डा. दीपेन्द्र रोकाया
संयोगले यही फागुन २० गतेका दिन हुम्लाका अग्निपीडितलाई राहत पु¥याएर फर्केको हेलिकोप्टरमा कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माननीयद्वय छक्कबहादुर लामा र रंगमती शाहीलगायत करिब एक दर्जन यात्री सुर्खेतबाट काठमाडौंसम्म सँगै आयौं । अधिकांश यात्री सुर्खेतबाट उडेको केही समयमै निदाउन शुरु गरे । म भने विशेषतः उत्तरी र सामान्य रूपमा दक्षिणी भू–भाग हेर्दै आएँ । आजसम्मको हवाई यात्रामा यसपटकको हवाई यात्रा निकै स्मरणीय बन्न गयो । किनकि यस पटकको यात्रामा नेपालको भू–राजनीतिक अवस्थालाई आकाशबाट अध्ययन गर्न पाइयो ।
सुर्खेत विमानस्थलबाट उड्दा बिहान ९ः०८ बजेको थियो । कर्नाली प्रदेशको राजधानी सुर्खेत भएदेखि यस एयरपोर्टको क्षमता विस्तार हुनुपर्नेमा जोड दिने क्रम बढेको छ । तर फिल्ड फिजीबिलिटीबाट निकै कठीन छ भन्ने सुनिन्छ । यसो हो भने पनि सुर्खेतबाट दैनिक राजधानी काठमाडौं र प्रदेशका अन्य जिल्लामा उडान हुने अवस्था निर्माण गर्न सके अहिलेलाई पुग्दछ । यसर्थ हवाई कम्पनीहरूसँग प्रदेश सरकारले विशेष छलफल चलाउन आवश्यक छ । प्रदेश सरकारले आगामी वर्षलाई कर्नाली पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरिसकेको छ । यस्तै सडकको स्तरोन्नति गरी वातानुकूलित बस, जीव तथा माइक्रो सञ्चालन गर्नेबारे सोच्न पर्दछ ।
सुर्खेत उपत्यका छोड्न लाग्दा चुरे पहाडहरू देखिए, त्यस पहाडलाई उपयोगमा ल्याउन सकेको खण्डमा सुर्खेत उपत्यकाबासीले कहिलेकाहीँ कावा खाने ठाउँ हुने देखियो । सामाजिक मन्त्री दल रावलको भनाइ याद आयो, नदी किनारमा सडक, पहाडका टुप्पाहरूमा रिसोर्टहरू सञ्चालन गरी कर्नालीको विकास गर्न सकिन्छ । यो यस्तै गन्तव्य बन्न सक्ने देखियो । चुरे, पहाडी क्षेत्र, त्यहाँ वर्षे भेलले चिरा–चिरा परेका सुख्खा खोलाहरू, सेता हिमालय क्षेत्र, नाङ्गा काला पत्थर, पहाडहरू तथा पहाडको टुप्पादेखि तल बेशीसम्मको बस्तीहरू हेरेँ । एकै पटक सुर्खेतदेखि काठमाडौंसम्मको सबैखाले जनजीवन अवलोकन गर्न पाइयो । अरु जहाजमा चढेको भए करिब १८ हजार मिटरसम्मको उचाइमा उडान हुन जाँदा यस्ता कुरा नजिकबाट देख्न पाइँदैनथ्यो । हुन त त्यसको आनन्द पनि आफ्नै खालको हुन्छ । भुइँभरि भेडाको ऊन सुकाएजस्तो लाग्दछ । कुहिरै कुहिराको पहाडहरू छिचोल्नु पर्दछ । त्यो चाहिँ कल्पनाको संसारमा यात्रा गरेजस्तै हुन्छ भने यो धरातलीय यथार्थ देख्ने यात्रा बन्न गयो ।
मैले सुनेअनुसार, अहिले हामी नेपालीले भारतका कारण आफ्नो जलस्रोतका बारेमा आफै निर्णय लिई काम गर्ने अवस्था नहुनुको मूल कारण एक जना हेलिकोप्टर चालकले गरेको अनुभवका कारण भारत सरकारले नदी जोडान परियोजना लागू गर्न खोजेकाले हो । भारतको दक्षिणी भूमि मरुभूमीकरण हुँदै गएको र उत्तरी क्षेत्र हरियो परियो तथा रसिलो भए पनि व्यवस्थित नभएको देखेका पाइलटले यदि हिमालय क्षेत्रबाट निरन्तर बग्ने नदीहरूलाई जोडेर आवश्यकताका आधारमा प्रयोग गर्न सकिएमा भारतको दीर्घकालीन समस्या हल हुन सक्ने सुझावले भारत सरकारलाई पानीको महत्व बुझ्ने अवसर मिलेको थियो । त्यसपछि उसले अपनाएको विधि आफ्नो लागि त ठीकै होला, तर छिमेकीलाई हैरान पारेको अवस्था छ । नेपालको कोशी, गण्डकी, महाकाली हुँदै कर्नालीमा लगाएको दागको पीडा हामीले भोगिरहेका छौ ।
