काठमाडौं / नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र बनाउनु पर्ने र संवैधानिक राजतन्त्र पुनर्वहाली गर्नुपर्ने विचार व्यक्त गरेका छन् । खड्काले त्यसो नभएको खण्डमा नेपाली कांग्रेस समाप्त हुने र नेपाली कांग्रेससँगै नेपाल राष्ट्र पनि नरहने ठोकुवा गरेका छन् ।
खड्काले बैदेशिक शक्तिलाई ब्यालेन्समा राखेर नेपालमाथि हस्तक्षेप हुनबाट रोक्नुपर्ने आवश्यकता औंल्याएका छन् । कुनै पनि छिमेकीप्रति बढी सामीप्यता र दूरी बढाउने काम घातक हुने दावी गरेका छन् । खड्काले छिमेकी देशप्रति सन्तुलित सम्बन्ध बनाउन नेपालजस्तो देशका लागि आवश्यक रहेको विचार व्यक्त गरेका छन् । ‘अहिलेको देशको भद्रगोल अवस्थालाई नियन्त्रण गर्न हिन्दु राष्ट्रसहित संवैधानिक राजतन्त्र आवश्यक छ ।’ खड्काले भनेका छन् । नेपाली जनताले पनि युरो र डलरमा बिकेका नेता र बिज्ञको कुरा मात्रै सुन्नुपर्ने बाध्यता आइपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै खड्काले नेपालको पहिचान नामेट पार्न पश्चिमा क्रिश्चियन मिसनले पैसाको खोला बगाएको दावी गरेका छन् । भारतले गराएको १२ बुँदे सम्झौता नै नेपाल विघटनको कारक बन्न थालेको ठोकुवा गर्दै खड्काले बेलैमा यसलाई सुधार गरौ । (- जनधारणा साप्ताहिक)


















