हुकुमबहादुर सिंह
अहिले नेपालको तरार्ईका भारतसित जोडिएका केही जिल्लाहरू जलमग्न छन् । यसैका कारण कैयौंको ज्यान पनि गइसकेको छ । नेपालमाथिको यो पहिलो प्राकृतिक प्रकोपचाहिँ होइन । नेपालको अथाह जलसम्पदालाई अर्को एउटा प्रकोपका रूपमा रूपान्तरण गर्नका लागि हाम्रै दक्षिणतर्फको छिमेकी देश लागिपरेको छ । प्रत्येक वर्ष नेपालमा बाढी आउँछ र सो बाढीले नेपालका तरार्ईका विभिन्न क्षेत्रहरूमा धनसम्पत्ति र मानिस तथा जनावरको ज्यान लैजान्छ । त्यसैले नेपालमा आउने वर्षाबाट आउने बाढीले तरार्ईमा दुर्घटना निम्त्याउँदै आएको सत्य हो । यसको व्यवस्थापन गर्नु सरकारको कर्तव्य हो । तर भारत सरकार यो दुर्घटनामा पूर्णतः जिम्मेवार छ । यस उसले एउटा मित्रताको हैसियत गुमाएर नेपालका तराईका जिल्लाका जनताका लागि शत्रुतापूर्ण रुख अपनाएको छ । र सो काम उसले नेपाल भारतका सीमावर्ती क्षेत्रको पूर्वदेखि पश्चिमसम्मै अनगिन्ती ठाउँका दशगजामै जोडेर नहर एवम् बाँधहरू बनाएको छ । जसको कारण नेपालका नदीहरू जो उत्तरबाट दक्षिणतर्फ बहन्छन् तिनीहरूको पानीको बहावमा अवरोध उत्पन्न हुन्छ, परिणाम निकाश बन्ध हु“दा नेपालर्फ डुबान हुने गर्दछ । यो समस्याको मूल कारण सरकारको भारत सरकारको दादागिरीको परिणाम हो र यसको अर्को कारण नेपालका राजनीतिक दलका नेताहरूको नेपाली जनताको फाइदाभन्दा भारतीय दादागिरीका अगाडि आफ्नो कुर्सी नहल्लिने उपायमा जे जस्ता असमान सन्धिसम्झौताहरू र भारतको नेपालमाथिको असमान व्यवहार नै हो । कोशी र गण्डकलगायतका ब्यारेजमा गरिएका असमान व्यवहारका कारण नेपाली क्षेत्रहरू डुबानमा परेको स्पष्ट छ ।
यो सही हो कि कुनै पनि देशको सरकारले त्यो देशका जनताको जनधनको सुरक्षा मूल जिम्मेवारी हो र भारतीय सरकारको पनि हो तर भारतीय सरकारको दादागिरी कहाँनेर छ भने प्रथम कोशी र गण्डकलगायतका व्यारेजबारे गरिएका सन्धिसम्झौताहरू असमान र त्रुटिपूर्ण छन् । दोस्रो भारतीयले बाँध बनाउँदा नेपालको दशजाभित्र नेपालको सहमतिविपरीत बनाउने गरेको छ । यसरी हेर्दा अहिलेको समस्याको जरो भारतीय सरकारको दादागिरी नै हो । यो सम्पूर्ण रूपले भारत सरकार नेपालबीचको द्विपक्षीय सरोकारको विषय हो । र मूल समस्या के हो भने नेपालमा यद्यपि नेपाली जनताको मत लिएर निर्वाचित सरकार भनिन्छ, तर अहिलेसम्मका सरकारले लिएका अडानअनुसारमा नेपाली जनताको भन्दा दिल्लीको आशीर्वादमा जन्मिएका, हुर्किएका र फैलिएका कारण सो भएको हो । सारमा नेपालमा एउटा राष्ट्रवादी सरकारको आवश्यकता र सरकार बनाउनेहरूको दुरदशिर्ताको अभाव हो । साथै कुनै पनि देशको स्थायी सरकार भनिने प्रशासनयन्त्रमा विद्यमान दिल्लीको आशीर्वादमा सरकारको माथिल्लो पदमा पुग्न सकिने प्रवृत्ति र चिन्तनका कारण पनि उनीहरूले दिल्लीको दादागिरीलाई सहर्ष स्वीकार गर्ने गरेकाले पनि जुनुसुकै राजनीतिक दल सरकारमा आएता पनि ब्युरोक्रेसीले दिल्लीकै हितमा घुमाउने गरेका कारण नेपालका जनताले यो समस्या झेल्न बाध्य पारिएका छन् । केही राजनीतिक दलले चर्का चर्का नारा दिएता पनि जनतामा गएर उनीहरूको मन जित्न नसकेको देखिन्छ । यसको समाधान नाराले मात्रै निस्किँदैन र हामी सबैलाई थाहा छ यो काम पहिलो नेपालमा विद्यमान सबै राजनीतिक दलबीचमा यसको समाधानका लागि आम सहमतिमा दीर्घकालीन योजना बन्नु पर्दछ । दोस्रो नेपालमा विदेशी दलालहरूको सरकारलाई सदाका लागि विस्थापित गरेर एउटा देश र जनताप्रति जिम्मेवार सरकारको खाँचो छ । तेस्रो भ्रस्टाचार मुक्त प्रशासनयन्त्रको आवश्यकता छ । देशभित्र नेपालको माथिल्लो संस्था भ्रस्टाचारले थिलथिलो छ ।
त्यसका विरुद्ध डा. गोविन्द केसीले चलाएको आन्दोलनका विरुद्ध एउटा पार्टी विशेषका रूपमा सिंगो पार्टी खडा भएको देखिएको छ । एमाले यसमा किन यसरी बद्नाम बनिरहेको छ ? भनिन्छ यसमा एमालेका ठूला नेताहरूको नाम जोडिएको छ । आखिरमा गोविन्द केसीहरू जसले देशमा सही आवाज उठाएको छ, त्यसको दीर्घकालीन समाधान खोज्न सरकार र दलहरू गम्भीर देखिएका छैनन् । के सही हो भने देशमा दलाल तथा नोकरशाही तन्त्रमा आधारित संसदीय व्यवस्था रहेसम्म भारतीय दादागिरी पनि कायम रहन्छ र जबसम्म भारतीय दादागिरी कायम रहन्छ नेपाली जनताहरूको दुःख र दर्द पनि निरन्तर रहिरहन्छ । यसका कारण नेपालबाट संससदीय व्यवस्थाको अन्त र नेपालका गरीब जनताको पक्षमा काम गर्ने सरकारबाट मात्रै देशमा एउटा स्वतन्त्र र स्वाभिमानी सरकारको स्थापना हुनेछ किनभने नेपालमाथि सबै असमान सन्धिसम्झौताहरूको अन्त नै वर्तमानको यो विकराल समस्याको स्थायी समाधान हो ।
जनधारणा साप्ताहिक

