केही दिनअघि उद्योग मन्त्रालयका एक जना उप–सचिव भन्दै हुनुहुन्थ्यो, नेपालमा उत्पादन घटेको छ । यहाँको उत्पादन १ प्रतिशत अरु देशमा निर्यात गर्दछौं भने १३ प्रतिशत उपभोग्य सामग्री आयात गर्नु परेको अवस्था छ । यसैले व्यापारघाटा बढेको बढ्यै छ । यसो हुनुको मूलकारण युवा जनशक्ति विदेशिनु परेकाले हो भन्ने बुझाइ आम जनमानसमा छ । गत मंसिरको अन्तिम साता मुगु सदरमुकाममा भेटिएका एक जना विद्यार्थी नेता नवराज कार्की भन्दै थिए कि यहाँ एक हप्तामा एक ट्रक तरकारी भारतबाट आइपुग्छ । एकैछिन अगाडि होटल गेटमा साग बेच्दै गरेकी मुगाल्नीहरूसँग खुशी भएको मनमा चोट परेको क्षण सम्झना हुने गर्दछ । मुगुबाट वैदेशिक रोजगारमा त्यतिविधि गएको पाइँदैन । मुगुमा यो अवस्था सडक पुगेकाले हो र त्यो तरकारी सदरमुकाम गमगढी र त्यसआसपासमा खपत भएको प्रसंग मात्र हो । माओवादी जनयुद्ध उत्कर्षमा हुँदा देश विदेशका विज्ञहरूले नेपालमा विद्रोह हुनुको कारणहरू खोज्दै जाँदा माओवादी विचारधारा र त्यसमा बलियो आधार जमीन भएको निष्कर्ष निकालेका थिए । त्यस समयमा अदालतमा करिब ७५ प्रतिशत मुद्दा घरजग्गासम्बन्धी परेको पाइएको थियो । यो स्थिति अझै छ । मान्छेहरू काम गर्न छोडेकाले पनि उत्पादन घटेको हो भन्ने गरिन्छ ।
त्यसो हो भने खान कसरी पुगेको छ त ? प्रायःले भन्दछन् कि अहिले गाउँमा यो वा त्यो विकासको रकम गएको छ । त्यसको उपभोक्ता समितिमा बस्छन् । कमाउँछन् । त्यसमा सबैले समितिमा बसेर कमाउँदैनन् नि ! मेरो जिज्ञासा रहँदा मर्ने त आखिर गरिबहरू नै देखा पर्दछन् । यिनको उत्थानको लागि सोच्न पर्ने भइसक्यो । उत्तरका सेता हिमाल, हिउँ कम पर्नाले कालापत्थर देखिन थालेको हिमाली भू–भाग, पहाड र बेशीमा बग्ने खोला तथा नदी र तिनका आसपासमा देखिने उत्पादनशील जमीन अनि बालीनालीले ध्यान खिचेकै थियो । त्यसमा सुर्खेतदेखि काठमाडौं पुग्दासम्म सल्लैसल्लाको जंगलहरू बढेको पाएँ । यसलाई मैले गत भदौ असोजदेखि विपत्तिको सूचना प्रकृतिले दिइरहेको रूपमा लिने गरेको छु ।
नेपालको उत्पादन घट्नुको कारण सल्लो हो भन्ने तथ्य अझ स्पष्ट भयो । विभिन्न वातावरण तथा कृषि विज्ञहरूसँगको छलफलबाट पनि मेरो अनुभवले सम्बृद्ध हुने अवसर पाएको छ । जहाँ सल्लो हुन्छ, त्यहाँ अरु रुख बिरुवा उम्रन पाउँदैन । जहाँ सल्लो हुन्छ, त्यहाँ घाँसपात समेत हुँदैन । जहाँ सल्लो हुन्छ, त्यहाँ चराचुरुङ्गीले पनि राम्ररी रमाउने गर्दैनन् । जहाँ सल्लो हुन्छ, त्यहाँ जंगली जनावर पनि बस्दैनन् । जहाँ सल्लाको पात स्याउलाको रूपमा प्रयोग हुन्छ, त्यहाँका गाईवस्तु तथा भेडाबाख्रालाई स्वस्थकर हुँदैन । सल्लाको उक्त मल खेतबारीमा राख्दा त्यो मल माटो बन्न करिब तीन वर्ष लाग्दछ । माटोमा अम्लीयपन ल्याई सुख्खा बनाउँदछ पनि । अर्को कुरा सल्लाको दियालो वा दाउरा बाल्दा चुरोट खाएभन्दा बढी मानव स्वास्थ्यमा हानि पु¥याएको हुन्छ ।
यो पनि अनुभव भयो कि भू–गर्भशास्त्रीहरूले करिब ५०० वर्षयता पश्चिम नेपालमा भू–कम्प गएको छैन भन्ने गरेका छन् । पूर्वी क्षेत्रमा प्रायः ४५ वर्षमा भू–कम्प गईरहेकाले घर्ती हल्लीन गई अलि सुगमता निर्माण हुन पुगेको र पश्चिम कर्नाली क्षेत्र भीर कंकरका रूपमा अलि बढी देखिनुका कारण यो पनि होजस्तो लाग्न थाल्यो । यसकारण हामीहरूबीच देखिएको असमानताको खाडल पुर्ने हो भने योजनाबद्ध बस्ती विकास हुनपर्दछ । सडक सबै बस्तीमा पु¥याउन लाग्दा डोजरले छिटो काम त गरिरहेको देखियो, तर भू–क्षयको आधार निर्माण गराइरहेको देखियो । नदी, खोला त्यतिकै बगेका छन्, डाँडाकाँडा सुख्खा छन् भने कसरी उत्पादन बढ्छ र ? त्यसका लागि सिँचाइ, समग्र विकासका लागि ऊर्जा उत्पादनमा बगिरहेको पानी प्रयोग गर्ने र कुनै पनि उद्योगधन्दा नभएको नेपालमा धुवाँ नआउने उद्योगका रूपमा स्थापित पर्यटन उद्योगबाट फाइदा लिन सके देश विकासको सपना साकार हुने अवस्थामा पुग्ने देखेँ । हामी उडिरहेको हेलिकोप्टरले ११ः३८ बजे काठमाडौंमा ल्याण्ड ग¥यो ।
(- जनधारणा साप्ताहिक)













