भूकम्पमा संरचना भत्किनुको पाँच कारण र निर्माणका पाँच उपाय

261

ने.सं. ११३५ तदनुसार २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले पाँच प्रकारका सम्पदा तथा संरचना ध्वस्त बनाए । तर ३ वर्ष भइसक्दा पनि सम्पदा बनाइसक्नु त परै कसले बनाउने र कस्तो बनाउने भन्ने कुराको निक्र्योलसम्म हुन सकेको छैन । अझ त्योभन्दा लाजमर्दो सवाल त के छ भने प्रधानमन्त्री कोषले बनाउने भनी घोषित धरहरा निर्माण त्यसै अलपत्र छ भने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा बन्न लागेको रानीपोखरीले झण्डै कंक्रिटको स्वरुप लिन थालेपछि व्यापक जनविरोधको कारण प्राचीन संरचनामा फर्किन बाध्य भए पनि बन्ने निश्चित भएको छैन ।
अर्कोतर्फ हाम्रा पुर्खाहरुले स्थानीय श्रम, स्रोत, प्रविधिको प्रयोग गरी निर्माण गरिएका सम्पदा हनुमान्ढोकाको गद्दी बैठक अमेरिकाले र नौतले दरबार चीनले बनाइराख्दा नेपालीहरु लाजै नमानी टुलुटुलु हेर्नुको विकल्प वर्तमान सरकारले दिन नसक्नुभन्दा लज्जाबोध अरु के हुन सक्छ ? हुन त यस्तो स्थितिको कारक वर्तमान सरकार मात्र नभई नेपाल एकीकरणको नाउँमा उपत्यकाका आदिवासी नेवारको सीप, श्रम, अर्थ कलामाथि हस्तक्षेप भएकै बेलादेखि हो भने वर्तमानमा त्यही सरकारका गुलाम शासकले आफ्नो पुर्खाको स्वाभिमानप्रति गौरव गर्नुभन्दा विदेशी डलरमा कमिशन खोज्नुको परिणाम हो । विवेचनात्मक व्याख्या गर्दा निम्नलिखित पाँच प्रकारका संरचना भूकम्पले ध्वस्त बनाएको देख्न सकिन्छ ः
१) ठेकेदारी प्रथाबाट निर्माण भएका संरचना ।
२) पुनर्निर्माण गर्नुपर्ने सयौं वर्ष पुराना तर जीर्णोद्धार मात्र गरिएका संरचना ।
३) गोलो डल्लो ढुङ्गाले बनेका तर नमिलाई बनाइएका संरचना ।
४) थोरै जग्गामा आकाशतर्फ बढाएर बनाइएका संरचना ।
५) भूकम्पको केन्द्रविन्दुमा परेका संरचना ।
यी पाँच कारणमध्ये काष्ठमण्डपसहित हनुमान्ढोका दरबारक्षेत्रका अधिकांश सम्पदा भग्नावशेषका रूपमा पुग्नुको मुख्य कारण ठेकेदारी प्रथा नै हो । यहाँका सम्पदाहरू भूकम्पले मात्र होइन, उचित काठ, धातु, इँटा, ढुङ्गा रंग आदिको संयोजन नहुनु जस्ता कारणले पनि कलाकृतिहरू ध्वस्त÷नष्ट हुने क्रम तीव्र बन्दै गएका हुन् ।
यसलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने हो भने ः
क) भत्किएका पुरातात्विक संरचनालाई सुरक्षित राख्ने, चोरी वा नष्ट हुन नदिने ।
ख) पुनर्निर्माणमा सकेसम्म पुरानै काठ, इँटा, माटो, प्रविधि, कलाकर्मीहरूलाई सदुपयोग गर्ने । तर, शिलापत्र ताम्रपत्रमा उल्लेख हुने गरी सानो आकारको संरचना निर्माणमा जोड दिने ।
ग) भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाउने, नयाँ कच्चा पदार्थ प्रविधि प्रयोग गर्ने नै हो भने कारणसहित प्रयोग भएका संरचनाको मात्रा प्रविधि स्पष्ट खुलाउने ।
घ) विदेशी सहयोगभन्दा स्वदेशी श्रम, शक्ति र सम्पत्तिका लागि पुनर्निर्माणका लागि सार्वजनिक आह्वान गर्ने । जो पुनर्निर्माणमा जन, धन वा प्रविधिका लागि योगदान दिन्छन्, उनीहरूलाई राष्ट्रिय सम्मानबाट विभूषित गर्ने ।
ङ) ठेक्का प्रथाका आधारमा कुनै पनि सम्पदा पुनर्निर्माण गर्न नदिने ।
यसका लागि स्थानीय निकाय तथा सरकारले पाँचवटै अवधारणालाई सङ्गठित व्यवस्थित र दीर्घकालीन रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ । नेपालमा एउटा सरकारले गरेका राम्रा र उचित कामलाई पनि निरन्तरता दिन अर्को सरकार तयार नहुने कुपरम्पराबाट पनि सम्पदा संरक्षणमा तगारो तेर्सिएको पाइन्छ ।
सम्पदा पुनर्निर्माणको कार्य भूकम्प वा अन्य दैवी प्रकोपले ध्वस्त बनाएपछि मात्र हुनुपर्दछ भन्ने गलत मानसिकता कलाकृति संरक्षणका लागि सबैभन्दा ठूलो अभिशाप हुन गएको छ । यसबाट निकास पाउन निम्न कार्य गर्न सकिन्छ ः

