हुकुमबहादुर सिंह
विश्वभरका माओवादीहरूले सिद्धान्ततः संसदवादलाई ध्वस्त पार्न चाहन्छन् । किनभने अहिलेको संसदीय व्यवस्था भनेको नेपालजस्ता अर्ध(नव) औपनिवेशिक तथा अर्धसामन्ती देशको सन्दर्भमा दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वको पक्षपोषण गर्ने पु‘जीवादी दर्शन हो । उनीहरूका लागि नयॉ जनवादी व्यवस्था नै संसदीय व्यवस्थाको विकल्प हो । संसदीय व्यवस्था भनेको संर्वहारावर्गको नेतृत्वमा मजदुर किसानको मित्रतामा राष्ट्रिय पु‘जीपति वर्ग र जनताको जनवादी अधिनायकत्वका लागि हो । दलाल पु‘जीपति तथा सामन्तवर्गका लागि सर्वहारावर्गको अधिनायकत्वको शासनसत्ता र संर्वहारावर्गका निम्ति दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वको शासनसत्ता । यसरी यी दुई एक अर्काको लागि वर्गीय दुश्मन नै हुन् । यी वर्गीय दुश्मनहरू अहिले नेपालको संविधान २०७२को कार्यान्वयनका लागि भनेर ‘वाम गठबन्धन’ र ‘लोकतान्त्रिक गठबन्धन’को नाममा जनतालाई भ्रम पार्न लागेका छन् ।
नेपालको संविधान २०७२ भनेको दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वमा आधारित शासनसत्तालाई बलियो बनाउने एउटा संविधान हो । र अहिलेको यो निर्वाचनको अर्थ पनि त्यहि वर्गलाई शासनसत्तामा बलियो बनाउने नै हो । यद्यपि यसमा नेपालका विभिन्न नामधारी कम्युनिष्टहरू,जसमा माओवादी आन्दोलनका एक समयका कमाण्डरहरू–प्रचण्ड–बाबुराम–बादलहरू र झापा आन्दोलनका केपी–माधव–झलनाथहरू, जसले मुखले दलाल पु‘जीपति तथा सामन्तवर्गका विरुद्ध नेपालका गरीब किसान तथा मजदुर वर्गको शासनसत्ताका कुरा गर्दछन्, तिनीहरूले ‘वाम गठबन्धन’ को नाममा यो निर्वाचनमा भाग लिएका छन् र भन्दै छन् यदि हामीले जित्यौं भने नेपालमा समाजवाद ल्याउने छौं । यिनीहरूको यो ठगीधन्दामा नेपालमा बुद्धिजीवीहरूले पनि सहमति जनाउँदै निर्वाचनमा ‘वाम गठबन्धन’का उम्मेदवारहरूका पक्षमा मत माग्दै छन् । उनीहरूले के कुरालाई ओझेलमा पार्ने प्रयास गर्दै छन् कि यो निर्वाचनको मूल आधार नेपालको संविधान २०७२को कार्यान्वयन हो र यसले केबल एउटै वर्गको हितमा काम गर्दछ र त्यो वर्ग नेपालको सन्दर्भमा दलाल पु‘जीपति तथा सामन्तवर्ग नै हो । चाहे ती माओवादी केन्द्रको चुनाव चिह्न, एमालेको, मसाल, नयॉशक्तिको निर्वाचन चिह्नमा उठेर मत मागेका होऊन् । कांग्रेस र राप्रपा त ऐतिहासिक र घोषित रूपले नै प्रतिक्रियावादी र दलाल पु‘जीपति तथा सामन्तवर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दल भए । रूपमा माओवादी केन्द्रको चुनाव चिह्न, एमालेको, मसाल, नयॉशक्तिको निर्वाचन चिन्हमा उठेर मत मागेका भएता पनि सारमा ती सबैको काम कांग्रेस र राप्रपाकै राजनीतिक उद्देश्य प्राप्ति हो ।
यसरी अहिलेको निर्वाचनवारे के चाहिँ स्पष्टसित भन्ने आधार छ भने यो निर्वाचनमा जसले जीते पनि आखिरमा नेपालभित्रका तथा तिनीहरूको सहयोग र समर्थन गर्ने देश बाहिरका दलाल पु‘जीपति तथा सामन्तवर्गको नै जीत हो । आखिरमा नेपालको संविधान २०७२ले नेपालका कम्युनिष्टहरूलाई खासगरी माओवादीहरूलाई सिद्धान्त, विचार र राजनीतिबाट विचलित गराएर छाड्न सफल भएको छ । किनभने जुन पार्टीको जनयुद्धको घोषणामा नेपालमा सबै प्रकारका दलाल तथा सामन्तवर्गको राज्यसत्तालाई ध्वस्त पारी सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने हो भनेर हजारौ नेपालीलाई सहीद बनाएको छ, त्यहि पार्टीकानेता तथा कार्यकर्ता अहिले यो संविधान, जो संसदीय व्यवस्थाको मेरुदण्ड हो, त्यसैको कार्यान्वयनलाई हाम्रो एजेण्डा भनेर निर्लज्जता प्रदर्शन गरेर भनिरहेका छन्, ‘यो निर्वाचन हाम्रो एजेण्डाको जित हो ।’
के स्पष्ट हो भने यो संसदीय व्यवस्था केही मुठ्ठीभर अर्ब खर्बपतिद्वारा संचालित तिनीहरूका हितमा काम गर्ने दलाल पु‘जीपति तथा सामन्तहरूको व्यवस्था हो । र यसले आम सर्वसाधारण जनताको जनजीविका तथा राष्ट्रियताको हितमा काम गर्ने केबल कल्पना मात्रै हो । भोलि नेपालका गरीब किसान तथा मजदुर सुकुमवासिको हितमा यिनीहरूले काम गर्लान् भनेर सोच्नु गोरु ब्याएर त्यसको दूध खानुजस्तै हो । यिनीहरूमध्ये जसले जिते पनि आखिरमा जित्ने भनेको विश्व साम्राज्यवाद र विस्तारवादका दलालहरूमध्ये कसैले हो । अनि यसैलाई प्रचण्ड–बादलहरूले ‘हाम्रो एजेण्डाको जित हो ।’ भन्नु राजनीतिक बेइमानीसिवाय के हुन सक्छ ? भोलि नेपाली जनतालाई देख्नेछन् कि ‘वाम गठबन्धन’को नाममा यो निर्वाचनमा भाग लिएकाहरूको राजनीतिक तथा सैद्धान्तिक दिवालिया कहा“सम्म हुनेछ ? र उनीहरूले अहिले भन्ने गरेको समाजवादले कस्को सेवा गर्नेछ ? hukumsingh2012@yahoo.com
(- जनधारणा साप्ताहिक)















