मृतात्माको डरले निर्माण गरिएकोे ‘ऐतिहासिक जगन्नाथ मन्दिर’ !

188

–चन्द्रप्रकाश बानियाँ
संसारमा सबभन्दा बढी अनुयायी रहेको धर्म “ताओ” हो । संसारभर छरिएको धर्म भने क्रिश्चियानिटी हो । देवताको संख्या सबभन्दा बढी भएको धर्म “हिन्दू” हो, तर मन्दिर (स्तुपा) भने संसारमै सबभन्दा धेरै बुद्धधर्मका रहेका छन् । नेपालको सम्पूर्ण जनसंख्याको ८१ प्रतिशत आवादी हिन्दू धर्मालम्बी रहेको तथ्यांक पछिल्लो जनगणना २०६८ ले सार्वजनिक गरेको छ । देवताको संख्या पनि धेरै र नेपालको जनसंख्यामा हिन्दू धर्मावलम्बीहरुको अनुपात पनि निकै ठूलो भएकोले होला नेपालका गाउँठाउँ, कुनाकन्दरा जताततै नयाँ पुराना मठमन्दिरहरु भेटिन्छन् । राजधानी काठमाडौंले त विश्वमा “मन्दिरै मन्दिरहरुको शहर”को रुपमा आफ्नो परिचय स्थापित गरेकोे छ । काठमाडौैं बाहिर सबैजसो शहरबजारका गल्लीटोल र प्रत्येक गाउँपिच्छे एक÷दुईवटा मन्दिरहरु अवश्य भेटिन्छन् । तिनीहरुमध्ये कैयौं ऐतिहासिक महत्वका पनि छन् । म्याग्दीको सदरमुकाम बेनी चौबीसे राज्य पर्वतको राजधानी थियो । स्वभावतः बेनीको सेरोफेरोमा बाईसी चौबीसे राज्यकालमा बनेका मठमन्दिरहरु रहने नै भए । काली म्याग्दीको दोभानमा बेनीबजार अवस्थित छ । दोबिल्लाको अर्थात् कालीगण्डकी र म्याग्दी नदीको संगमनेर रहेको शिवालय र पुला गाजनेको जगन्नाथ मन्दिर त्यही कालखण्डमा बनेका हुन् भन्ने कुराको ऐतिहासिक प्रमाण भेटिन्छन् । बेनीकै सेरोफेरोमा मठमन्दिरहरुको संख्या उल्लेख्य रहेको भए पनि ती दुईबाहेक अन्य मन्दिर र धार्मिकस्थलहरु सबै नयाँ नै हुन् भन्दा फरक पर्दैन ।

 
हालसालै पुलाचौरको गाजनेमा रहेको जगन्नाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । उक्त मन्दिर सोह्रौं शताब्दीको मध्यान्तरतिर तत्कालीन पर्वते राजा डिम्बबमले स्थापना गरेका हुन् भन्ने जनविश्वास छ । पुरानो मन्दिरको रुपाकृति कस्तो थियो भन्ने कुराको प्रमाण कतै फेला पर्दैन । पटकपटक मन्दिरको जीर्णोद्धार र पुनर्निर्माण हुँदै आएको हुनाले पुरानो स्वरुप गुमाइसकेको त्यो मन्दिरको यतिखेर “गुम्बज” (शिखर¬) शैलीमा पुनर्निर्माण भएको छ । पुरानो स्वरुप आकृति वा मौलिक स्वरुप गुमाएको भए पनि त्यस क्षेत्रका लागि मन्दिरको नयाँ आकृति दर्शनीय नमूना बनेको छ । त्यही रुपाकृतिका मठमन्दिरहरु जिल्लाभर अन्त कतै छैनन् । नयाँ रंगरुपको मन्दिर र ऐतिहासिक महत्वका कारणले जगन्नाथ सबैको आकर्षणको विषय बन्नु स्वाभाविक हो । त्यसमाथि आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि ऐतिहासिक मन्दिर कोशेढुङ्गा सावित हुनेछ भनेर विश्वास लिन सकिन्छ ।

