समाजसेवामा समर्पित व्यवसायी अस्मिता

452

नेपालको सफल महिला उद्यमी, व्यवसायी तथा समाजसेवी हुन् अस्मिता सुमार्गी । साहित्यमा पनि रुचि भएकी उनी नेपालका सफल र परिचित व्यवसायी अजेयराज सुमार्गीकी धर्मपत्नी हुन् । सामान्य रुपमा आफ्नो जानकारी दिँदा उनी भन्छिन्, ‘म गीत, कविता लेख्छु, समाजसेवालाई कर्तव्य ठान्छु र व्यापार व्यवसायमा अलि व्यस्त नै रहन्छु ।’
उनले सानै उमेरदेखि नै आफूलाई समाजसेवामा समर्पित गर्दै आएकी छिन् । उनले भनिन्, ‘समाजसेवा सुरु गरेको यही बेलादेखि नै भनेर मैले कुनै मिति याद गरिनँ । तर, कलिलो उमेरमै बिहेर भएर घर आउँदा मेरो सासुआमा विश्वकान्ति कलावतीले समाजमा पीडामा परेका महिलाहरुका समस्या बुझेर न्यायका लागि सम्बन्धित ठाउँसम्म पु¥याउने गरेको देख्दै आएँ । हक्की, साहसी भएर उहाँले समाजका धेरै समस्या र अरुका पीरमर्का बुझ्ने गर्नुहुन्थ्यो । उहाँको संगतले गर्दा होला मेरो स्वभावमा पनि समाजसेवा कर्तव्य बन्दै गएको छ । खासगरी म त्यसमा पूर्णरुपले नै समर्पित छु । जहाँ जे गर्न सकिन्छ, त्यो गर्न भावना चाहिन्छ । मलाई यस्ता काम गर्न पाए आनन्द लाग्छ ।’

 
उनी समाजसेवाका सबैभन्दा अविस्मरणीय क्षण सम्झिनुपर्दा २०७२ सालको भुइँचालोले घरबार परिवार गुमाएर बिचल्लीमा परेका दुर्गम पहाडीभेगका मान्छेहरुको अवस्था सम्झिँछन्, जुन सम्झिँदा उनलार्य अहिले पनि दुःख लाग्छ । ‘त्यतिबेला सबैतिर खाने लाउने कुरा, पिउने पानी, उपचारसेवादेखि अरु थुप्रै कुरा चाँडोभन्दा चाँडो पु¥याउनुपर्ने अवस्था थियो । जजसले जेजे सहयोग गर्न सक्यो छिटो गर्नुपरेको थियो । हामीले पनि तत्काल जेजे आवश्यक परेको थियो । ती सामग्रीसँग महिलाहरुलाई अति आवश्यक पर्ने स्यानिटरी प्याड बाँड्यौं । प्रत्येक महिना महिनावारी हुँदा घरबाहिर बस्नुपर्दा महिलाको स्वास्थ्य समस्यालाई ख्याल गर्दै हामीले स्यानिटरी प्याड बाँडेका थियौं । महिलाको दैनिक जीवन सजिलो बनोस् भनेर हामीले धेरै ठाउँमा यो सामग्री बाँड्यौं ।’

समाजसेवाको क्षेत्रमा पनि उनले आफूलाई महिला तथा बालबालिकाको क्षेत्रमा केन्द्रित गरेकी छिन् । उनको विचारमा नेपालमा सर्वसाधारण महिलाको अवस्था एकदमै दयनीय छ । तर, उनी आफूलाई आशावादी नारी ठान्छिन् र यो विषय धेरै चिन्ता गर्नुपर्ने नरहेको जनाउँछिन् । ‘नेपालमा महिलाले गर्न नसक्ने केही काम बाँकी छैन जस्तो लाग्छ । पुरुष सँगसँगै महिलाले धेरै काम गरिरहेका छन्,’ उनले भनिन्, ‘समस्या चेतनामा छ, शिक्षामा छ । अहिले धेरै महिलाले आफूले कमाएको पैसा कसरी बचत गर्नुपर्छ भन्ने बुझिसकेका छन् तर बचतलाई सही ठाउँमा सदुपयोग कसरी गर्ने भन्ने कुरामा चेतना आउन बाँकी नै छ । आफूले जति कमायो त्यो कमाएको पैसा सबै पुरुषलाई दिने गर्छन् । आफैले कमाएर हातमा पैसा भएपछि महिला सशक्त भए तर चेतनाको अभावमा त्यो पैसाको दुरुपयोग भइरहेको छ ।’ उनी नेपालमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले पिछडिएका स्थानमा गएर महिलालाई पैसाको सदुपयोग गर्नेतर्फ काम गर्नुपर्ने विचार राख्छिन् । ती संघसंस्थाहरु यस्ता विषयमा अरु बढी काम गर्न सकेमा धेरै सुधार आउन सक्ने उनको धारणा छ ।
त्यसो त उनी आफैं पनि विभिन्न संघसंस्थामा आबद्ध भएर महिलाको क्षेत्रमा काम गर्दै आएकी छिन् । ‘मलाई लाग्छ नेपालमा पिछडिएका सबै ठाउँमा महिलाको अवस्था अझ दयनीय होला । शिक्षा र चेतना पुगेको ठाउँमा महिलाहरु धेरै अगाडि छन् । हामीले महिलाहरुलाई उद्यमी बन्ने तालीम दिँदै आएका छौं । यस्ता तालीमले महिलाको आत्मबल पनि बढाएको छ । उनीहरुको सीपबाट बनेका सामानहरु आफैले बजार व्यवस्था गरिदिनुपर्छ । उनीहरुलाई उद्यमी कसरी बन्ने भन्ने विषयमा तालीम र मार्गदर्शन दिन आवश्यक छ । तालीम दिएपछि बजारको व्यवस्था पनि गरिदिन सकेका मात्र महिलाको सीपको सदुपयोग हुनसक्छ,’ उनले भनिन् ।


