हामीले ओली र मोदीको विरोध किन गर्ने ?

140

–निमकान्त पाण्डे
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धार्मिक भ्रमण भनिएको नेपाललाई अत्यन्त विवादित बनाउने सुनियोजित भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको पनि एक साता बितिसकेको छ । तर मोदीको भ्रमणबाट तरंगित नेपालको राजनीति बहसमा उत्रिएको छ । एकातिर प्रधानमन्त्री ओलीले आफ्नै देशका मुख्यमन्त्रीबाट अभिव्यक्त भनाइको खण्डन गर्नु परिरहेको छ, अर्काेतिर मुख्यमन्त्री स्वयंले आफ्नो गल्तीलाई स्वीकार्ने र सच्याउने तर्पmभन्दा नेपालका प्रधानमन्त्रीलाई नै होच्याएर आपूm माथि बन्न खोजिरहेको अवस्था छ । अर्कातिर मोदी र ओलीको सम्बन्धबाट नेपाल–भारत सम्बन्ध सुमधुर भएको भन्दै प्रधानमन्त्री ओलीबाट दावी गरिएको र मोदीको स्तुति गान भइरहेको पाइन्छ । देशभित्र विद्यमान यस्तो अवस्थाप्रति चिन्तनशील व्यक्तिहरूबीच बहस चल्नु स्वाभाविक हो । परन्तु बहस यथार्थभन्दा धेरै बाहिर गएर भइरहेको छ, जो देशको लागि दुर्भाग्यपूर्ण हो ।

 
भारतले नेपालविरुद्ध धेरैपटक नाकाबन्दी लगाइसकेको छ । पछिल्लोपटक २०७२ सालमा लगाइएको नाकाबन्दी भारतले लगाएको होइन भन्ने खालका कुतर्क गर्ने नेपाली ‘विद्वान्’ पनि पाइएका छन् । यी नेपाली विद्वान् हुन् वा नरेन्द्र मोदीका दास हुन् भन्ने कुरा बुझ्न सकिएको छैन । नरेन्द्र मोदीकै विदेशमन्त्री सुषमा स्वराजले भारतको संसद्मा नेपालमाथि नाकाबन्दी लगाउनुपर्नाको कारणबारे स्पष्ट पारेकी थिइन् । उनले नाकाबन्दी यसअघि पनि लगाइएको कुरा विस्तारपूर्वक व्याख्या गरेकी थिइन् । पछिल्लोपटक नाकाबन्दी लगाउन पर्नाको कारण संविधानसभाबाट जारी गरिने संविधानमा भारतको सुझावलाई बेवास्ता गरिएको कुरा प्रष्टसाथ राखेकी थिइन् । भारतीय सञ्चारमाध्यमहरूमा निकै महत्वका साथ प्रसारित र प्रकाशित भएको स्वराजको अभिव्यक्ति अहिले पनि युट्युबहरूमा देख्न र सुन्न पाइन्छ । भारतका छापा माध्यमहरूमा समेत स्वराजका ती अभिव्यक्ति सुरक्षित रहेका छन् । भारतले नाकाबन्दी लगाएको होइन, हामीले आन्दोलन गरेर आयात बन्द गरेका हौं भन्दै नेकपा (एमाले)को सहयोग र समर्थनमा व्यवस्थापिका–संसदको सदस्यमा निर्वाचित मधेसी नेता राजेन्द्र महतोले सगर्व दाबी गरिरहेका छन् । ‘नेपालका नेता’को हैसियत बनाएका महतोले सुषमा स्वराजबाट व्यक्त गरिएको भनाइलाई कसरी खण्डन गर्न सक्लान् ?

