मोदीले नेपालबाट कामधेनुको महादान थापेर गए

220

चन्द्रप्रकाश बानियाँ
मोदी फर्केको साता बितिसक्यो । उनको तेस्रो नेपाल भ्रमणको रन्कोले नेपाली समाज तरङ्गित हुँदै छ । हामी नेपालीहरू अलि बढी नै आशामुखी छौं । कतैबाट झरिहाल्ला कि भनेर आशा गर्ने हाम्रो सदाबहार चरित्र बनेको छ । मागेर खाने बानी लागेपछि मानिस लाजमर्दो गरी अल्छी बन्दोरहेछ । देशमा उद्यम पौरख गर्ने, उत्पादन र निर्यात बढाउनुपर्ने कुरातिर हाम्रो ध्यान जाँदैन । बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि व्यापार साझेदारसँग निहोरा गर्छौं । बन्दव्यापार अनुदानको विषय होइन भन्ने सामन्यज्ञान हामीसँग छैन । मोदी आए, गए । बोलाइयो आए, स्वागतसत्कार थापे हिँडे । उनैका निमित्त भनेर अरुण–३ को संयुक्त उद्घाटनको दिल्ली कार्यक्रम स्थगित गरिएको थियो । प्रधानमन्त्रीका अन्धभक्त हाम्रा साथीहरूमध्ये कैयौंले स्थगित भएको संयुक्त उद्घाटनमा समेत ‘उधुमको राष्ट्रवाद’ देख्न भ्याएका थिए । त्यसलाई ओलीको प्रशंसाको पुल बाँध्ने विषय बनाइएको थियो । जनताका प्रतिनिधिमाथि विश्वास गर्नुपर्ने अखण्ड राग अलापियोे । विश्वास गर्नका लागि पनि त व्यक्तित्व र कृतित्व विश्वसनीय हुनुपथ्र्यो । विगत भरोसालाग्दो हुनुपथ्र्यो । बैकुण्ठ जाने अवसर पाउँदा ‘सुँगुरले मानवविष्टा’ को उपलब्धताको सुनिश्चितता खोजेको पौराणिक कथा त्यसै लेखिएको होइन । मानिसको प्रवृत्ति कहिल्यै फेरिदैन । भैगो, त्यो विषयमा अब माथापच्ची गरिरहनुपर्ने रह्यो जस्तो लाग्दैन । कागले जन्मदेखि मरणसम्म बोल्न जान्ने भनेकै ‘काग ! काग !’ नै त हो । रङ्ग कालो हुँदैमा कागले कोकिलकण्ठी मधुर वाणी निकाल्न सक्तैन । खोई ! भविष्यमा के होला कुन्नी ? तत्कालको लागि मोदीभ्रमणले ‘नेपालीलाई दिएर होइन, नेपालबाट लिएर गयो’ भन्दा फरक पर्दैन । जानकी मन्दिरको नाममा एक अर्ब रूपैयाँ दान गरेका मोदीले २५ वर्षसम्म सालिन्दै ४०० अर्ब रूपैयाँ दिने अरुण– ३ नामको कामधेनु लिएर गए ।
हाम्रा प्रधानमन्त्रीले उताको थकाई राम्रोसँग मेट्न नपाउँदै मोदी यता आइहाले । ‘आउँछु’ भनेपछि नाइनास्ती गर्न मिल्ने । त्यसैले हतारोमै आयोजना गरिएको उनको यो भ्रमणले निश्चिय नै विशेष अर्थ राख्छ होला भनेर अनुमान गर्न सकिन्छ । मुख नखोले पनि नाकाबन्दी लगाउनु ‘गल्ती भयो’ भन्ने अनुभूति भारतले गरेको रहेछ भन्ने आशय जाहेर मोदी भ्रमणले ग¥यो । अपराधबोधले उनलाई मनमनै छटपटिनुपर्ने अवस्थामा पु¥याएको रहेछ । हिजो दिएको नेपाली मनको घाउमा मलमपट्टी के हुन्थ्यो र ? मायालु हातले मुसार्ने सुम्सुम्याउने प्रयत्नसम्म गरियो । आर्थिकरूपमा देशले अर्बौंको क्षति बेहो¥यो । नेपाली मनहरू कुण्ठित भए । भारतीय संस्थापनले दिएको गहिरो घाउमा गतिलोसँग खाटा बस्न पनि पाएको छैन । छिमेकीप्रतिको घृणा र वितृष्णाभाव मेटिएको छैन । उसले दिएको दुख कष्ट जनताले नबिर्से पनि सत्ताले भने भुसुक्क बिर्सेछ । ‘त्वम् शरणम्’ को मुद्रामा लम्पसार पर्न आतुर रहेछ । साष्टाङ्ग दण्डवत्का लागि मनैदेखि तयार भइसकेको रहेछ । सत्ताले यसपटक दुनियाँले चालपाउने गरी मोदीको तलुवा चाट्यो । लाजै नमानीकन जिब्रो पट्काइ पट्काई चरणामृतको स्वाद लियो । कथित ‘राष्ट्रवादी टीका’ छपक्कै छोपिने गरी चरणधुलीको फोहर निधारमा थोप¥यो ।
अन्ध आस्थाले मानिसलाई दिग्भ्रमित बनाउँछ । अन्धभक्ति मूढता मात्रै होइन, बुद्धुपनको अब्बल उदाहरण मानिन्छ । नेपालभारतबीच विकसित भएको चिसोपनामा मोदीको यसपटकको भ्रमणले सुधार गर्न सफल भयो भने त्यो राम्रै कुरा मानिएला । सानोतिनो निहुँ काडेर पटक पटक नाकाबन्दी लगाउने भारतीय चेष्टाले हाम्रोजस्तो भूपरिवेष्ठित मुलुकलाई निसास्निुपर्ने अवस्थामा पु¥याउने गरेको छ । हाम्रा प्रधानमन्त्रीले संसदसमक्ष दावा गरेजस्तो ‘अब उप्रान्त’ नाकाबन्दीको पुनरावृत्ति भएनछ भने मुलुक र देशवासीको हितकल्याण नै हुनेछ । तर मोदी रिझाउने नाममा सत्ताले देखाएको उत्ताउलोपनले उजागर गरेको कुटनीतिक अकूशलता भने ‘लाटीको लाज’झैं जताततै छरपष्ट भएर पोखियो । नेपाली सत्तालाई नौसिखिया अनाडी सावित गरिदियो भन्दा फरक नपर्ने भएको छ ।
हुँदैन भन्ने जनस्तरको आवाजको उपेक्षा गरेर सरकारी पाहुनालाई सोझै जनकपुरमा अवरतरण गर्ने अनुमति दिइयो । वर्तमान प्रधानपन्त्रीद्वारा विदेशी सामु घुँडा टेक्ने भनेर बिल्ला भिराइएका सुशील कोइरालाले सोझै जनकपुर गएर जनतालाई सम्बोधन गर्ने मोदीको चाहना पूरा गरेका थिएनन् बरु ! त्यही कारणले नाकाबन्दीको वातावरण निर्माण भएको हो भनेर पनि अनुमान गर्ने गरिन्छ । राजकीय पाहुनाको पहिलो स्वागत राजधानीमै गरिएको भए राम्रो हुन्थ्यो । भएन, कमसेकम प्रधानमन्त्री जनकपुरसम्म नपुगेका भए के बिग्रन्थ्यो र ? जनकपुर नै जानु थियो भने पहिलो स्वागत प्रमबाट भएको भए राम्रो हुन्थ्यो । जनकपुर पुगेर पनि पहिलो स्वागतमा उपस्थित नहुनु कूटनीतिक अकुशलता होइन कसरी भन्न मिल्यो र ? त्यो त व्यर्थको दम्भ र बदलाको भावनाप्रेरित क्षुद्र चिन्तन होइन कसरी भन्नु ? रक्षामन्त्रीबाट स्वागत गराइनु थियो भने प्रधानमन्त्रीको जनकपुरको उपस्थिति व्यर्थ भयो भन्नु बढ्ता होलाजस्तो लाग्दैन ।
प्रधानमन्त्री स्वयम् उपस्थित भएको ठाउँमा रक्षामन्त्रीको उपस्थिति केका लागि थियो ? त्यो उपस्थितिको अर्थ के थियो ? बरु शान्तिसुरक्षा र भीडव्यवस्थापनको लागि गृहमन्त्रीको उपस्थितिले अर्थ राख्थ्यो होला ? मञ्चअगाडि सबैको आँखा पर्ने गरी ‘विखण्डनवादी’ हरूको सांकेतिक ब्यानर प्रदर्शन हुनु दुर्भाग्यपूर्ण विषय थियो र त्यस्तो असावधानीको जिम्मेवार को ? पुलिस प्रशासन कि रक्षा मन्त्रालय ? त्यसमाथि थप घोषितरूपमै भारतीय सैनिकदस्ता किन आमन्त्रण गरियो ? अवश्य प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा निजी सुरक्षा दस्ता, सिभिल ड्रेसमा उपस्थित हुनु अस्वाभाविक नमानिएला तर शैनिकहरूको औपचारिक उपस्थिति त्यो पनि दुनियाँले देख्नेगरी तैनाथ गर्नु हददर्जाको लाममर्दो विषय होइन कसरी भन्नु ?
