काठमाडाैं । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले हिजाे ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेकाे छ।
न्यूयोर्कमा भएकाे कार्यक्रममा गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागिता रहेकाे थियाे।
एनआरएनए न्यूयोर्क च्याप्टरकातर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससंग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।
उनले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली वस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
यस्तै, कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए।
अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझबढी योगदानका लागि नेपाली समुदायलाई उनकाे आग्रह थियाे।
कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली वस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय व्यक्तिहरूकाे उपस्थिति थियाे।


















