सडक विस्तार र अवैज्ञानिक व्यवस्थापन

263

राज्यलक्ष्मी शाक्य
सरकारले राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरुमा सडक विस्तार गर्ने भन्दै विगत केही वर्षयता काम सुरु गरेको छ । काठमाडौंका भित्री सडक तथा चक्रपथ विस्तारको काम भइरहेको (कतै भइसकेको) छ । उपत्यकाबाहिरका पोखरा, चितवन, हेटौंडा, बुटवल, सुर्खेत, विराटनगर, धनगढीलगायतका सहरहरुमा पनि सडक विस्तारका काम भएका छन्÷भइरहेका छन् । सवारीसाधनको चाप तथा प्रयोगका आधारमा आवागमनमा सहजताका लागि भएका सडक विस्तार गर्ने निर्णय सरकारले गरेको हो । त्यतिमात्र नभएर अन्य भौतिक पूर्वाधारहरुको निर्माण पनि भइरहेको छ । जसमा खानेपानी आयोजनाको पाइप विस्तार, टेलिफोन, विद्युत् तथा अन्यको संरचना विस्तारका लागि सडकको नै प्रयोग हुने गरेको छ । त्यसकारण पनि सडक भत्काउने र बनाउने क्रम चलिरहेको छ ।

 
तर, सडक विस्तारमा वैज्ञानिक प्रणाली नअपनाउँदा त्यसबाट उत्पन्न हुने असरको शिकार भने आम सर्वसाधारण भएका छन् । काठमाडौंमै पनि चक्रपथ विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारको क्रममा सावधानी नअपनाउँदा र राज्यका निकायहरुकै गैरजिम्मेवारीका कारण जनताले त्यसको असर भोगिरहेका छन् । यी कार्यका क्रममा उत्पन्न धूलो, आवतजावतमा कठिनाइलगायतका समस्याहरु भएका त छन् नै कैयौं पटक दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाएका छन्, अंगभंग भएका छन् । त्यसकारण पनि यी कार्यको सम्पादनमा वैज्ञानिकता नदेखिएको भन्नुपरेको हो ।
राजधानी काठमाडौंमा नै यस्तो अव्यवस्था र गैरजिम्मेवारी देखिएपछि देशका अन्य सहरमा सुव्यवस्थित रुपमा कामहरु भइरहेका छन् भने विश्वास गर्न सकिँदैन । त्यसको प्रमाणको रुपमा दैनिक प्रकाशित हुने राष्ट्रिय दैनिकका समाचारहरु हेर्न सकिन्छ । जहाँ प्रत्येक दिनजसो उपत्यकाबाहिरका सहरहरु बाटो विस्तार, ढल, खानेपानी, विद्युत् र टेलिफोन तार व्यवस्थापनका नाममा सडक भत्काई सर्वसाधारणको दैनिकी नै प्रभावित भएको समाचारहरु प्रकाशित भएको पाउँछौं । विकास हुनु एउटा पक्ष हो, त्यसको विरोध गर्न मिल्दैन । तर, विकासका नाममा जनतालाई पीडित पार्ने, दैनिकीमा असर हुने र वातावरण नै खल्बलिने काम पनि त गर्न पाइँदैन ।

 
अहिले विश्वमा नयाँनयाँ प्रविधि र तरिकाहरु विकसित भएका छन् । सडक विस्तारलगायतका काम नेपालमा मात्र भएको पनि होइन होला, विश्वका अन्य देशहरुमा पनि नेपालमा भन्दा ठूलाठूला सडकहरु निर्माण भएका छन् । तर, विज्ञहरुका भनाइलाई आधार लिएर भन्दा त्यस्ता सडक विस्तार र सडकमा अन्य संरचनाहरुको काम गर्दा धूलो व्यवस्थापन तथा सर्वसाधारणलाई असर नपर्ने उपायहरु अपनाइएको पाइएको छ । तर, त्यस्तो उपायहरु नेपालमा कहीँकतै अपनाइएको छैन । कुनै विकासको निर्माणको काम थाल्दा वैज्ञानिक रुपमा नथाल्ने, बीचमा बाधाव्यवधान आउने र काम ढिलाइ हुने अवस्था नेपालमा छ । १ वर्षमा बन्ने भनिएको संरचना ५ वर्षमा पनि नबनेका उदाहरण छन् । त्यसकारण विकासमा नाम दिँदै गैरजिम्मेवारी प्रदर्शन गर्ने काम भइरहेको छ । त्यसलाई सुधार्न जरुरी छ ।