 
पुलामा जगन्नाथ मन्दिर स्थापनाको सम्बन्धमा एउटा किम्वदन्ती प्रचलित छ । सोह्रौं शताब्दीमा रुकुमे राजवंशका महाराज डिम्बले पर्वतराज्यको शिलान्यास गरेका हुन् भनेर मानिन्छ । उनको जीवन लडाइँमै बित्यो । उनकै जीवनकालमा विशाल पर्वतराज्यको स्थापना भयो । दैवसंयोगले उनका एक मात्र सुपुत्रको तन्नेरीवयमै मृत्यु भयो । जिन्दगीभरको रक्तपात र एक मात्र छोरोका मृत्युले राजालाई उद्दिग्न बनायो । उनको मनको शान्ति हरायो । भोक, तिर्खा र निद्रा हराम भयो । त्यस्तैमा एकदिन भगवान् जगन्नाथले सपनामा दर्शन दिएर आफ्नो स्थापना गरी आराधना गर्ने आदेश गरेका हुनाले गाजनेमा जगन्नाथ मन्दिरको शिलान्यास भएको हो भन्ने जनश्रुति रहेको छ । “जगन्नाथ” विष्णुका सहस्र नाम मध्येको एउटा हो । भारतको उडिसा राज्यको पुरीमा जगन्नाथको सर्वप्राचीन मन्दिर छ । यतिबेला अस्तित्वमा रहेको जगन्नाथजीको मन्दिर उडिया शासक “अनङ्ग भीमदेव”ले बाह्रौं शताब्दिको अन्ततिर बनाएका हुन् । स्कन्दपुराण, ब्रह्मपुराणलगायतका अनेकौं धार्मिक ग्रन्थहरुमा प्रारम्भमा जगन्नाथलाई “नीलमाधव” भनेर पुजिने चलन थियो भनेर लेखिएको छ ।

 
पौराणिक कथनअनुसार जगन्नाथको स्थापना गर्ने राजा “इन्द्रद्युम्न” हुन् भनेर मानिन्छ । उनले सुन्दर मन्दिर बनाएर नारद मुनिले दिएको “नृसिंह”को मूर्ति स्थापना गरेका थिए रे । सपनामा जगन्नाथले समुद्रकिनारमा रहेको वास्नादार वृक्ष (चन्दन) काटेर त्यसैबाट मूर्ति बनाउनु भनेका हुनाले चन्दनको काठबाट कृष्ण, बलराम र सुभद्राका मूर्तिहरु बनाइएका हुन् भनिन्छ । ती मूर्तिहरु ढङ्ग पु¥याएर बनाएको देखिन्न । मूर्तिका हाथहरु पनि छैनन् । तीनवटै देवमूर्तिहरुको स्वरुप किन त्यस्तो छ भन्ने विषयमा पनि यौटा रोचक जनश्रुति प्रचलित छ । भगवान् जगन्नाथले आफ्नो मूर्ति आफै बनाउछु भनेर विश्वकर्माको रुपमा राजा इन्द्रद्युम्नसमक्ष उपस्थित भएछन् र शर्त के राखेछन् भने उनले मन्दिरभित्र बसेर मूर्तिहरु बनाउनेछन् र मूर्ति निर्माणकार्य सम्पन्न नभएसम्म कसैले दखल दिने छैनन् । त्यसका निमित्त विश्वकर्मालाई मन्दिरभित्र राखेर बाहिरबाट ढोका बन्द गरिएछ । ढोका बन्द भएको धेरै दिनसम्म पनि मूर्तिकार बाहिर ननिस्केपछि विश्वकर्माको वास्तविकता थाहा नपाएकी महारानीलाई उनको जीवनको चिन्ता लागेछ र ढोका खोल्न लगाइछन् । मूर्ति निर्माणको काम पूरा नहुँदै ढोका खोलिएको हुनाले विश्वकर्मा रिसाएर हिँडेछन् । यसरी ती मूर्तिहरु अधुरा रहेका हुन् र तिनै अधुरा मूर्तिहरु मन्दिरमा स्थापना गरिएका हुन्् रे ।

