ओली र वामदेवबीच वार्ता गराउँदाको क्षण

249

–निमकान्त पाण्डे
वामपन्थी गठबन्धनको पक्षमा निरन्तर कलम चलाउँदै आएको यो पंक्तिकारलाई एकजना फेसबुके मित्रले वाम गठबन्धनलाई फुटाउन खोजेको आरोप लगाएर फेसबुकमा लेखिदिएका छन् । वाम गठबन्धनको लागि कमरेड वामदेव गौतमले कति मेहनत गर्नुभयो ? अथवा कमरेड केपी र कमरेड प्रचण्डले कति मेहनत गर्नुभयो ? यो सबैले अनुमान गर्नसक्ने कुरा हो । नेताहरूले कसरत नगरीकन वाम गठबन्धन अवश्य बनेको होइन । वाम गठबन्धन चुनावका लागि मात्र बनेको भनिए पनि चुनावको परिणामले वाम गठबन्धनलाई पार्टी एकता गर्न बाध्य तुल्याएको छ । यो वाम पक्षधर सबैको लागि खुशीको कुरा हो । वाम गठबन्धन एकीकृत वाम पार्टी भइसकेपछि त्यो पार्टीले लिने राष्ट्रिय नीति महत्वपूर्ण हुन्छ । राष्ट्रिय स्वाधीनताको सवाल र नेपाली जनताको जीवनस्तर माथि उठाउने सवालले प्राथमिकता पाएन भने वामपन्थी सरकार गठन हुनुको कुनै औचित्य पनि रहने छैन ।
मलाई यतिबेला नेकपा (एमाले) महाकाली सन्धिको सवालमा विभाजित हुँदाको क्षण सम्झना भइरहेको छ । करिब २० वर्षअघिको घटना भए पनि यो घटना अझै पुरानो हुन सकेको छैन । महाकाली सन्धिका कारणबाट एमाले विभाजित भएर निर्माण भएको नेकपा (माले) का नेताहरू र एमालेका नेताहरूबीच बोलचाल नै बन्द भएको अवस्था थियो । त्यो अवस्थामा मैले माले र एमालेलाई एकीकृत गराउनु पर्छ भनेर आफ्नो तर्पmबाट पहल थालेको थिएँ । यस क्रममा कमरेड केपी ओलीलाई अन्तर्वार्ताका लागि बहाना गरेर भेट गर्ने योजना मैले बनाएँ । यो ०५७ साल मंसिरतिरको कुरा हो । त्योबेला जनधारणा साप्ताहिकमा सहकर्मीका रूपमा रहेका मधुसूदन पौडेललाई ओली कमरेडसँग अन्तर्वार्ताका लागि समय मिलाउन भनेपछि पौडेलले कमरेड ओलीसँग सम्पर्क गरे । ओली कमरेडले मसँग नै वार्ता गरेर अन्तर्वार्ताको समय मिलाउने भनी जवाफ दिनुभएको कुरा मधुसूदनबाट मैले जानकारी पाएपछि विना संकोच कमरेड केपी ओलीलाई मैले मोबाइलमा सम्पर्क गरें । मेरो फोनलाई नै कमरेड ओलीले आश्चर्यजनक भन्नुभयो । एमाले विभाजन भएपछि कमरेड ओलीसँग मेरो संवादसमेत टुटेको थियो ।
सकेसम्म एमाले विभाजित नभइदिए हुन्थ्यो भन्ने चाहना मेरो थियो । महाकाली सन्धि नहुँदासम्म मैले तत्कालीन महासचिव माधवकुमार नेपाललाई प्रत्येक बुधबार फोनमा सम्पर्क गरेर जनधारणा साप्ताहिकमा प्रतिक्रिया राख्ने गर्दथें । माधव नेपालले महाकाली सन्धिबारे ‘पिपुल्स सेन्टिमेन्ट कस्तो छ’ भनेर मलाई सोध्ने गर्नुहुन्थ्यो । मैले महाकाली सन्धिप्रति जनताको धारणा सकारात्मक नभएको जवाफ दिइरहन्थें । वार्तामा भएका छलफललाई निष्कर्ष बनाएर महाकाली