म खसेटो हुँ कि क्षत्री अथवा खस ?

442

चन्द्रप्रकाश बानियाँ
म जन्मे हुर्केको समाज भिन्न जातजातिहरूको मिश्रित बस्ती हो । म्याग्दीको प्राचीनबस्ती पुलालाई पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फूलबारी’ नै हो भनिदिँदा पनि फरक पर्दैन ! मिश्रित समाजमा बस्नुको आनन्द नै अर्को हुन्छ । जीवनको यो आखिरी खण्डमा अस्ताचलको चुचुरोबाट पछि फर्केर स्मरण गर्दा मीठा नमीठा, तीता टर्रा अनेक घटनावली र अनुभवहरू तरेली परेर हृदयपटमा दृश्यमान हुन्छन् । चकचके बालवयमा जानी नजानी कसैको सानुठूलो विज्याइँ गरियो भने ‘साइदुवा खसेटो’ भन्ने गाली खाइन्थ्यो । खास गरेर क्षत्रीइतर छिमेकीको झोंकमा परियो भने त्यो सम्बोधनबाट विभूषित हुने अवसर मिल्थ्यो । ब्राह्मणहरूबाट मात्र होइन, दलित परिवारका सदस्यहरूले समेत ‘खसेटा’ भनेरै हप्काउँथे, दुत्कार्थे । त्यतिखेर मेरो जात क्षत्री हो भन्ने जानकारी पनि थिएन । क्षत्रीलाई ‘खस्यौटो’ भनिन्थ्यो भन्ने पनि थाहा थिएन । क्षत्रीहरू सबैलाई किन खसेटा भनिन्छ भन्ने ज्ञान पनि थिएन । गालीको रूपमा प्रयोगमा आउने हुनाले अवश्य नराम्रो कुरा होला भन्ने लाग्थ्यो । र, प्रत्युत्तरमा आफूले पनि समाजबाट सिकेका गालीजनित शब्दहरू बर्साइन्थ्यो । जाति के हो, जात भनेको के हो, खस भनेको के हो भन्ने कुराको वास्तविक तथ्य ‘कुन चराको नाम हो’ भन्ने ज्ञान थिएन । त्यस्तैमा एउटा मनमा बिझ्ने सानो घटना घट्यो, जसले मेरो जात सधैंको लागि खाइदिएथ्यो ।

 
दुई÷तीन कक्षाको स्कुले विद्यार्थी हुँदाको कुरा हो । एक बथान केटाकेटीहरू स्कुलतिर लाग्ने बाटोमा थियौं । मेरो पिठ्युँमा २÷४ वटा थोत्रा पुस्तक र एउटा गरुङ्गो स्लेटको पाटीले भरिएको बोझिलो झोला थियो । मेरो घरबाट स्कुल जान अलिकता उकालो हिँड्नुपथ्र्यो । गाईभैंसी समेत हिँडाउने डहर भएकोले नाकले चर्को गोबरगन्धको स्पष्ट अनुभव गथ्र्यो । खुट्टामा जुत्ता नभए पनि धुलोको पत्रले लपक्कै गोडा छोपिन्थे । उकालो बाटो, गोबरको नमीठो गन्ध, पिठ्युँमा झोलाको बोझले निहुरिएर हिँड्नुपर्ने बाध्यताको सास्ती भोग्नेलाई मात्र थाहा हुन्छ । स्कुलको घन्टी लाग्ने बेला भइसकेको थियो । ढिलो भए माष्टरको छडीको स्वाद भेट्नुपथ्र्यो । हामी माथितिर उक्लँदै गर्दा खेतीबालीको लागि बेसी झर्ने कामदारहरूको लर्को ओरालो झर्दै थियो । तल झर्नेहरूको हिँडाइको गति ८०० मिटर दौडको प्रतिस्पर्धीको जत्तिको अवश्य हुन्थ्योे । उनीहरूसँग दैवसंयोगले जुधियो भने चार हात पर हुत्तिने संयोग निम्तिन सक्थ्यो । सम्भावित दुर्घटनाबाट जोगिन छेउ लागेर हिँड्नुपथ्र्यो । उकालो बाटो, पिठ्यूँको झोलाको बोझले स्वभावतः निहुरीमुन्टी लगाएर हिँड्नुपथ्र्यो । त्यसैले कसैको अनुहारमा नहेरीकन हतारोमै डहरको छेउ लागेर हिँड्दै थियौं । त्यतिखेरै हामीले पछि छोडेर आएको एउट जमातबाट ‘एई केटा हो’ भन्ने आवाज आयो । स्वभावतः हामी सबैको कानमा त्यो कर्कश डाँको प¥यो । हाम्रा गोडाहरू यन्त्रवत् रोकिए । सबैको दृष्टिहरू आवाजतिर फर्किए । एकजना भयलाग्दो जिउडाल परेको मानिसले हातको इशाराले ‘यता आओ’ भनेर संकेत ग¥योे । मान्छे हेर्दै डरलाग्दो, किन भनेर भनेर प्रश्न गर्ने हिम्मत नै भएन । सबै हुरुरु तल झ¥यौं । सिंडीको चप्लेटो ढुङ्गोमा उभिएका ती महानुभावले ‘तिम्रा बाबुबाजेले हाम्रो गोडामा टाउकाले टेकेर ढोग्छन्, तिमीहरू त्यसै दगुर्ने ? लौ मलाई ढोग’ भनेर बीच गोरेटोमा खुट्टा जोडेर उभिए । ‘किन’ भन्ने प्रश्न पनि गरिएन, ‘नाई’ भन्ने हिम्मत पनि भएन । सबैले पालैपालो उनको पाइतालामा ज्ञानी बनेर टाउको जोत्यौंं ।

