फेरि सरकार फेरबदल गर्ने परिणाम आयो

155

काठमाडौं / वाम गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गरेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको परिणामले फेरि पनि सरकार फेरबदल गर्ने आधार छोडेको छ । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएपछि समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसागै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दलको हैसियत प्राप्त गरेको छ भने समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादीले दोस्रो ठूलो दलको हैसियत बनाएको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थान पाएको छ । त्यसैगरी नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमा विजय हासिल गरेर तेस्रो हैसियतमा थन्किन पुगेको छ ।
वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुइतिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको घोषणा गरेका छन् । यसरी वाम गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाा शक्तिका डा.बाबुराम भट्टराई पनि परेका छन् । मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । त्यसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट मात्र जितेको छ ।
संसदको संरचनालाई मध्यनजर गरी विश्लेषण गर्ने हो भने एमाले बाहेकका दलहरूलाई समेटेर नेपाली कांग्रेसले फेरि पनि सरकार फेरबदलको खेल सुरु गर्नसक्ने सम्भावना देखिन्छ । विगतकालमा एमाले र एमाओवादीको गठबन्धन सरकार रहेका बेला एमाओवादीलाई सरकारबाट अलग गराएर सरकार फेरबदलको खेलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सफलता हासिल गरेका थिए । वाम गठबन्धन एकीकृत पार्टी बन्न सकेन भने सरकार परिवर्तन गर्ने खेलमा कांग्रेसलाई बाटो खुल्ने निश्चित देखिन्छ ।                                                                    (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here