 
अर्को पक्ष, के सडक विस्तारमात्रै सभ्य सहरी संस्कृतिको परिचायक हो त ? यसमा पनि हामीले विचार गर्नुपर्ने बेला आएको छ । अहिले सहरमा रुखबिरुवाको कमी हुँदै जानु, खुल्ला स्थानको अभाव, सवारीसाधनको चाप, प्रदूषण गर्ने गाडीहरू चलाइनु जस्ता कारणले पनि वातावरण प्रदूषणलाई बढाएको छ । यसरी वातावरण प्रदूषण बनेको समाचार दिनहुँ जसो आइरहेको पाइन्छ । केही राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरूले त वातावरण प्रदूषण भयावह भन्दै प्रमुख समाचार बनाएर सम्प्रेषण गरेका छन् । यदि विकसित देशमा कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकाले यसरी समाचार सम्प्रेषण गर्ने हो भने त्यो राष्ट्रिय मुद्दा नै बन्थ्यो र सरकारले पनि यसबारेमा मन्त्रिपरिषद्मा छलफल गर्दथ्यो । तर, नेपालमा भने सरकारले पनि यस विषयलाई गम्भीरताको साथ लिएको छैन भन्ने उसका गतिविधिबाट नै पुष्टि भएको छ ।

 
वातावरण प्रदूषणका कारकहरूलाई हामीले बढावा दिादै आएका छौं । काठमाडौंका वरिपरिका डाँडाकाँडा पनि घरहरूले भरिन थालेको छ । सवारीसाधनलाई बाटो साँघुरो भयो भनेर बाटो फराकिलो गर्न लागिपरेका छौं । फूटपाथलाई साँघुरो बनाइरहेका छौं । यसले त प्रदूषणको कारक सवारीसाधनलाई हामी थप बढावा दिँदै छौं । यसले वातावरण प्रदूषण गर्नुका साथै ट्राफिक जामको समस्या पनि आगामी दिनमा भयावह रूपमा देखिनेछ । बाटो विस्तार गर्नुका अर्थ अझ बढी सवारीसाधन थप्नु हो । यसले दुर्घटना, जाम र प्रदूषण मात्र बढाउँछ । यही समस्यालाई नै ध्यानमा राखेर कतिपय देशका प्रमुख सहरमा साइकललाई बढी महत्व दिइएको छ । त्यस्तो स्थानमा छुट्टै साइकल लेनको व्यवस्था गरिएको छ । सडकमा साइकललाई प्राथमिकता दिने गरिन्छ । काठमाडौंको सन्दर्भमा पनि अब साइकललाई प्राथमिकता दिन जरुरी देखिन्छ । जसले ठूलो सवारी साधन विस्थापित हुनेछन् । यसले पेट्रोल तथा डिजेल आयातमा खर्च भइरहेको अर्बौं रुपैयाँ जोगिनेछ । मानिसको स्वास्थ्यमा सुधार आउनेछ । वातावरण प्रदूषणमा कमी ल्याउनेछ । दुर्घटनाको जोखिम कम हुनेछ । यस सँगसँगै सहरी व्यवस्थापनका अन्य दीर्घकालीन काम सुरु गर्ने हो भने अवश्य पनि हाम्रो सहरलाई पुनः सुन्दर बनाउन सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here