नेपालका प्रधानमन्त्रीले पहिरेको कुर्ता सुरुवाललाई आलोचनाको विषय बनाउनु उपयुक्त नहोला तर राजस्थानी ड्रेसमा मञ्चारोहणको कूटनीतिक अर्थ के हो ? भारतभ्रमणको बेला मोदीले चिनीय राष्ट्रपति सीलाई जुहारी कोट उपहार दिएको कुराको नक्कल यसलाई मान्न सकिन्न । प्रधानमन्त्रीले उपहारै दिनु थियो भने लवेदासुरवाल पो दिनुपथ्र्यो । भादगाउँले टोपीको दिनुपथ्र्यो । उनकै मातृप्रदेशको पोशाक ओलीले दिनुले के अर्थ राख्छ ? चिनियाँ सरकारलाई गैडा दिनुको सट्टा रेड पाण्डा दिएजस्तै भएन र ? प्रधानमन्त्री भारतको भए पनि तिमी गुजराती नै हौ भन्ने संकेत गरेको हो कि ? अथवा तिमीलाई जस्तै मलाई पनि गुजरात ‘प्रिय छ’ भनेको हो कि ? मोदीजी गुजरातको प्रतिनिधको हैसियतले नेपाल आएका थिएनन् । उनी विशाल भारतका प्रतिनिधि थिए । गुजरातको पोशाक पहि¥याएर उनको हैसियतमा संकुचन ल्याउने प्रयत्न गरिएको होइन कसरी भन्न मिल्छ र ? मोदीलाई मुस्ताङी गोठाले टोपी उपहार दिएर मूस्ताङका एकजना लामाले हाम्रो प्रधानमन्त्रीभन्दा आफूलाई बुद्धिमान् प्रमाणित गरेका छन् । कूटनीतिको अर्थ बुझ्नमा पनि अब्बल सावित गरेका छन् भन्नु प्रधानमन्त्रीको मानमर्दन ठहर्दैन ।
प्रधानमन्त्रीको निम्तो मान्न आएका भारतीय प्रधानमन्त्री उच्चस्तरका राष्ट्रिय पाहुना थिए । उनको स्वागत सत्कारको चाँजोपाँचोको जिम्मेवारी परराष्ट्र मन्त्रालयको हुनुपर्ने हो । ‘श्राद्धको सालो’ भन्ने लोकोक्तिको झल्को दिनेगरी रक्षामन्त्रीलाई सवारीमन्त्री बनाइयो ! परराष्ट्र मन्त्रालयबाट सेन्सर गरिएको अभिनन्दनपत्र वाचन गरे वापत मुख्यमन्त्रीलाई आलोचनाको शिकार बनाइँदै छ । गल्ती आफूले गर्ने अनि दण्ड अर्काको टाउकोमा थोपर्ने नादानी परराष्ट्रमन्त्रीले फेरि अर्को एकपटक संसद्मा दोहो¥याए । लाज नभएपछि जेजे गर्दा पनि हुँदो रहेछ कि ? जनकपुरको स्वागतमञ्चमा भएको भूलको लागि जिम्मेवार परराष्ट्र मन्त्रालय हो । त्यसबापत देशवासीसमक्ष क्षमा माग्नुपर्ने परराष्ट्रमन्त्रीले हो । उनले फेरि पनि अघिल्लो दिनको प्रधानमन्त्रीको लोलीमा बोली दुरुस्तै मिलाएर उम्किनु गैरजिम्मेवारपनको पराकाष्टा होइन कसरी भन्न मिल्छ र ?