शिक्षा र चेतना नपुगेको ठाउँमा महिलाका समस्या अनेकौं हुने उनको धारणा छ । नेपालमा चेलीबेटी बेचबिखन समस्या पनि पर्याप्त शिक्षा र चेतना नपुगेर भएको उनको ठम्याइ छ । तर, शिक्षा र चेतना पुगेको ठाउँमा महिलालाई अरु कुरा बुझाउन सजिलो हुने उनले अनुभव गरेकी छिन् । उनले भनिन्, ‘शिक्षा र चेतना नपाएका महिलाको अवस्था कमजोर भएको हुन्छ । सजिलै फकाइमा फस्न सक्छन् । यस कारणले चेलीबेटीहरु बेचिएका छन् । शिक्षा, चेतना र बेलाबेलामा क्षमता विकासका तालीमहरु दिँदै गर्दा महिलाहरुमा आत्मबल बढ्छ । यसले सोचमा परिवर्तन ल्याउन सक्छ । आफ्नो क्षमताको मूल्यांकन गर्न सकेका महिलाको अवस्था माथि उठेको छ ।’

 
देशको वर्तमान ठूलो समस्यामा उनलाई रोजगारी र युवाशक्तिको बढ्दो विदेश पलायन हो जस्तो लाग्छ । ‘हाल सरकारले रोजगारी दिन नसक्दा युवाहरु विदेश जान बाध्य भएका छन् । विकासका कामहरु जहाँ जे आवश्यक छ, त्यहाँ सरकारले काम थाल्न सकेको छैन । त्यहाँ हामी नागरिक आफैले पनि आफ्नो कर्तव्य बिर्सिन्छौं । हामी पनि सबै काम सरकारको नै हो भन्ने ठान्छौं । यस्तो मानसिकताले गर्दा नेपालका सबै ठाउँबाट अहिले युवाहरु विदेश जाने गरेका छन् । युवाको रोजगारीको समस्या नेपालमा सबैभन्दा ठूलो समस्या बनेको छ । आशावादी भएर हेर्दा नेपालमा युवाले गर्नसक्ने धेरै क्षेत्रहरु छन् । हामी नेपालीमा एउटा सबैभन्दा ठूलो रोग छ, त्यो के भने हामी मेहनत त गर्छौं तर त्यस काममा धैर्यधारण गरेर पर्खिन सक्दैनौं । छिटो फल खान चाहने स्वभाले गर्दा कुनै पनि काममा दिगो भएर लाग्न नसक्दाको परिणाम अहिले सबै युवा विदेश जान थालेका छन्,’ उनले भनिन्, ‘यहाँ धेरै सम्भावनाहरु छन् । भर्खरै प्रदेशहरु बनेका छन् । त्यहाँ विकासका कामहरु धेरै गर्न बाँकी छ । युवाले यस सम्भावनालाई हेर्न सक्नुपर्छ ।’

व्यापार व्यवसाय र समाजसेवाबाट फुर्सद पाएको बेलामा उनी गीत र कविता लेख्छिन् । उनले भनिन्, ‘गीत सुन्छु । मलाई गीत सुन्न पाउँदा आनन्द लाग्छ । सबै थोक बिर्सिन्छु, त्यतिबेला । किताब निकाल्दै छु । साहित्य मन पर्छ ।’ उनले आफूलाई काम गर्नका लागि चौबीस घण्टाको समयले पनि नपुगेको जनाउँछिन् । ‘परिवारका लागि समय सधैं कम भएजस्तो लाग्छ । परिवारको साथमा घुम्न जाने, आफन्तसँग बसेर समय बिताउने मन जसलाई पनि हुन्छ । व्यस्तताकै बीचबाट समय निकाल्नपुर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here