 

१) कलाकार–वास्तुकलाविद्को सम्मान÷संरक्षण गर्ने ।
हनुमान्ढोका क्षेत्रको मात्र कुरा गर्ने हो भने पनि यहाँ काठमाडौं उपत्यका नामकरण गर्न सफल लिच्छवीकालीन सम्पदा मरू सतः– (काष्ठमण्डप) नौतले दरबारदेखि मल्ल, शाह र राणाकालीन संरचना (हाल, अधिकांश ध्वस्त) छन् । यहाँ जीवित देवी कुमारी छें– जस्ता इँटा र काष्ठकलाको नमूनादेखि नवयोगिनी –(महादेव पार्वती) दचि अपा, कलात्मक ढुङ्गा कुँदेर निर्माण गरिएको झ्याल, देगु तलेजु र श्वेत भैरव मूर्ति समिप किसिवा झ्याः –(हात्तीको दाँतको झ्याल) सम्म देशमा कतै नभएको देसय् मरू झ्याः आदि छन् । तर विश्वविख्यात सम्पदा बनाउने कलाकारहरूको नामो निशान छैन । एउटा ज्वलन्त कला काल भैरवको मूर्ति कुद्ने कलाकार होस् वा उपत्यकाकै सर्वाधिक उँचो आसनमा निर्मित तलेजु सम्पदाका सर्जकलाई यो युगले खोजिरहेको छ । तर कलालाई विश्वसम्पदा सूचीमा समावेश गराउने कलाकार होइन, शिलापत्र टुँडाल÷तोरणहरूमा राजा, महाराजाका प्रशस्ती कुँदिएका हुन्छन् । पलाञ्चोक भगवतीको मूर्ति कुँद्ने कलाकारको हात काट्ने तथा बूढानीलकण्ठको मूर्ति बनाउने कलाकारको पहिचान नमेटाई कलाकार बास्तुविद्हरूको सम्मान र संरक्षण गर्ने संस्कारको विकास गरिनुपर्दछ । विश्वविख्यात वास्तुकलाविद् अरनिको पनि नेपालबाट चीनको ल्हासा नपुगेको भए सायदै उनी राष्ट्रिय विभूतिमा गीन्ति हुन्थे । त्यस्ता कलाकारहरूलाई राष्ट्रले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध गर्नुपर्दछ ।

 

