ओलीकोे बोली

216

भारत भ्रमणबाट ओली स्वयम् असन्तुष्ट

         निमकान्त पाण्डे
प्रधानमन्त्री केपी ओलीले गत चैत ५ गते चिनियाँ सहयोगमा निर्मित सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान उद्घाटन गर्दै भन्नु भएको थियो – ‘हामी अरुका प्रगतिका कथा सुन्न सरकारमा गएका होइनौँ, आफैले गरेर देखाउन चाहन्छौँ ।’
तीन सय १८ रोपनी अप्ठेरो जमिनमा तीन अर्ब ६० करोडको लागतमा तोकिएभन्दा ६ महिना पहिले नै बनेको प्रतिष्ठानको उद्घाटन गर्दै उहाँले भन्नु भएको थियो– ‘प्रतिष्ठान ६ महिना पहिले सकिनु संयोग मात्र होइन, यो सरकारले काम कसरी गर्छ भन्ने संकेत पनि हो ।’ उहाँले त्यसक्रममा चिनियाँ लगानी नेपालको विकासका लागि महत्वपूर्ण रहेको जानकारी पनि गराउँनु भएको थियो । पहिलो पटक ओली प्रधानमन्त्री बन्दा चीनसँग राम्रो सहकार्य गरेका कारण दोस्रो पटक उहाँले शक्तिशाली सरकारको नेतृत्व गरिरहँदा उत्तरी छिमेकी मुलुक चीन पनि उत्साहित देखिन्छ । चीनले नेपालमा रेल कनेक्टिभिटीदेखि अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत् आयोजनालगायतका विभिन्न क्षेत्रमा सहयोगका हात अघि बढाइसकेको छ । प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएपछि यस्तो लगानी थप वृद्धि हुने अपेक्षा गरिएको छ । वर्तमान प्रधानमन्त्री ओलीलाई कतिपयले चीनसँग निकट रहेको समेत भन्ने गरेका छन् ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय सञ्चारमाध्यमले त ओलीलाई चीनपरस्त भने नै, हङकङबाट प्रकाशित हुने चिनियाँ पत्रिका ‘साउथ चाइना मोर्निङ पोष्ट’को अन्तर्राष्ट्रिय संस्करणले समेत नेपालमा चीन निकट मानिने ओली प्रधानमन्त्री भएको समाचार प्रकाशन ग¥यो । त्यत्तिमात्र होइन, उसको प्रिण्टिङ भर्सनको पहिलो पृष्ठमै ओलीको अन्तर्वार्ता प्राथमिकताका साथ प्रकाशित भयो । यस अर्थमा ओलीले चीनको विश्वास जितेको र नेपालमा चिनियाँ लगानी थप भित्रने अपेक्षा भइरहेको छ ।

 
अर्काेतर्फ हालै भारतको पहिलो राजकीय विदेश भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीेले पहिलोपटक प्रधानमन्त्री हुँदा बाँडेका महत्वाकांक्षी सपनालाई वास्तविकतामै परिणत गर्ने गरी सम्झौता गरेर फर्किएका छन् । उनले देखाएका रेल, नेपालकै पानीजहाज र घरघरमा ग्यास पाइप पु¥याउने महत्वाकांक्षी योजनालाई मूर्तरुप दिने उनले छिमेकी मुलुक भारतसँग सहमति र सम्झौता गरेका छन् । यदि नेपालसँग गरेका सम्झौताबाट भारतले हात झिकेन भने ओलीले देखाएका महत्वाकांक्षी सपना ढिलो छिटो पूरा हुने निश्चित देखिन्छ । अनौठो के भने ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्ध निकै चिसो बनेको थियो । तर यसपटक ओली प्रधानमन्त्रीका रुपमा भारत पुग्दा भारतले उच्च प्राथमिकता दिएको छ । सधैंजसो नेपालका प्रधानमन्त्री भारत जाँदा भन्दा यसपटक ओली भारत जाँदा भारतले नेपालप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्ने संकेत गरेको छ । आतिथ्यदेखि दुई मुलुकका परस्पर सम्बन्धका विषयदेखि प्राथमिकताका विषयमा समेत यसपटक केही फरक देख्न पाइएको छ । प्रायः प्रधानमन्त्री भारत भ्रमण गर्दा कुनै न कुनै विवादास्पद निर्णय गरेर आउँथे ।