मुस्ताङमा अर्को तमासा गरियो ! आजसम्म औपचारिक रूपमा फोटो लिन प्रतिबन्ध लगाउँदै आइएको मुत्तिनाथको गर्भगृह भारतीय मिडियाहरूका लागि खुला गरियो । फोटो लिने र प्रत्यक्ष प्रशारण गर्ने अनुमति दिइयो । ‘परम्परा छैन’ भनेर सरकार (गृहप्रशासन) ले बोल्ने हिम्मत गरेका भए मोदीले ‘बलजफ्ती’ अवश्य गर्दैनथे होला । राजीव गान्धीलेझै इख पनि लिँदैनथे होला । किनकि अचाक्ली भन्न मिल्नेगरी आफूलाई धर्मभिरु देखाउने कुरामा मोदीले औधी रुचि राख्ने गरेको देखिन्छ । सदियौं अघि निर्माण भएको मुक्तिनाथ मन्दिरको गर्भगृहको समुद्घाटन मोदीको हातबाट बल्ल भयो भन्नु बढता नहोला । किनकि यसभन्दा अगाडि त्यसरी सार्वजनिक प्रदर्शनी लगाउने चलन थिएन । परम्परा तोडिए पनि एउटा राम्रो कुरा भने भएको छ । वास्तवमै तस्वीर लिनमा किन प्रतिबन्ध लगाइएको रहेछ भन्ने कुराको पोल खुलेको छ । नारायण भनेर पुजिने गरिएको मूर्ति बुद्धको पो रहेछ । बुद्धको दायाँबाँया रहेका लक्ष्मीसरस्वती भनेर पुजिने मूर्ति पनि सारीपुत्त र मौदगल्यानका रहेछन् । संसारभरकै बुद्ध मूर्तिहरूको साझा विशेषता भनेकै कान असाधारणरूपमा लामो रहनु हो । मुक्तिनाथ नारायणको मूर्तिमा पनि त्यस्तै देखियो । पुरुषका मूर्तिहरूलाई महिला भनेर पुज्ने मुर्खताको पोल पनि खोलिदियो ।

मुक्तिनाथ मूलतः बुद्ध तीर्थस्थल हो भन्ने कुरा त अहिलेसम्म पनि मूलपूजारीको जिम्मेवारी झुमाहरूमा रहनुले प्रमाणित गरिदिन्छ । १८ रौं शताब्दीमा जुम्ली राजाले मुस्ताङ कब्जा गरेपछि मुक्तिनाथलाई आफ्नो कुलदेवताको रूपमा पुज्न थालेका थिए भनिन्छ । पर्वतको सहयोगमा जुम्लाको पञ्जाबाट मुस्ताङ मुक्त भएपछि मुक्तिनाथले पुनः बुद्धतीर्थको मान्यता पायो । १९ शताब्दीको मध्यान्तरतिर मुस्ताङमाथि गोरखाले कब्जा जमाएपछि मुक्तिनाथमाथि हस्तक्षेप गरियो । तीर्थको पनि हिन्दूकरण गरियो । त्यसोगर्दा मूर्तिहरू परिवर्तन गर्ने अवसर जुटेन । किनकि झुमाहरूले बुद्धमूर्तिहरूको निरन्तर रखबारी गर्दैरहे । ओलीसरकारको लम्परारवादले गरेको एउटा राम्रो काम ‘ऐतिहासिक वास्तविकता सार्वजनिक गरिदिनु हो’ भन्न सकिने भएको छ !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here