 
पंक्तिकारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै सम्मानित नेता लाग्दछन् । त्यतिकै सम्मानित नेता हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली पनि लाग्दछन् । यी दुवै नेताको मित्रता भइदिनु सुखद पक्ष हो । स्वागतयोग्य पनि हो । परन्तु यी दुवैबीचको मित्रता नेपालको हितमा हुँदैन भने नेपाली जनताले यो मित्रतालाई मित्रता होइन, दुर्भाग्यपूर्ण सहकार्य ठान्नुपर्ने हुन्छ ।

 
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरेको एक महिना बित्दानबित्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुले पक्कै पनि दुई देशका प्रधानमन्त्रीबीचको मित्रतालाई संकेत गर्दछ । यो अनुमानलाई गलत भन्न सकिंदैन । ओलीको भारत भ्रमणबाट नेपालले के पायो ? र मोदीको नेपाल भ्रमणबाट नेपालले के पायो ? अर्थात् यी दुवै प्रश्नहरू भारतको सवालमा राख्दा भारतले के पाएन भनेर सोध्नुपर्ने हुन्छ । ओलीको भारत भ्रमणका क्रममा भारतले नेपालमा रेल सेवा पु¥याइदिने र नेपालमा पानीजहाज पनि पु¥याइदिने भन्ने कुराले निकै महत्व पायो । पानीजहाजको चर्चासँगै कोशी उच्च बाँधको कुरा पनि आएको छ । तराईवासीहरूलाई उक्साएर नेपालमा विखण्डन गराउन खोजिरहेको भारत सरकारले तराई क्षेत्रलाई जलमग्न गराएर तराईवासीहरूको उठिबास गराउने योजना बनाइरहेकोतर्पm मधेसी नेताहरूको ध्यान पुगेको छैन । तराई क्षेत्र नडुबेर पानीजहाज ल्याउने कसरी ? यो भोलिको कहालीलाग्दो दृश्यको परिकल्पना कसैले गरिरहेका छैनन् । त्यसैले ओलीको भारत भ्रमणबाट नेपालले कुनै लाभ पाएको भन्न सकिने अवस्था छैन । रेल र पानीजहाज उधारो सहयोग लिएर नेपाल फर्किएका प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सुमधुर सम्बन्ध विकास भएको भनी नाक फुलाउनुपर्ने कुनै आवश्यकता देखिंदैन । भारतले दिएका सहयोगका आश्वासनहरू दर्जनौं चाङ लागेका छन् । अरु त अरु भूकम्प पीडितहरूलाई सहयोग गर्ने भनी भारतले दिएको वचन समेत एक प्रतिशत पनि उपलब्ध गराएको छैन । अन्य आश्वासनहरूको कुरै नगरौं ।

 
भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भारतलाई भन्दा नेपाललाई आवश्यक छ । नेपालको विकासका निम्ति भारतसँग सम्बन्ध बनाउनै पर्ने आवश्यकताबोध नेपालको इतिहासमा लामो समयदेखि नै हुँदै आएको हो । भारत स्वतन्त्र हुनु अगावैदेखि नै बृटिश शासकहरूसँग पनि नेपालसँगको सम्बन्धले युद्धसमेत खेप्नुपरेको हो । भारत कब्जा गरेर बसेका बृटिश शासकहरूले नेपाली भूमि कब्जा गरेर लगेका हुन् । भारतलाई स्वतन्त्र गराउन नेपालका नेताहरूको ठूलो भूमिका रह्यो । महात्मा गान्धीको ‘जेल भरो’ आन्दोलनमा नेपालका नेताहरूले सहयोग पु¥याएको इतिहास मेटिएको छैन । परन्तु नेपालका नेताहरूले पु¥याएको योगदानको कदर भारतीय नेताहरूले गर्न जानेनन् । बृटिश शासकहरूले भारत स्वतन्त्र छोडेपछि नेपाली भूमि स्वाभाविक रूपमा नेपाललाई प्राप्त हुनुपर्ने हो, यो बोध भारतीय नेताहरूले किन गर्न सकेनन् ? भारतका नेताहरूसँग नेपालका नेताहरूले आफ्नो देशको हितका निम्ति कुरा राख्नसमेत हिम्मत नगर्नुको कारण के हो ? नेपालको हित कसरी हुन्छ भन्ने कुरा नेपालका नेताहरूलाई जानकारी नभएको विषय अवश्य होइन ।
भारत र नेपाल खुला सिमाना भएका दुई मुलुकबीचको सम्बन्ध त्यसै पनि सुमधुर छ । भारत र नेपालका जनताबीचको सम्बन्ध यी दुवै देशका सरकारहरूले चाहेर पनि विखण्डित गराउन सक्ने अवस्था छैन । भारत र नेपालबीच धार्मिक सामीप्यता छ, भाषिक सामीप्यता छ, सांस्कृतिक सामीप्यता छ, शैक्षिक सामीप्यता छ र सबैभन्दा महत्वपूर्ण सामीप्यता पारिवारिक पनि छ । यही पारिवारिक सामीप्यतालाई ‘रोटी र बेटी’को सम्बन्ध भनेर पटक–पटक उच्चारण गर्ने गरिन्छ । यस्तो सामीप्य सम्बन्धलाई मोदी र ओलीले चाहे पनि टुटाउन सक्ने अवस्था छैन ।