 
सम्भवतः भारतीय पक्षले राख्ने प्रस्तावलाई अस्वीकार गर्न नसक्दा यस्तो समस्या हुने गथ्र्याे । तर यसपटक ओलीले नेपालको अहित हुने कुनै पनि सम्झौतामा हस्ताक्षर गरेनन् । बरु चिनियाँ लगानी र चीनसँगको सम्बन्धबाट अताल्लिएको भारतलाई नेपालमा लगानी गर्ने प्रतिस्पर्धामा उतार्न केपी ओली सफल भएको निष्कर्श निकाल्न सकिन्छ । विगतमा आफू अनुकूल मात्र सहयोग गर्न तयार हुने भारत यसपटक ओलीको सपनालाई पछ्याउन तयार हुनुले यही कुराको संकेत गरेको छ ।
प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीले आफूसँगको भेटमा नेपालको तीव्र आर्थिक विकास र समावेशी समाज निर्माणका लागि ‘बोल्ड भिजन’ जानकारी गराएको जनाएका थिए । मोदीले ओलीको भिजन साकार पार्न भारत कसरी नेपालसँग सहकार्य गर्नसक्छ भन्ने विषयमा छलफल भएको जानकारी पनि गराएका थिए । उनले भनेका थिए, ‘म बुझ्छु भारतको विकासका लागि मेरो ‘सबैको साथ सबैको विकास’ मूलमन्त्र र नेपालका लागि प्रधानमन्त्री ओलीजीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजन एकअर्काका पूरक हुन् । यसैकारण जनकेन्द्रित भिजन, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख, शान्ति र समृद्धिको आशा र अपेक्षालाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने कुरामा हामी दुवै पूर्ण सहमत भएका छौं,’ मोदीको यो भनाइले नेपालमा ओलीले राखेको विकासको लक्ष्यलाई सघाउन उनी तयार भएको देखिन्छ ।

 
ओलीले भारतसँगको सम्बन्ध बिगारे भनेर आरोप लागिरहेका बेला आफ्नो नेपाल समृद्धिको सपनामा भारतलाई पनि सँगै हिँडाउन तयार बनाउनुले ओलीको व्यक्तित्वलाई थप उचाइमा पु¥याएको छ । भारत भ्रमणका बेला अरुण तेस्रोको उद्घाटन भारतबाटै हुने भनेर व्यापक आलोचना भइरहेका बेला ओलीले त्यसलाई थाँती राख्न सफल भएको घटनाले पनि भारत नेपाललाई दुःखी तुल्याउन हुँदैन भन्ने निष्कर्शमा पुगेको बुझ्न सकिन्छ । प्रम ओलीले नेपाली जनताको चाहनाविपरीत काम गर्दा आफ्नो विश्वास गुम्नसक्नेप्रति सजग भएरै विवादास्पद विषयमा कुनै सम्झौता गरेको पाइएन । ओलीको भारत भ्रमणका बेला सशंकित भएकालाई पनि उहाँले आफ्नो विश्वासमा ल्याउन सफल भएको देखिन्छ । जहाँ सम्म कोशी उच्च बाँध सम्बन्धमा देखिएका टिकाटिप्पणीको सन्दर्भ छ, यसलाई पनि प्रम केपी ओलीले सच्याउन कसरत गर्नकालागि नेपाली जनताको म्यान्डेट प्राप्त भएकै छ, आशा गरौं एकै पटक हुन नसकेको कामले प्राथमिकता पाउँने छ ।
प्रधानमन्त्री ओलीको समृद्धिको सपना अब उहाँको व्यक्तिगत सपना मात्र रहेन । तीन करोड नेपालीको मनमा उहाँले सुन्दर र समृद्ध सपनाको बीजारोपण गरिसक्नु भएको छ । त्यसैले जनताले ओली माथि ठूलो अपेक्षा र भरोसा गरिरहेका छन् भने ओली आफै पनि आफ्ना प्रतिबद्धताबाट पछि हट्ने अवस्था छैन । बरु एउटा सत्य के हो भने ओलीको समृद्धि सपनालाई हावामा उडाउनेहरु पनि उहाँकै बाटोमा हिँड्नुपर्ने बाध्यता देखिएको छ । यसको स्पष्ट उदाहरण हो, केही अघि सम्पन्न तीन चरणको निर्वाचनका क्रममा ओलीका महत्वाकांक्षी सपनाको आलोचना गर्ने दलहरुले नै ओलीभन्दा अघि बढेर चुनावी घोषणापत्रमा रेलदेखि तेलसम्मका कुरा गर्नु । त्यसैले अब ओलीफोबियाबाट भागेर होइन, ओलीको सपनालाई सबैको साझा सपना मानेर अघि बढ्दा नै अन्य राजनीतिक दलको समेत कदर र सम्मान हुने र देशको समृद्धिको लक्ष्य छिटो पूरा हुने देखिन्छ ।

