संघर्षका बीच सफल बन्दै प्रिति रमण

386

नेपालजस्तो कम विकसित मुलुकमा कुनै पनि व्यक्ति सफल बन्नका लागि ठूलो संघर्ष गर्नुपर्छ । अझ महिलाहरुलाई त घरबाहिर निस्केर काम गर्नलाई ठूलो साहस जुटाउनुपर्छ । तर, यस्तो कठिन परिस्थितिमा पनि हामीमाझ थुप्रै महिलाहरुले सफलता प्राप्त गर्न सकेका छन् । आफूमाथिको आत्मविश्वास, निरन्तरको मेहनत र कडा संघर्षबीच आफूलाई सफलताको उचाइमा पु¥याउन सफल महिलामध्येकी एक हुन्, प्रिति रमण ।
हाल काठमाडौंको कुलेश्वरकी स्थायी बासिन्दा प्रिति रमण एकल आमा पनि हुन् । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनको वैवाहिक जीवन सुखद हुन सकेन । फलस्वरुप आफ्नो श्रीमान्सँग छुट्टिएर बसेकी उनी आफ्ना दुई छोरीको भविष्य बनाउन अनवरत लागिरहेकी छिन् । उनी भन्छिन्, ‘सानै उमेरमा मेरो विवाह भयो । त्यतिबेला म ९ कक्षामा अध्ययनरत थिएँ । मैले एसएलसीपछि छोरीलाई जन्म दिएँ । दुई छोरीको जन्म भएकाले मैले भेदभाव सहनु प¥यो । त्यसपछि मैले अलग्गै बस्ने निर्णय गरेँ ।’

 
उनलाई उनको माइतीपक्षबाट पूरा सहयोग मिल्यो । एकातिर वैवाहिक जीवनको समस्या र अर्कोतिर छोरीहरुको लालनपालनका कारण उनले त्यसबेला स्नातक तह पास गर्न सकिनन् । तर, पनि उनले हिम्मत हारिनन् । निरन्तर अध्ययनमा लागेकी उनले विभिन्न विषयमा मास्टरडिग्री हासिल गर्न सफल भइन् । उनले हेल्थ एजुकेशनमा मास्टर डिग्री (एमएड) गरेकी छिन् भने हस्पिटल म्यानेजमेण्टमा पनि मास्टर डिग्री गरेकी छिन् । त्यस्तै, उनको विशेष क्षेत्र एचआईभी एड्सको क्षेत्र हो, ग्लोबल फण्डमा एचआईभी एड्सको क्षेत्र हेर्ने कामसमेत गरेको अनुभव उनीसँग छ ।
सानैमा शिक्षामा आएको उतारचढावका कारण आज पनि उनी अध्ययनरत नै छिन् । हाल उनी काठमाडौंको ल क्याम्पसमा एएलबी सकेर एलएलएम गर्दै छिन् । उनले विशेष शिक्षाहरु दिल्लीको इन्दिरा गान्धि विश्वविद्यालयबाट लिएकी छिन् । हाल उनी कुलेश्वरमा नै रहेको बलभद्र बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रुपमा कार्यरत छिन् । त्यस्तै, नेपाल तराई राष्ट्रिय परिषद् क्रियाशील सदस्य पनि हुन् उनी ।

 
उनी आफ्नो जीवनमा संघर्ष निकै गर्नुपरे पनि कहिल्यै हिम्मत नहारेको जनाउँछिन् । माइतीमा बसे पनि उनी आर्थिक भार पार्न चाहन्नथिन् । साथै, उनी एकल भएकाले छरछिमेकले पनि नानाथरि कुरा गर्थे । त्यति हुँदा पनि उनले आफूलाई कमजोर हुन दिइनन् । उनी भन्छिन्, ‘एक समय म बिहान ताहाचल क्याम्पसमा पढ्थेँ । दिउँसो ब्युटिपार्लरमा काम गर्थें ।’ त्यस्तै, उनले स्कुल तथा कलेजहरुमा पनि अध्यापन गराइन् । तर, उनले शिक्षालाई छोडिनन् । त्यसपछि उनले एकपछि अर्को सफलता प्राप्त गर्दै आइन् । पछिल्लो समय उनलाई कानुन विषयको बारेमा पनि महिला जानकार हुनुपर्ने महसुस भयो । विगतमा आफूले पाएको अपहेलना, भेदभावलगायतका कारण महिला कानुनी रुपमा पनि सबल हुनुपर्ने भावना उनमा जागृत भयो । भोलि कुनै पनि कानुनी कामकारबाहीमा आफूलाई अप्ठ्यारो नहोस् भन्ने दृष्टिकोणका साथ उनले कानुन विषय पनि पढ्न थालिन् ।
नेपालको सन्दर्भमा धेरै महिलाहरु अझै पनि विभिन्न समस्याका कारण दुःखदायी जीवन व्यतित गरिरहनु परेको उनको धारणा छ । महिलाले समस्या भोग्नुमा पहिलो कारण उनी शिक्षाको अभाव मानिन्छन् । नारीलाई अर्काको घरमा जाने जात भन्दै शिक्षा नदिने, भेदभाव गर्ने मानसिकता परिवर्तन गर्न सके मात्र महिलाहरुको अवस्थामा सुधार आउन सक्ने उनको भनाइ छ । त्यसकारण उनी पनि महिलाहरुको सहयोग गर्न आफू सधैं तत्पर हुने जनाउँछिन् । उनले आफ्नो वित्तीय संस्थाबाट धेरैभन्दा धेरै महिलालाई ऋण सहयोग गरी उद्यमशील बनाउन प्रयत्न गर्दै आएको जानकारी दिइन् ।
उनले महिलाले पुरुषको सहारामा वा छत्रछायामा पनि बाँच्नुपर्ने भावना त्याग्नुपर्ने जनाउँछिन् । महिलामा आत्मविश्वास, शिक्षादीक्षाको कमीका कारण पनि उनीहरु घरेलु हिंसा सहेर बस्न बाध्य रहेको उनको धारणा छ । त्यसकारण महिलाले सबैभन्दा पहिले आफूमाथि नै विश्वास गर्नुपर्ने सुझाव दिन्छिन् उनी । निरन्तर संघर्ष, मेहनत र सही मार्गदर्शनका कारण आफू अहिलेको स्थानमा आएको भन्दै उनले आफ्नी छोरीहरुलाई पनि कहिलै आफूलाई कमजोर नसोच्न र आफूमाथि विश्वास राख्न सिकाउने गरेको जनाउँछिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here