आठ मार्चलाई हेर्ने सही दृष्टिकोण

205

हुकुमबहादुर सिंह
अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्चले विश्वभरका महिलालाई दुई कित्तामा विभाजित गरेको छ । प्रथम श्रमिक महिलाहरूका लागि काम गर्ने राजनीतिक दलहरू त्था साम्राज्यवाद र पुँजीपति वर्गका महिलाका लागि कामगर्ने । पहिलोको नेतृत्व माक्र्सवादी—लेनिनवादीहरूले गर्दछन्, जुन दृष्टिकोणअनुसार यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो र जसको इतिहास सन् १९११मा एउटी जर्मन माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट र महिला अधिकारका लागि वकालत गर्ने एक जना महिला क्लारा जेटकिनले कोरेकी थिइन् । उनले सन् १९११मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको आयोजना गरेकी थिइन् । दोस्रो संयुक्त राष्ट्र संघको आह्वानमा १९७५को जुनमा मेक्सिकोमा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो र त्यसले आठ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय ग¥यो ।
यसरी फरक नाम र नारामा संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोणअनुसार अहिले उनीहरूले श्रमिक शब्द हटाइएर अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस मनाउन थालेका छन् । यिनीहरूका कारण श्रमिक महिलाहरूको मुक्तिको सवालसित जोडिएको यो दिवस आखिरमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने ‘अधिकारवादी महिलाहरू’को चाडका रूपमा रूपान्तरित भएर गयो । पुँजी, शक्ति र सामथ्र्यवान् सत्ताधारी महिलाहरूले यसलाई आफ्नो वर्गका महिलाको हितमा काम गर्ने एउटा अधिकारवादी महिलाहरूको चाडका रूपमा अगाडि बढाउन थाले । अहिले वर्तमानमा यसलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा संयुक्त राष्ट्रसंघ र त्यसका सदस्य राष्ट्र तथा देशहरूमा त्यही खालका महिलाहरूको चाडका रूपमा मनाइने गरिन्छ । र त्यसमा श्रमिक महिलाहरूको उपस्थति हुँदैन, यदि गरिएमा केवल फोटो खिच्नेजस्ता केही औपचारिकता पूरा गर्नका लागि गरिन्छन् । राष्ट्रसंघलगायत ती राष्ट्र तथा देशका केही महिलावादी नेतृहरू आठ मार्च आउनुभन्दा दुई÷चार दिन अगाडिदेखि सलबलाउन थाल्छन् — अन्तराष्ट्रिय नारी दिवस भव्यरूपले मनाउने कार्यक्रमका साथ । ती कार्यक्रमहरूमा भव्य भोजको आयोजना गरिन्छ, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीहरू भोजको लाइनमा लाग्छन् । महिला मुक्तिबारे गरमागरम बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू हुन्छन् । नारी पुरूष बराबरीका नारा लगाइन्छ । मातृसत्ता र पितृसत्ताका कुरा हुन्छन् । यी कार्यक्रमका लागि विभिन्न दातृनिकायहरूले त्यसका लागि पैसा उपलब्ध गराउन थाल्छन् किनभने ती संस्थामा पनि महिला अधिकारवादी छन् । त्यसमा माक्र्सवादी—लेनिनवादीभित्रका संशोधनवादीहरूले जो रूपमा माक्र्सवादी—लेनिनवादी तर सारमा पुँजी, शक्ति र सामथ्र्यवान् सत्ताधारी महिलाहरूको स्तरमा ती भित्रका अधिकारवादी महिलाहरूसित यो दिवसलाई अन्य पुँजीपति वर्गीय राजनीतिक दलहरूसित मिलेर एउटा चाडका रूपमा अगाडि बढाउन थालेका छन् । वर्तमान नेपालका कम्युनिस्टभित्रका संशोधनवादीहरूबारे पनि सत्य हो ।

 
यसरी आठ मार्चलाई हेर्ने दुई फरक दृष्टिकोण पाइन्छन् । प्रथम माक्र्सवादी—लेनिनवादी दृष्टिकोण र दोस्रो संयुक्त राष्ट्र संघले अपनाएको साम्राज्यवादी पुँजीवादी दृष्टिकोण । एउटा के चाहिँ सत्य हो भने जर्मन माक्र्सवादी सिद्धान्तकार, एक्टीभिष्ट, र महिला अधिकारका लागि वकालत गर्ने एक जना महिला क्लारा जेटकिनले सुरु गरेको र उनले कोरेको महिला समानता र महिला अधिकारको आवाज उठाएको शताब्दी बितिसक्दा पनि महिलाप्रति गरिने सबै प्रकारका विभेदको उन्मूलननका दिशामा विश्व अझै वामे मात्रै सर्दै छ भन्दा गलत नहोला । र स्वयम् कम्युनिष्टभित्रका श्रमिक महिलाहरू पनि उत्पीडनबाट मुक्त हुन सकिरहेका छैनन् ।
यस्ती वीरंगना, जसले आठ मार्चको नीव गाडेकी थिइन्, तर अहिले यो अधिकारवादी महिलाको लागि मागी खाने भाडो बन्न गएको छ र श्रमिक महिलाहरूको मुक्ति जो जेटकिन आन्दोलनले उद्घोष गरेको महिला मुक्तिको केन्द्रीय प्रश्न थियो प्रतिक्रियावादीहरू र सुधारवादीहरूको पोल्टामा पर्न गएको छ । र यसबाट मुक्ति नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व रहेको छ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here