 
अर्को दिन दैवसंयोग ती मान्छे हाम्रो घरमा पनि टुप्लुक्क देखापरे । मेरो पिताजीले श्रद्धापूर्वक पाउलागिको औपचारिकता निभाउनु भयो । मोहनीमन्त्रबाट बसीभूत भएझैं मैले पनि ढोग गरे । उनी बाटो लागेपछि ‘ती बूढालाई हामीले किन ढोग्नुपर्ने ?’ भन्ने मेरो जिज्ञासामा मेरा पिताजीबाट पाएको प्रतिउत्तरले मेरो सानो दिमागलाई एउटा कहिल्यै नमेटिने मनोवैज्ञानिक प्रभाव पा¥यो । पिताजीको भनाइअनुसार ती मानिस ब्राह्मण रहेछन् । म आफू क्षत्री रहेछु । क्षत्रीभन्दा बाहुन ठूलो जात मानिँदो रहेछ । साना जातले ठूला जातका मानिसलाई ढोग्नु, सम्मान गर्नु र आदर गर्नु सामाजिक मान्यता र मर्यादा रहेछ । अर्थात् मेरो जात सानो भएकोले बाहुनबाजेको मैला गोडामा मैले निधारले ढोग्नुपर्ने रहेछ । घटना त सामान्य थियो तर मलाई भने मेरो आफ्नो जात सानो भएकोमा आफैप्रति रिस उठ्यो । हीनताबोध गरायो । मेरो त्यो हीनताबोधले एस.एल.सी. बोर्डको परीक्षामा सम्मिलित हुनका लागि भरिने रजिष्ट्रेसन फर्म भर्ने बेलामा आफ्नो तुजुग देखायो । बाहुनलाई गोडामा ढोग्न लगाउने मेरो जातबाट सदाका लागि मुक्ति पाउने अवसरको रूपमा त्यसको सदुपयोग ग¥यो । अर्थात् मेरो नामपछि थर बानियाँ मात्रै लेखिदिएँ । त्यही दिन मेरो जात क्षत्रीलाई तिलाञ्जली दिएँ । स्वभावतः मेरा शैक्षिक तथा नागरिकताको प्रमाणपत्रमा क्षत्री उल्लेख भएन । मेरो नामको सम्पूर्ण नालीबेली ‘चन्द्रप्रकाश बानियाँ’मै सीमित रह्यो । जात वर्णप्रतिको मेरो त्यो अरुचि सानोतिनो विद्रोह नै थियो । तर म बस्ने समाज उही थियो । मैले आफ्नो नामबाट क्षत्री झिकेर मिल्काए पनि म क्षत्रीको क्षत्री नै रहिरहेँ । फेरि पनि उही खसेटामा दरिनुपर्ने सिलसिला रोकिएन । झन् व्रतबन्धको औपचारिकता पूरा गर्ने सन्दर्भमा भिराइएको जनैले उही दोस्रो कित्ताको जातको थप प्रमाणपत्र थमायो ।