 
यो त भयो भारतको उडिसा राज्यस्थित पुरीमा रहेको, प्रसिद्ध चारधाममध्येको एक मानिने जगन्नाथ स्थापनाको कथा ! म्याग्दीको पुलाचौर गाजनेमा स्थापित जगन्नाथको कथा पनि कम रोचक छैन । जगन्नाथले डिम्ब महाराजलाई सपनामा दर्शन दिएको र राजाले जगन्नाथको स्थापना गरेको किम्वदन्ती नेरफेरका मानिसहरुमध्ये धेरैले सुनेका होलान् । जगन्नाथको सम्बन्धमा मानिसहरुले थाहा नपाएको र थाहा पाउनेहरुले पनि कसैलाई सुनाउन नरुचाउने अर्को यौटा ऐतिहासिक तथ्य पनि छ । जगन्नाथलाई विष्णुका रुपमा पुज्दै आएका धर्मभिरुहरुलाई यहाँ सुनाउन थालिएको ऐतिहासिक तथ्य रुचिकर नलाग्न पनि सक्छ । तर सत्य सधैं सत्य नै रहन्छ । सत्य कुरालाई सधैं दबाएर वा लुकाएर राख्न सकिँदैन । जति नै ढाकछोप गर्न खोजे पनि सत्य एकदिन सार्वजनिक भइछाड्छ । आज कसैले नभने नलेखे पनि भविष्यमा कुनै न कुनै अनुसन्धाताले त्यो ऐतिहासिक तथ्य खोज्ने नै छन् र सार्वजनिक पनि गर्नेछन् ।
देवता स्थापनाका कैयौं कथाहरु अविश्वसनीय लाग्छन् । बेनी कुरिलाखर्ककी महारानी स्थापनासँग “तुले बाँडा” (तुलबहादुर शाक्य)को नाम जोडिएर आउँछ । गलेश्वर स्थापनासँग लरेनीकी “सीता गिरी”को नाम जोडिन्छ । त्यसैगरी जगन्नाथ स्थापनासँग “डिम्ब महाराज”को नाम जोडिन्छ । उनले स्थापना गरेको गाजनेको जगन्नाथ मन्दिरलाई भारतको जगन्नाथपुरीको प्रतिकृतिको रुपमा मान्ने चलन छ । त्यसरी मान्न थालिएको कहिलेदेखि हो भनेर किटान गर्न नसकिए पनि गाजनेको जगन्नाथ मन्दिरमा स्थापना भएका ढलोटका मूर्तिहरु मन्दिर स्थापनाकालका होइनन् भनेर सजिलै अनुमान गर्न सकिन्छ । । किनकि पर्वतराज्यले जगन्नाथ मन्दिर स्थापनाको २०० वर्षपछिसम्म पनि त्यस्तो सीप हासिल गरिसकेको थिएन भन्ने कुरा वि.सं. १७७६ तिर बेनीको शिवालयमा तत्कालिक राजा मलेवम र महारानी महलबसन्ताका ढुङ्गामा खोपिएका मूर्तिहरुबाट स्पष्ट हुन्छ । त्यसको अर्थ त्यति पछिसम्म पनि धातु मूर्तिकला पर्वत राज्यमा विकास भएको थिएन भन्ने लाग्दछ । त्यसैले ती ढलौटका मूर्तिहरु निकै पछि मात्र चढाइएका हुनुपर्छ । अर्थात् डिम्ब वमले स्थापना गरेको जगन्नाथले धेरै पछि मात्र जगन्नाथ पुरीको अनुकरणको मान्यता पाएको हुनसक्छ ।
खसप्रदेश अर्थात् सिंजा क्षेत्रमा प्रचलित एउटा ऐतिहासिक कथन र खस राजाहरुले चलाएको परम्पराले गाजनेको