 
प्रधानमन्त्री ओलीले सपनामात्र देखाएको मान्नु हुँदैन । उहाँको नेतृत्वमा सरकार बनेपछि केही कुरा महसुस हुने गरी देखिन पनि थालेका छन् । जस्तो उहाँले प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा पदबहाली गरेपछि बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न रंगशाला बनाउने गरेको पाइयो । त्यस्तै, प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय बनाउने पनि मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । यो निर्णय हेर्दा महत्वाकांक्षी जस्तो देखिए पनि साँच्चिकै मुलुकलाई समृद्धि र आत्मनिर्भरतर्फ अघि बढाउने हो भने यसलाई व्यवहारमा उतार्नै पर्छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलको चयन गर्दा पनि हाम्राभन्दा राम्रा र क्षमतावान् व्यक्तिलाई चयन गरेको देखिन्छ । हालैमात्र सरकारको अडानका कारण यातायात क्षेत्रमा वर्षाैँदेखि रहँदै आएको सिन्डिकेट तोड्ने प्रयास भइरहेको छ । यसले एकातर्फ जनताले सहज र सस्तो यात्रा गर्न पाउँने अवस्थालाई सुनिश्चित गर्नेछ भने अर्काेतर्फ शक्तिकेन्द्रको आडमा मनपरी र दादागिरी गर्ने यातायात व्यवसायीलाई आफ्नो हैसियतमा बस्न बाध्य बनाउने निश्चित छ । राज्य र जनताभन्दा ठूलो अरु हुँदैन भन्ने सन्देश सरकारले यातायात व्यवसायमा रहेको सिन्डिकेट तोडेर देखाउन खोजेको छ । यातायात क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा र बैंक तथा वित्तिय क्षेत्रमा पनि सरकारको आवश्यक हस्तक्षेपका निम्ति दबाब सृजना गरिनु आवश्यक छ ।

 
ओलीले अन्य मुलुकले नेपाललाई परम्परागत चश्माबाट हेर्ने दृष्टिकोणलाई समेत परिवर्तन गरिदिएको बुझ्न सकिन्छ । प्रधानमन्त्री हुनेबित्तिकै शुभकामना दिन मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्रीको भ्रमण, भारतको हेर्ने दृष्टिकोणमा परिवर्तन तथा चीनसँगको सम्बन्ध र नेपालमा आफू अनुकूल जे गर्न पनि सकिन्छ भन्ने युरोपियन युनियनलाई क्षेत्राधिकार उल्लंघन नगर्न दिएको चेतावनीसमेतले नेपालको कुटनीतिक उचाइ विगतको जस्तौ छैन भन्ने संकेत गरेको छ । ओली आफैमा यो शक्ति सञ्चार भएको होइन, यो नेपाली जनताको ओली प्रतिको विश्वासको उच्च मूल्याङ्कन गर्ने बाध्यता हो भन्ने कुरा स्पष्ट छ ।

 
ओलीले हरेकजसो भाषणमा भन्ने गरेको सुनिन्छ, अब कुनै पनि नेपालीले भोकै मर्नुपर्ने छैन, सत्तामा पुगेर जनताका गुनासाबारे बोल्ने निकै कम हुन्छन् तर ओलीले सत्ताको बागडोर सम्हाले पनि मुलुकको यथार्थ र जनतासँग गरेको वाचालाई बिर्सेको छैन भन्ने सन्देश दिन खोजिरहेको पाइन्छ । ओली मन्त्रीमण्डलका हरेकजसो मन्त्रीले राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् भने कतिपयले कामसमेत सुरु गरिसकेका छन् । यो ओली सरकारले गर्न खोजेको सकारात्मक कामको संकेत हो । यसले ओली एक्लैले समृद्धिको कुरा गरिरहेका छैनन्, उहाँको सम्पूर्ण टिम नै यसमा प्रतिबद्ध छ भन्ने सन्देश आफ्नो मन्त्रीमण्डलबाट समेत दिन खोजिरहेको पाइन्छ ।