 
‘क्षत्रीहरूले आफूलाई समयानुकूल नसच्याउने हो भने अहिले दलित मानिएको समुदायको भन्दा गएगुज्रेको सामाजिक आर्थिक हैसियतमा पुग्ने निश्चित छ,’ भनेर कमलादिस्थित क्षत्री महासंघको केन्द्रीय कार्यालयमा आयोजित एउटा कार्यक्रममा उपभोक्ता अधिकार स्थापनाका चर्चित अभियन्ता तथा स्थापित अधिवक्ता ज्योति बानियाँबाट व्यक्त भनाइको यतिखेर स्मरण भैरहेको छ । तथ्यांकविभागको आँकडाअनुसार क्षत्री समुदाय नेपालको सबभन्दा ठूलो जात समुदाय मानिन्छ । हिजो नेपाल नामको राज्य निर्माणको गोर्खाली अभियानमा सबभन्दा बढी रगत बगाएको समुदाय पनि त्यही थियो । यतिखेर त्यही राज्यको पुनर्संरचना भएर सातवटा प्रदेशहरूमा विभाजित भएको छ । प्रदेशहरूको निर्वाचन सम्पन्न भएर सरकारहरू पनि गठन भैसकेका छन् । ठूलो समुदाय, आफ्ना पुर्खाले रगत पसिना बगाएर निर्माण गरेको राज्यमा अब सात सातवटा सरकारहरू बन्ने भए तर तीमध्ये एउटाको मुखियाली पनि क्षत्रीसमुदायको पोल्टामा नपर्ने भो । केन्द्रसरकारको मुखियाली त आकाशको फल भैहाल्यो, सात प्रदेशमध्ये एउटामा पनि क्षत्रीसमुदायको मुख्यमन्त्री चुनिएन । हो, मुख्यमन्त्रीको पद जात, वर्ण वा जातिका नाममा भागबण्डा गरिएको होइन तर देशकै सबभन्दा ठूलो समुदायले मुख्यमन्त्रीमा दाबा गर्ने योग्यता पुगेको एउटा सपूत जन्माउन नसक्नु दुर्भाग्यको कुरा होइन कसरी भन्न मिल्छ र ? अन्यत्र त अन्य जातजातिसँगको प्रतिस्पर्धामा क्षत्रीहरू उत्रन सकेनन् होला तर ६ र ७ नम्बर प्रदेशमा त क्षत्रीहरूको जनसंख्या ३० प्रतिशतभन्दा बढी थियो ! ती प्रदेशहरूमा पनि क्षत्रीले प्रदेशको नेतृत्व लिन सकेन । त्यसको अर्थ आर्थिक सामाजिक हिसाबले क्षत्री समुदाय कति पिछडिएको रहेछ भन्ने कुराको ज्युँदो प्रमाण हो यो । यही परिदृश्यले ज्योति बानियाँको त्यतिखेरको चेतावनी स्मरण गर्नुपर्ने अवस्था उत्पन्न गराएको हो ।

 
एकताका खास गरेर, पोखरा केन्द्र बनाएर गठन भएको क्षत्रीसमाज निकै जागेको थियो । त्यसले संघीयताको विरोध ग¥यो ! प्रदेशविभाजनको विपक्षमा रहेका चित्रबहादुर केसीको कित्तामा आफूलाई उभ्यायो ! जनजाति, दलित, महिला र पिछडिएको क्षेत्रबाट उठेका आन्दोलनहरूको विरोध ग¥यो ! दौरासुरुवाल र तरबारको प्रदर्शन गर्ने सिलसिलामा राजधानीको टुँडिखेलमा धुलो उडायो । जनस्तरबाट उठेको समानुपातिक प्रतिनिधित्वको प्रस्तावलाई वाहियात भन्यो ! समावेशी सिद्धान्तको बर्खिलापमा उभियो ! जाति जानजातिसँग कुम जोडेर समानुपातिक प्रतिनिधित्वको विभाजन वितरणमा आफ्नो भाग सुनिश्चित गर्नु बुद्धिमानी हुनेछ भन्ने सल्लाहलाई व्यर्थ ठह¥यायो । आन्दोलन कसका विरुद्ध वा केका लागि भन्ने गाँठी खुट्याउन नसक्ने अल्प बुद्धिका क्षत्रीअभियन्ताहरू यतिखेर एमाले र काँग्रेसका आँगनमा बसेर याचनाको कमण्डलु थाप्नुपर्ने दयालाग्दो अवस्थामा पुगेका छन् । संविधानमा ‘खस–आर्य’ नामको ठिमाहा जातिको परिभाषा दिइएको छ । त्यसमा आर्य नाममा मालिक र खस नाममा चाकरहरू सामेल गरिएका छन् । आफ्नो अल्पदृष्टिका कारणले क्षत्रीहरूले आफूलाई दोस्रो कित्तामा उभ्याएका छन् । त्यसैले अब गौरवका साथ ‘म खस हुँ’ भन्ने वातावरण रहेन । बनाइएन । म फेरि पनि खस्यौटोको खस्यौटो नै रहेँ । संविधानले मलाई क्षत्री नामको दुई नम्बर कित्तामै थचा¥यो । आर्य भनेको बाहुन–ठकुरी भन्ने कुरा संविधानतः स्थापित गराइयो । क्षत्री माने खस्यौटो भन्ने कुरा व्यवहारतः प्रमाणित भएरै छोड्यो । चाहेर पनि खस बन्ने मेरो आकांक्षा अधूरै रह्यो । सिंगै क्षत्रीसमाजले आफ्नो पहिचान स्थापित गर्न रुचाएन । म एकजनाको के कुरा भो र ?!

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here