काठमाडौं । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी गरिरहेको जनाएका छन्।
दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कुटनीतिज्ञको नियुक्ति र कुटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको बताए। नेपालको कुटनीतिक सामथ्र्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित छन्। अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रिएको सम्बन्ध सुधार्नु भएको जनाउँछन्।
‘भारतसँगको हाम्रो सम्बन्ध अहिले नराम्रोसँग बिग्रिएको छ।’ नेपालको राजदुत भइसकेका भारतीय कुटनीतिज्ञ श्यामशरणले आफ्नो पुस्तकमा भारतको पाकिस्तान, चीन र नेपालसँग सम्बन्धमा समस्या रहेको कुरा लेखिएको भन्दै नेपालबारे यस्तो कुरा आउनु धेरै गम्भीर कुरा भएको उनले जनाए।
‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, रोटिबेटी, भाषा, धर्म संस्कृति, भुगोल, व्यापार वाणिज्य शिक्षा स्वास्थ्य यावत सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध बिग्रनु र उसले छिमेकीमध्ये यी देशसँग सम्बन्धमा समस्या छ भनेर लेख्नु गम्भीर कुरा हो,’ उनले भने,‘मलाई के लाग्छ भने प्रधानमन्त्री राष्ट्रपति जस्तो उच्चतम राजनीतिक स्तरबाट यसमा ठूलो होमवर्क हुनुपर्ने छ। यो धेरै बिग्रिएको अवस्था म देख्छु। भारतबाट सहयोग पाइएन (विश्व स्वास्थ्य संगठनको चुनावमा) भन्ने कुरामा मलाई कुनै आश्चर्य होइन। पाइएन मात्र होइन भविष्यमा पनि (सम्बन्ध सुधार नहुँदासम्म) पाइँदैन।’
आचार्यले बीपी तथा महेन्द्रका पालामा नेपालले कुटनीतिक महत्व पाउनुमा दुवैको व्यक्तित्वले असर गरेको बताए। २०४८ देखि ५१ सालसम्मको महत्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हालेका आचार्यको अनुभवमा कोही पनि कुटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्दछ।
‘अध्ययन अनुभव र राष्ट्रप्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कुटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन्। जोसँग यी बढि भयो त्यही प्रभावशाली हुन्छन्,’उनले भने कोही व्यक्ति कुटनीतिज्ञका रुपमा प्रभावशाली बन्न देशको भुगोलले प्रभाव नपर्ने भन्दै उनले यदुनाथ खनालको उदाहरण दिए। कुटनीतिज्ञको पद अथवा देश भन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्नेकुरा निर्धारण गर्ने आचार्यले जनाए।
नेपालभन्दा साना देश एक सय भन्दा बढी रहेको प्रसंग निकाल्दै उनले नेपालको भुगोलका आधारमा यसको कुटनीतिक महत्व अझ धेरै रहेको जनाए।


















