम धाम केही नभए पनि आगामी पाँच वर्ष उम्दा ठट्टाहरू मनग्य सुन्न पाइने छ । उडन्ते गफ र हवाई सपना निःशुल्क बाँडिने छन् । त्यसको रिहर्सल सुरु भैसकेको पनि छ । निर्वाचन प्रचार अभियानको सन्दर्भमा पर्वत जिल्लाको सदरमुकाम कुस्मामा आयोजित वामहरूको संयुक्त आमसभामा एकजना चर्चित नेताले ‘पोखराबाट कुस्मा हुँदै कालीको किनारैकिनार बेनीसम्म’ विद्युतीय रेलको लिक विछ्याइदिने हवाई गफ सुनाएछन् । अवश्य, कुनै दिन नेपालको तराई रेलमार्गको सञ्जालले जेलिएला, चिनियाँ शासकहरू रिझिएछन् भने ढिलो चाँडो प्रस्तावित रसुवा–काठमाडौं–पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्ग बन्ला तर पोखरा–बेनी रेलमार्गले जोडिएला भनेर पत्याउन गाह्रो छ । बेनी पुग्नु भनेको धवलागिरि हिमश्रृङ्खलाको फेदीमा ठोक्किनु हो । अर्थात् त्यो अन्तिम गन्तव्य हो । त्योभन्दा उता कतै जाने बाटो छैन । त्यसको आवश्यकता र औचित्य पनि छैन । बेनीभन्दा पश्चिम रुकुम, डोल्पा पुग्न वेनीभन्दा अन्यत्रैबाट सजिलो पर्छ । अर्थात पोखरा–वेनी जोडिने रेलमार्गको उपभोग गर्ने उति ठूलो मानववस्ती छैन । त्यसैले कमसेकम आधा शताब्दीयता पोखरा–बेनी रेलमार्ग निर्माणको आवश्यताबोध सायदै गरिएला । तर नेताजी बोलिदिए । उनलाई बोल्न पाए पुगिगो । त्यसको सम्भावनासँग उनको गोरुबेचेको साइनो सम्बन्ध रहेन । सबै नेपालीहरूको घरघरमा ग्यास सिलिण्डर पु¥याउन नसकेको नेपालका लागि ‘चुला चुलामा ग्यास पाइपलाइन पु¥याइदिने, त्यो पनि तीन महिनाको छोटो अवधिमा’ भनेर हास्यपात्र बन्ने उनै हुन् । हजारौं मेगावाट जलविद्युत्को सम्भावना खेर गैरहेको मुलुकमा ‘हावाबाट बिजुली निकालेर देशलाई वर्षदिनमै लोडसेडिङ मुक्त गराइदिने’ जस्तो गँजडी गफ सुनाउने बानी लागेका उनै हुन् । आगामी पाँच वर्षको लामो अवधिभर सुनाउनका लागि उटपटयाङ् गफहरूको संकलन गर्न थालिसकेका होलान् । त्यसैले उपभोग्य सुविधा नपाए पनि हाँस्यरसयुक्त गफ भने सुन्नका लागि नेपाली जनताले आजैबाट तयारी गर्दा हुने भएको छ ।
(- जनधारणा साप्ताहिक)
