 
प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै ओलीले भनेको कुरा स्मरणीय छ, ‘म प्रधानमन्त्री हुनका लागि भएको होइन । देशमा परिवर्तन ल्याउन भएको हुँ, भ्रष्टाचार गर्न म प्रधानमन्त्री भएको होइन, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ।’ त्यस क्रममा ओलीले आफू शासक नभएर सेवक भएको जिकिर समेत गर्नुभएको थियो । ‘म दमनकारी शासक होइन, जनताको सेवक हुँ, सुशासन दिने सरकारको संरक्षक हुँ । एकताको अभियन्ता, विकासको अग्रणी, भ्रष्टाचार विरोधी, सदाचारको अभियन्ता हुँ’, प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भनेका कुरा सम्झन लायक छन्, देश पछाडि परेकाले त्यसको परिवर्तनकै लागि आफूहरुले समाजवाद उन्मुख देशको परिकल्पना गरेको ओलीको कथन थियो – ‘देशमा असहाय र शारीरिक रुपमा अशक्तलाई रेखदेख गर्ने घोषणा चुनावअघिको संयुक्त घोषणापत्रमा सार्वजनिक गरिसकेका छौैँ, यस्तो उर्बर देशमा भोकै मर्नु हुँदैन । केही वर्षभित्र नेपालमा कोही पनि गरिब हुनु हुँदैन । त्यसपछि मात्र हाम्रो राष्ट्रिय गौरव अनुभूति हुनेछ ।’ हरेक नेपालीले विश्वका कुनाकुनामा पुग्दा सम्मानित भएर बाँच्न पाउनुपर्ने काम गर्नेगरी प्रधानमन्त्री पदको जिम्मेवारी लिएको उद्घोष ओलीले गरेका हुनाले टिकाटिप्पणी र आलोचना भन्दा सुझाव र दबाव ओलीकालागि आवश्यक छ ।

 
सामान्यतः नेपालको परम्परागत राजनीतिमा निर्वाचनमा विजयी हुनका लागि विभिन्न किसिमका फण्डा हुने गर्छन् । निर्वाचनको मुखमा जनतालाई पूरा हुन नसक्ने आश्वासन दिने र निर्वाचित भइसकेपछि जनतालाई फर्केर नहेर्ने प्रवृत्तिलाई चिर्दै ओलीले निर्वाचनमा विजय हासिल गरिसकेपछि पनि निरन्तर आफूले जनतासामु गरेका वाचा पूरा गर्ने दोहो¥याउँदै आएका र त्यसका लागि अग्रसरता पनि लिइरहेको पाइन्छ । प्रायः प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि जनताको भावनालाई सम्बोधन गर्न नसक्दा सबैजसो प्रधानमन्त्री आलोचनाको पात्र बन्ने गरेका छन् । ओली मात्र यस्ता पात्र हुन्, जो सत्तामा हुँदा वा सत्ता बाहिर हुँदा पनि जनताको साथ र समर्थन पाइरहेको पुष्टि भइसकेको छ । पहिलोपटक छोटो समयका लागि प्रधानमन्त्री हुँदा जनताको विश्वास जित्न सफल भएका ओली यस पटक पनि काम गरेरै जनताको विश्वास जित्ने प्रयत्नमा लागेको देखिन्छ । त्यसैले ओलीले गर्न खोजिरहेका काममा जनताको तर्फबाट समेत धैर्यका साथ समर्थन हुनु जरुरी छ । यसलाई बीचमै छोडेर बाटो मोड्ने अवसर र अधिकार ओलीसामु छैन । त्यसैले जनतासामु गरेका वाचालाई पूरा गर्नैपर्ने नैतिक दबाब ओलीमाथि परेको छ । ओली नेतृत्वको वर्तमान सरकारले देश र जनताका लागि काम गर्न सकेन भने चुनावका माध्यमबाट सत्तामा पुगेर कम्युनिष्टहरुले केही गर्न सक्दैनन् भन्ने पुष्टि पनि हुनेछ ।
प्रधानमन्त्री ओलीले पार्टी पदाधिकारीमा दोस्रो तहमा रहेका ईश्वर पोखरेललाई लत्याउँदै राज्यमन्त्री बन्ने चर्चामा रहेका पूर्वगभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मा दिएको स्पष्ट छ । पदीय हैसियतले जुनियर भए पनि क्षमतावान् व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मा लगाएर ओलीले साँच्चिकै आर्थिक समृद्धिको सपनालाई पूरा गर्न खोजेको पनि बुझ्न सकिन्छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै खतिवडाले अर्थतन्त्र सुधारका लागि तीव्र गतिमा पहल पनि सुरु गरेका छन् । उनले अर्थमन्त्री भएलगत्तै विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएका थिए । सोही दिन मुलुकभरका भन्सार नाकाबाट अन्य दिनहरु भन्दा करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेको पाइयो । भन्सार कर्मचारीको मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको बेला उनको निर्देशनले राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण पाटो मानिने भन्सारमा सुधारको पहल सुरु भएको छ ।