 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको जनकपुरमा आएर अभिनन्दित हुन मन लाग्यो । त्यही जनकपुर क्षेत्रबाट आन्दोलनको उठान गराएर नाकाबन्दी लगाउन सफलता प्राप्त भएको मोदीको नेपाललाई पराधीन बनाउने सोचाइ साकार हुन अझै धेरै समय लाग्ने उनीहरूको निष्कर्ष छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । मोदीको अभिनन्दनमा वाचन गरिएको अभिनन्दनपत्रमा नेपालको संविधान र नेपाल सरकारको आलोचना गरिएबाट पनि बुझ्न सकिन्छ, त्यो अभिनन्दनपत्र भारतबाटै मस्यौदा भएर आएको थियो । नेपालको भूगोलमा नेपालकै विरुद्ध वाचन गरिएको अभिनन्दन पत्र सुनेर छिमेकी देशको प्रधानमन्त्री आनन्दित हुनु राम्रो संकेत अवश्य होइन । नेपालको सुरक्षा निकायलाई सडकमा कुचो लगाउन खटाएर भारतीय सुरक्षा निकायको चहलपहल बढाइएको अवस्थाले सन्देश के दियो ? यो प्रश्न नेपालका प्रधानसेनापतिलाई सोध्नुपर्ने अवस्था छ ।

 
सार्क सम्मेलनमा सात मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको उपस्थितिलाई सुरक्षित बनाउन सक्षम रहेको नेपालको सुरक्षा निकायको मनोबल खस्काउने गरी भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मोदीको भ्रमण कति स्वाभिमानी र लाभप्रद भयो नेपालका लागि ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अभिनन्दन गर्ने र स्वागत गर्ने नेपालका पदासीन व्यक्तित्वहरूका सामु झुकेर अभिवादन ग्रहण गरेका तस्बिरहरूलाई लिएर ‘नेपालका विद्वान्’हरूले मोदीको गुनगान र स्तुतिगान गरिरहेको पाइन्छ । मोदीका सेनाले नेपाली धर्तीमा बुट बजारेको दृश्यले मोदीको शिर झुकेको देखाउँछ कि मोदी भुकेको देखाउँछ ? मोदीले निकै पहिलेदेखि चाहना गरेको अरुण तेस्रो प्राप्त गरेका छन् । अरुण तेस्रो नेपालले आफै बनाउन सक्ने जलविद्युत् आयोजना हो । किन भारतलाई दिइयो ? यो प्रश्न मोदीसँग सोध्ने कि ओलीसँग सोध्ने ? नेपालको जलस्रोतमा कब्जा जमाउन पाएपछि नेपालका मूर्खहरूलाई नमस्कार मात्र के खुट्टामै ढोगे पनि मोदीको केही जानेवाला छैन । दैनिक उपभोग्य वस्तुहरू र पेट्रोलियम पदार्थमा नाकाबन्दी गरेर नेपाली जनतालाई संकटग्रस्त बनाउन सफल भएको भारतले अब केही वर्षपछि विद्युत् सप्लाइमा पनि नाकाबन्दी गर्न सक्ने हैसियत बनाउने निश्चित भएको छ । नेपाली जनताका आउँदा दिनहरू अझै दुर्भाग्यपूर्ण देखिँदै छन्, सबैलाई चेतना भया !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here