काठमाडौं / सात वर्षअघि माधव नेपाल नेतृत्वको सरकारले हस्तक्षेप गरी धराशायी बनाएको माइक्रो बिजिनेशको योजनाकार युनिटी लाइफ इन्टरनेशनल सम्बद्ध मुद्दाका आरोपीहरूले धमाधम सफाइ पाएका छन् । युनिटी लाइफ इन्टरनेशनलका महासचिव विष्णु क्षेत्री २८ महिनाको जेलबासपछि गतसाता रिहाइ भएका छन् । महासचिव विष्णु क्षेत्रीलगायतका इन्टरनेशनलका सञ्चालकहरूविरुद्ध लगाइएको ठगी मुद्दामा अदालतबाट सफाइ मिलेको छ । वाणिज्य उच्च अदालत पाटनले युनिटी लाइफ इन्टरनेशनलका सञ्चालकहरूलाई सफाइ दिने निर्णय गरेपछि विष्णु क्षेत्री जेलमुक्त भएका छन् । जेलमुक्त भएपछि विष्णु क्षेत्रीलगायतको युनिटी टिमले देशव्यापी दौडाहा सुरु गरेको छ । युनिटी लाइफ इन्टरनेशनलको नाममा रहेका दुई दर्जनभन्दा बढी अस्पतालहरू र अस्पतालमा रहेका उपकरणहरू तत्कालीन राज्यस्तरबाट हिनामिना गरिएका छन् । युनिटीले सञ्चालन गर्दै आएको डिपार्टमेन्टल पसल पनि तत्कालीन सरकारले लुटेराले झैं हिनामिना गरेको थियो । तत्कालीन सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे र तत्कालीन अर्थसचिव रामेश्वर खनालसमेतको गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण ६ लाख ६० हजार सदस्यहरू रहेको युनिटी लाइफ इन्टरनेशनल धराशायी बनेको थियो । युनिटी लाइफ इन्टरनेशनलका सञ्चालकहरूले अदालतबाट सफाइ पाइसकेपछि उनीहरूको हिनामिना भएको युनिटी लाइफ इन्टरनेशनलको सम्पत्ति सरकारबाट क्षतिपूर्तिसहित फिर्ता लिनुपर्ने अवस्था सृजना भएको छ ।
(- जनधारणा साप्ताहिक)

