 
मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएकामा अर्थमन्त्री खतिवडाको निर्देशनमा एकै दिन एक अर्ब २० करोडभन्दा बढी राजस्व असुली भएको थियो । उनले कमजोर बन्दै गएको अर्थतन्त्रको सुधारका लागि विभिन्न महत्वपूर्ण कार्यक्रमको पनि तयारी गरिरहेका पनि छन् । प्रम ओलीको समृद्धिको सपनालाई साकार पार्न सफल अर्थविद्को छवि बनाएका खतिवडा आफ्नो पनि छवि बनाउने अभियानमा लागेको अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री केपी ओलीले समग्रमा सकारात्मक भूमिका खेले पनि इतिहास बनाउन सकिने केही कुरामा भने चुकेको पाइएको छ । जस्तो ः छिमेकी मुलुकका हिसाबले चीन र भारतसँग सम्बन्ध सुमधुर राख्नुपर्छ, त्यो स्वाभाविक नै हो । तथापि एउटा तथ्य के पनि हो भने चीन र भारत नेपालले फेर्नै नसक्ने भौगोलिक अवस्थाका कारण छिमेकी हुन पुगेका हुन् । सिद्धान्ततः जति ठूला कुरा गरे पनि विश्व शक्तिका रुपमा उदाउँदै गरेका दुई मुलुकको बीचमा रहेर पनि आर्थिक रुपमा निकै पछि रहेको नेपालका लागि कुनै उल्लेख्य र स्वार्थसहित सहयोग गरेका छैनन् । छिमेकी देशहरुको सानो सहयोगले नेपालको ठूलो कायापलट हुनसक्थ्यो । कम्तीमा अहिलेसम्मको स्थितिमा दुवै मुलुक नेपाललाई दिल खोलेर सहयोग गर्न तयार भएको देखिएन । भविष्य गर्भमै छ, त्यसैले त्यसबारेमा अहिल्यै धेरै टिप्पणी गर्नु उचित हुँदैन । बरु अहिलेका लागि नेपालका अन्नदाता खाडी मुलुक नै हुन् । आज पनि हाम्रा बहुसंख्यक युवाहरु खाडी मुुलुकमा मेहनत गरिरहेका छन् र त्यही रेमिट्यान्सको बलले मुलुक धानिएको छ । एउटा शक्तिशाली प्रधानमन्त्रीको हैसियतले ओलीले आफ्ना बहुसंख्यक युवा रहेका खाडी मुलुकबाट भ्रमण गरेर विदेश भ्रमण सुरु गर्न सकेको भए त्यसको सन्देश आजका ओलीको लागि सुनमा सुगन्ध हुने थियो । यसबाट सकारात्मक सन्देश पनि जान्थ्यो र छिमेकी मुलुक चिढिने अवस्था पनि हुँदैनथ्यो । तर, त्यो ऐतिहासिक अवसर गुमाउँदै ओलीले पुरानै परम्परालाई निरन्तरता दिँदै भारतको भ्रमण गरी ओली, प्रचण्ड र देउवाहरु भारतकै आशीर्वादबाट प्रधानमन्त्री बन्ने सौभाग्य पाएका छन् भन्ने सन्देश जनमानसमा गएको छ । यसले हामी जति नै शक्तिशाली भए पनि भारतप्रति नतमस्तक हुन्छौँ र हुनै पर्छ भन्ने सन्देश पनि दिएको छ । एउटा गलत परम्परा तोडेर स्वाभिमानको इतिहास रच्ने अवसर ओलीको हातबाट गुमेको छ ।