सन्धि नहुने समाचार बराबर जनधारणामा प्रकाशन गरिएकै थियो । यसैक्रममा कमरेड केपी ओलीले ‘महाकाली सन्धिबाट नेपाललाई वार्षिक १ खर्ब २० अर्ब रूपैयाँ मुनाफा हुनेछ’ भनेर भाषण गरेको कुरा सार्वजनिक भयो । ओलीलाई यस्तो भाषण गर्न नहुने भनेर प्रतिक्रिया सुन्न पनि मन पर्दैनथ्यो । नेकपा (एमाले) भित्र महाकाली सन्धिको विरोधमा नेतृत्वपंक्ति मात्र नभएर आम कार्यकर्ताबीचमा ठूलो जनमत थियो । जनमतको बेवास्ता गर्दै विभाजित नेतृत्वपंक्तिले १४ पटक केन्द्रीय कमिटीको बैठक बोलाउँदै बराबर मतलाई एक मत माथि बनाएर प्राविधिक रूपमा बहुमत देखाएर मध्यरातमा सिंहदरबारभित्र प्रतिनिधिसभामा पुगी महाकाली सन्धिको पक्षमा मतदान गरियो । यही मतदानप्रक्रियामा पार्टी निर्णयविरुद्ध प्रस्तुत भएका कमरेड वामदेव गौतमलगायत नेतृत्वपंक्तिलाई पार्टीबाट निष्कासन गर्ने काम भएपछि नेकपा (माले) जन्मिएको थियो । मालेको पुनर्गठनका बेला माओवादी जनयुद्ध प्रारम्भिक चरणमै थियो । यो विभाजन माओवादीपंक्तिलाई हौसला पनि बन्यो ।
प्रतिनिधिसभाको चुनावमा नेकपा (माले) शून्य सिटको अवस्थामा पुग्यो भने नेकपा (एमाले) दोस्रो हैसियतमा झ¥यो । यो अवस्थाले दुवै पक्षलाई घाटा भएको अनुभूति भइरहेको बेला मैले कमरेड केपी ओलीसँग अन्तर्वार्ताको प्रस्ताव गरेको थिएँ । पहिले भेट गरेर मात्र अन्तर्वार्ताको कुरा गरौंला भनेर कमरेड ओलीबाट प्रस्ताव आयो । मैले स्वीकार गरें । त्यो बेलाको ओली निवास नयाँबानेश्वर मीनभवनमा बिहान मधुसूदन पौडेल र म पुग्यौं । हामीलाई प्रतीक्षासम्म नगराएर ओली कमरेड हाम्रो अभिवादन स्वीकार गर्न बैठक कक्षमा आउनुभयो । भलाकुसारी सुरु गर्ने क्रममै उहाँले व्यक्त गर्नुभएका शब्दहरू सुन्न नसकिने खालका थिए । ‘जनधारणा हैन ?’ हो कमरेड भनेर मैले भन्नासाथ ओलीले यस्ता वाहियात पत्रिकालाई केको अन्तर्वार्ता ? भनेर कटाक्ष गर्नुभयो । मैले किन कमरेड वाहियात पत्रिका भन्नुभयो भनी प्रश्न गरें । ओली कमरेडले ‘जनधारणा, जनआस्था, जनादेश, जनआवाज यस्ता पत्रिकाहरूलाई पनि कसैले अन्तर्वार्ता दिन्छ ?’ भनेर फेरि कटाक्ष गर्नुभयो । मैले अरु पत्रिकाको हकमा मलाई केही भन्नु छैन, तर जनधारणाप्रति तपाईको यत्रो आक्रोश किन ? भनेर संयमित भएर प्रश्न राखें । कमरेड ओलीले व्यक्तिगत गालीगलौजमा ख्याति कमाएका भनी सूचीकृत गरेका पत्रिकाहरूको कोटीमा जनधारणालाई समावेश गर्नुभयो । मैले महाकाली सन्धिमा बाहेक अरु कुनै पनि विषयमा जनधारणाले तपाईको व्यक्तिगत कुरा प्रकाशन गरेको देखाउन सक्नुहुन्छ ? भनेर प्रश्न गरें । मैले महाकाली सन्धिमा आज पनि तपाईसँग म असहमत छु भनेर आफ्नो अडान दोहो¥याएँ । उहाँले महाकाली सन्धिको प्रारम्भ सीपी मैनालीले गरेको आरोप लगाउँदै आपूm निर्दाेष भएको दाबी गर्नुभयो । दोहोरो सम्वादबीच आपसमा रहेका असमझदारीलाई सुल्झाउने काम पनि त्यसक्रममा भए । ओली कमरेडले पार्टी विभाजनपछिका जनधारणा उपलब्ध गराउन भन्नुभयो, मैले सहमति जनाएँ । अर्काेदिन बिहान भेट्ने र अन्तर्वार्ता गर्ने सहमतिका साथ बिदा भयौं । दोस्रो दिन बिहान ओली कमरेडको बेडरुममै पुगेर अन्तर्वार्ता सुरु गरियो । मैले माले–एमाले एकीकरणको पक्षमा ओली कमरेडलाई बोल्न बाध्य पार्ने खालका प्रश्नहरू दोहो¥याउँदै गएँ । आखिर ओली कमरेडले पार्टी एकताको आवश्यकतालाई बोध गर्नुभयो । एकताको पक्षमा आफ्नो मत राख्नुभयो । त्यही शब्दलाई टिपेर मैले जनधारणामा अन्तर्वार्ताको शीर्षक बनाएर प्रकाशन गरेपछि त्यो अन्तर्वार्तापश्चात् एकताको वार्ता प्रारम्भ भएको हो । अन्तर्वार्ता प्रकाशन भएकै दिन वामदेव कमरेडले मलाई आफ्नो निवास मानभवनमा बोलाउनुभयो । त्यहींबाट ओली कमरेड र वामदेव कमरेडको बीचमा सम्वादको थालनी भएको हो । यही सम्वाद नै पार्टी एकताको प्रवेश बिन्दु बनेको हो ।
पार्टी एकीकरणपछि जनकपुरमा आयोजित सातौं महाधिवेशनमा संविधानसभाको पक्षमा सभाहल घन्किएको थियो । केपी ओली, वामदेव गौतम, अशोक राई र आरके मैनालीलगायतका नेताहरू संविधानसभाको पक्षमा रहेका बेला महाधिवेशन भइरहेको सभाहलमा तत्कालीन महासचिव माधवकुमार नेपाल, अमृत बोहरा, ईश्वर पोखरेल र प्रदीप नेपालसमेतका नेताहरूले ‘सबै विकल्प खुला’ भन्ने जाली प्रस्ताव पास गरेर महाधिवेशनमा रहेको संविधानसभाको बहुमतलाई किनारा पारे । यो घटनापछि राधाकृष्ण मैनालीको राजनीतिक व्यक्तित्व नै धरापमा प¥यो भने वामदेव कमरेड र ओली कमरेड पनि निकै सकसपूर्ण अवस्थाबीच पार्टीमा आ–आफ्नो स्थान बनाउँदै आउनुभयो । वामदेव र केपीको मिलनले नै एमाले पार्टी अध्यक्षात्मक प्रणालीमा प्रवेश गरेको हो भने आजको एमाले पार्टीको अवस्था पनि यी दुई नेताहरूबीचको मिलनले विकसित भएको हो । त्यसैले एमाले पार्टीबाट उम्मेदवार भएकाहरूको सर्वत्र विजयको खबर आइरहेका बेला वामदेव कमरेडको पराजय निश्चय पनि सुखद मान्न सकिन्न । त्यो पनि स्थानीय तहको चुनावमा एमालेले विजय हासिल गरेका गाविसहरूबाटै वामदेव कमरेडले मत नपाएको खबरले राम्रो समाचार सम्प्रेषण गर्ने आधार रहँदैन । त्यसैले कसैले मलाई वाम गठबन्धन फुटाउन खोजेको आरोप लगाउँछ भने त्यो उसैको मनोरोग हो । मलाई यो भन्दा अरु केही भन्नु छैन !                                                                       (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here