जगन्नाथ अहिले भनिएजस्तो बलराम सुभद्रासहित श्रीकृष्ण (जगन्नाथ)को मन्दिर होइन कि भन्ने प्रश्न उठाउँछ । कथा यस्तो छ–

सिंजाको एउटा चतुर र धूर्त ब्राह्मणले आफ्नो सोझो भाइलाई पैतृक सम्पत्तिको बाँडफाँटमा ठगेको थियो । ठगिएको भाइले राजाकहाँ उजुर गरेछ । दुई भाइको अंशमुद्दा निकै लामो समय चलेछ । आखिर ढिलोचाँडो मुद्दाको किनारा लाग्नै पथ्र्यो, लाग्यो । अंशमुद्दामा भाइको जीत भएछ । मुद्दा हारेको दाजुले झुण्डिएर आत्महत्या गरेछ र मर्नुभन्दा पूर्व राजाले आफूलाई अन्याय गरेको हुनाले मरेपछि पनि भूतपिशाच बनेर राजाको सन्तान दरसन्तानसम्मलाई दुःख दिने घोषणा गरेछ । हुन पनि ब्राह्मणले आत्महत्या गरेपछि दरबारमा अनेक खालका अनिष्टहरु भएछन् । त्यसरी आत्महत्या गर्ने ब्राह्मणको नाम “जगन्नाथ” रहेछ । गुरु पुरोहित र धामी झाँक्रीहरुको सल्लाहबमोजिम जगन्नाथको स्थान (माडौं) बनाएर पूजा दिएपछि दरबारले दैवी अनिष्टहरुबाट मुक्ति पाएछ रे । खसराजाले बनाएको पहिलो जगन्नाथको मन्दिर हालको कालीकोट जिल्लाको “बाह्रबीस दरा” भन्ने ठाउँमा आजसम्म पनि छ ।
विशाल खसराज्य विघटन भएपछि बाईसी चौबीसी राज्यहरु बने । रुकुम पनि एउटा बाईसी राज्य थियो । रुकुममा सिंजाको पुरानो खसवंशकै राज्य स्थापित भएको थियो । त्यही राजवंश निसिभुजी, ताकम हुँदै ढोलठानामा आइपुगेको हो । ढोलठानामा स्थापित भएको मल्लवंशले गाजनेमा मात्र जगन्नाथको मन्दिर बनाएको थिएन । ताकममा र रुकुममा पनि बनाएको थियो । यो ऐतिहासिक तथ्यले के प्रमाणित गर्दछ भने जगन्नाथ ब्राह्मणको भूत (मृतआत्मा) बाट तर्सेको खस राजवंशले आफू जहाँजहाँ पुग्यो त्यहाँत्यहाँ जगन्नाथको स्थान (माडौं) बनाउने सिलसिलामै गाजनेमा पनि जगन्नाथको स्थापना गरेको होला भनेर भन्न सकिन्छ । कसैलाई अविश्वनीय र नमीठो लागे पनि यो एउटा अकाट्य सत्य हो भन्नलाई प्रशस्त आधारहरु फेला पर्छन् । यो ऐतिहासिक तथ्यले जगन्नाथको ऐतिहासिक महत्व घटाउँदैन पनि । डिम्बबमलाई सपनामा प्रकट भएर मन्दिर स्थापना गर्ने आदेश दिने भगवान् विष्णु नभएर ब्राह्मण जगन्नाथ हुनसक्छ । अर्थात् डिम्बबमको त्रसित मनोविज्ञानले सपनामा जगन्नाथको भूत देखेको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here