नेपाल र भारतबीचको १२ बुँदे संयुक्त वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत महिना भारतको हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट संयुक्त वक्तव्य जारी भएको छ । यस्तो त संयुक्त प्रेस विज्ञप्ति ः
१. नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली २०१८ अप्रिल ६ देखि ८ सम्म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएको छ ।
२. २०१८ अप्रिल ७ मा दुवै देशका प्रधानमन्त्रीले व्यापकरूपमा दुई देशबीच रहेको बहुमुखी सम्बन्धको विस्तार गर्ने विषयमा समीक्षा गर्नुभयो । उहाँहरूले दुवै देशका सरकारी, निनी क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, आपसी भरोसा, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्न सहमत हुनुभएको छ ।
३. नेपाल–भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित र उच्चस्तरको राजनीतिक आदानप्रदानको महत्व रहेको कुरामा सहमति जनाउनुभएको छ ।
४. नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतसँग मित्रता सम्बन्धलाई अझ बलियो बनाउनका लागि जोड दिइने कुरा बताउनुभएको छ । उहाँले आर्थिक प्रगति र विकासका लागि भारतको प्रगति र समृद्धिबाट लाभ उठाउनका लागि द्विपक्षीय सम्बन्ध विकास गर्न नेपाल सरकारको इच्छा रहेको कुरा व्यक्त गर्नुभएको छ । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार नेपालसंग आफ्नो साझेदारी बलियो बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ ।
५. ‘सबका साथ, सबका विकास’को नाराअनुसार भारत समावेशी विकास र समृद्धिको साझा दृष्टिका लागि आफ्ना छिमेकीहरूसंग भारतको सम्बन्धको एक महत्वपूर्ण ढांचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि सरकारले आर्थिक परिवर्तनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनु भयो । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ ।
६. दुवै प्रधानमन्त्रीहरूले नेपालको वीरगञ्जमा एकीकृत चेकपोस्टको उद्घाटन गर्नुभयो । यसको प्रारम्भिक परिचालनले सीमापार व्यापार बढाउने र सामानहरूको पारगमन र साझा विकासका लागि अधिक अवसर ल्याउने मानिसहरूको आन्तरिक गति बढाउने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो ।
७. दुवै प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज क्रस बोर्डर पेट्रोलियम आपूर्ति पाइपलाइनको शिलान्यास गर्नुभयो ।
८. दुवै प्रधानमन्त्रीहरूले नेपालमा द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको आवश्यकतालाई जोड दिनुभयो र सहकार्यको एजेन्डाहरूलाई बढावा दिनका लागि अहिले अस्तित्वमा रहेका द्विपक्षीय संयन्त्रहरूलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।
९. पारस्परिक हितका निम्नलिखित प्रमुख क्षेत्रहरूमा तीनवटा अलग साझेदारी भयो ।

–भारत–नेपाल ः कृषिमा नयाँ साझेदारी
–रेल लिंकहरू विस्तार गर्दै रक्सौललाई नेपालको काठमाडौंसम्म जोड्ने
–भारत र नेपालबीच इनल्याण्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सिर्जना गर्ने
१०. दुवै प्रधानमन्त्रीहरू यसमा सहमत हुनुभएको छ कि यो भ्रमणले दुई देशबीचको बहुमुखी साझेदारीमा नयाँ गतिशीलता थपेको छ ।
११. प्रधानमन्त्री ओलीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई गरिएको न्यानो अतिथ्यताका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो ।
१२. प्रधानमन्त्री ओलीले नेपालका भ्रमण गर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभयो । प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभयो र त्यसको मिति कुटनैतिक तहबाट निर्धारण गरिने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो ।
यी १२ बुँदे विज्ञप्ति जारी गरी नेपाल फर्किएका प्रधानमन्त्री ओलीले ‘भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ’ भनेर आफ्नो भारत भ्रमण सोचेजति सन्तोषजनक नभएको स्पष्ट पार्नु भएको छ । त्यसैले प्रधानमन्त्री ओलीलाई गाली गरेर कमजोर बनाउँनु भन्दा सुझाव दिएर बलियो बनाउँन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here