मन्त्रिपरिषद्मा मधेशी दलको उपस्थितिको संकेत

296

राज्यलक्ष्मी शाक्य
विगत केही दिनदेखि मेरो शारीरिक समस्याका कारण काठमाडौंको भैंसेपाटीमा अवस्थित नेपाल मेडासिटी हस्पिटलमा उपचारको क्रममा छु । सिनियर सर्जन डा. शिशिर लाखे, डा. रानाको नेतृत्वमा डा.दामन र डा. शिक्षाको टोलीबाट मेरो उपचार भइरहेको छ । उपचारको क्रममा बस्दा यस हस्पिटल सुविधाजनक हुनुका साथै सबै सेवाले भरिपूर्ण रहेको महसुस गरेँ । उपचारकै क्रममा देशका घटनाक्रमको पनि अपडेट भइरहेँ ।
मुलुकमा अहिले सरकार विस्तार भएको छ । मन्त्रिपरिषद्मा नयाँ मन्त्रिहरू थपिएका छन् र थपिने क्रममा पनि छन् । केपी ओली नेतृत्वको सरकारले अहिलेसम्म छानेका मन्त्रीहरूमा राम्रा र योग्य व्यक्तिको उपस्थितिले जनताले सरकार केही गम्भीर रहेको महसुस गरेका छन् । यो सरकारले अहिले मधेशी दलहरूलाई पनि सरकारमा ल्याउने कसरत थालेको छ । वाम गठबन्धनको सरकारमा मधेशी दल पनि थपिए यो सरकार दुई तिहाइ मतले युक्त हुनेछ । यसको अर्थ सरकारलाई कुनै पनि कामकारबाही निर्बाध रूपमा अघि बढाउन सहयोग हुनेछ । व्यवस्थापिका संसद्मा सत्ता पक्षको बलियो उपस्थिति हुनुका साथै सरकारका कुनै पनि निर्णयहरू पास गर्नका लागि विगतका दिनमा जस्तो माथापच्चिसी गर्नुपर्ने छैन ।
पछिल्लो समय मधेशविरोधी रूपमा चित्रित गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मधेशी दलहरू समावेश हुनुको अर्थ मधेशप्रति ओलीको केही नरमपना आएको मान्न सकिन्छ । बढीभन्दा बढी दलको सरकारमा सहभागिता हुनु र सबै मिलेर अगाडि बढ्ने अवस्था आउनुलाई राम्रो मान्न सकिन्छ । तर, यसो भन्दैमा त्यसरी सबैलाई समावेश गर्दा गरिने प्रतिबद्धतालाई भने उनीहरूले ध्यान दिन जरुरी छ । तराई नेपालको संवेदनशील भूभाग हो । यस भूभागलाई छिमेकी मुलुक भारतले पटकपटक टुक्र्याउनका लागि प्रयास गर्दै आएको हामी सबैलाई थाहा भएकै कुरा हो । यसमा केही मधेशी दलका व्यक्ति र दलइतरका व्यक्तिलाई पनि भारतले प्रयोग गर्दै आएको पनि सर्वसाधारणमा विदित नै छ । विगतमा एक मधेश एक प्रदेशको आवाज उठाएर मधेशी जनतालाई भड्काई आन्दोलन भएको थियो । यद्यपि, त्यस किसिमको राष्ट्रघाती माग पूरा हुन सकेन । तर पनि भारतले त्यो प्रोपोगाण्डालाई अझै टुंग्याएको छैन । दक्षिण एशियामा हैकम जमाउन खोज्ने भारतले छिमेकी देशलाई निरन्तर सताउँदै आएको छ । त्यसकारण नेपालमा पनि उसले नयाँ षड्यन्त्रहरू सोचिसकेको हुन सक्छ । यस विषयमा नेपाल सरकार चनाखो हुन जरुरी छ । त्यसका लागि सरकारमा सहभागी मधेशी दलसँग सरकारमा ल्याउनकै लागि कुनै अनुचित प्रतिबद्धता र काम नहोस् भन्ने मेरो सुझाव हो ।
देश अहिले राजनीतिक संक्रमणबाट मुक्त भएको छ ।

 

अब स्थिर सरकार हुने र विकासले गति लिने आशा गरिएको छ । यो बीचमा नेपाल सरकारले गर्नुपर्ने काम स्पष्ट परराष्ट्र नीति निर्माण गर्नु पनि हो । नेपालमा जुन सरकार आउँछ त्यहीअनुसारको कूटनीति र छिमेकी राष्ट्रसँगको सम्बन्ध बन्ने गरेको छ । वाम सरकार आएमा चीनसँग नजिक भएको मान्ने र नेपाली कांग्रेसको सरकार आए भारतसँग नजिक भएको मान्ने चलन छ । यसले नेपाललाई अस्थिर र कमजोर राष्ट्रको रूपमा चित्रित गरेको छ । त्यसकारण नेपालसँग छिमेकी राष्ट्रको सम्बन्ध सुदृढ हुन सकेको छैन । विश्व मानचित्रमा नै हेर्ने हो भने दुई ठूला र विकासको गतिमा लम्किरहेका राष्ट्रको बीचमा सुतिरहेको देश हो नेपाल । छिमेकी देशहरू विश्वको नै नेतृत्व गर्ने सपना बोकिरहँदा हामी भने विश्वकै गरिब राष्ट्रमा दरिएका छौं । हामीले आफ्ना छिमेकीसँगको सम्बन्ध सुधार गर्न आवश्यक छ । उनीहरूसँगको सम्बन्धमा सन्तुलन कायम गर्नुका साथै उनीहरूको विकासबाट लाभ लिन यो सरकारले कदम चाल्न आवश्यक छ । त्यसका लागि यो सरकार सफल बनोस्, शुभकामना ।                                     [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here