दरबार सम्पदा क्षेत्र निर्धारण आवश्यक
राजा गणकामदेवले कलिगत सम्वत् २५३२ मा काठमाडौं नगरम्हेपीलाई मञ्जुश्रीले खड्गको टुप्पा र पचलीलाई विंड स्वरूप निर्धाण गरी देश रक्षार्थ चारैतिर अष्टमातृका पीठ स्थापित गराएको तथ्य छ । तर यहाँ १९, २०, २३ र २५ वडाभित्रका सम्पदा मार्गलाई मात्र समेटेको पाइन्छ । ठमेलस्थित विक्रमाशिल महाविहार, असनको अन्नपूणर्, भीमसेन स्तम्भ, धरहरा सुन्धारा, तेवहाल, टुँडिखेलस्थित महाकाल, भद्रकालीलाई के गर्ने भन्ने कुरामा अन्योलग्रस्त देखिन्छ । स्थानीय निकाय त्यसमा स्पष्ट हुनु जरूरी छ । मञ्जुश्रीको खड्ग आकृतिका व्यवस्थित ऐतिहासिक बस्ती संरचनाको संरक्षण गर्न बसन्तपुर, मखन, यट्खा सिंहसत्तलमा सीमित ढाट पर्यटक शुल्क उठाउने परम्परालाई हटाएर म्ह्ेपी पचली अवधारणालाई सुविधासहित कुनै निश्चित निकायमार्फत पर्यटक शुल्क उठाउने परम्परा विकास गर्न सके इज्जत र डलर दुवै प्राप्त गर्न सकिन्थ्यो । बसन्तपुर धरहरा, हुनमानढोका प्रवेशमा छुट्टाछुट्टै शुल्क उठाउने कुपरम्पराले हामीमा नकारात्मक संस्कार बसाएको प्रष्ट हुन्छ ।

 

आयव्यय स्रोत निर्धारण र पारदर्शी
पुर्खाहरूले कुची र कम्पासको भरमा स्वदेशी श्रम, सीप र प्रविधिमा निर्माण गरी छोडेको विश्व सम्पदा जीर्णोद्धार र पुनर्निर्माणका लागि विदेशीको मुख ताक्नुपर्ने दरिद्र अवस्था छ आज हाम्रो । आयव्यय र स्रोत निर्धारण नहुनु र आम्दानीलाई चुस्तदुरुस्त र पारदर्शी बनाउन नसक्दा यस्तो स्थिति आएको हो । पर्यटक शुल्कबाट मासिक वार्षिक रूपमा कति उठ्छ र के कति कस्तो काममा खर्च भइरहको छ । पारदर्शीरूपमा सार्वजनिक हुन सके जनविश्वासमा वृद्धि हुन गई जनसहभागिता व्यापक हुन जाने निश्चित हुन्छ । विदेशबाट आएका स्रोत केका लागि कति भन्ने पारदर्शी नहुँदा पनि सम्पदा व्यवस्थापनको कार्य कुहिरोमा हराएको कागजस्तो बन्न गएको छ ।

 

संरक्षण दायित्व लिने निकाय स्पष्ट हुनुपर्छ
पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, कौशीतोषखाना, गुठी संस्थान र स्थानीय वासिन्दाबीच समन्वय हुन नसक्दा सम्पदा संरक्षणमा तगारो तेर्सिएको छ । हनुमानढोका दरबारभित्र एउटा निकायले हेर्नु, मूल दरबार बाहिर सिंहसत्तलचाहिँ गुठी संस्थानले हेर्ने, फेरि सिंहसत्तलकै मूल रूखबाट निर्मित काष्ठमण्डप, मजादेगल, दश अवतार देगल भने पुरातत्व विभागले हेर्ने, कारण स्थानीय निकायहरू नै रनभुल्लमा पर्ने गरेको छ ।
आजको आवाज जनसहभागिताकै हो । जुनसुकै निकायले जुनसुकै सम्पदाको निर्माण वा पुनर्निर्माण गरिँदा पनि जनसहभागितालाई पहिलो प्राथमिकता दिए जनश्रमदान जनसहयोगको बाटो पनि खुल्दै जाने निश्चित छ । तर पुरातत्व विभागले पुरातात्विक संरचनाविपरीत पो छ कि भन्ने अनुगमन गर्ने, गुठी संस्थानले देवस्थलको नाउँमा भएको स्रोत जग्गा सम्पत्ति जुटाइदिने धर्म भने छोड्नुहुन्न ।

विज्ञ समूहको गठन
निर्माण तथा पुनर्निर्माणको कार्य राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीहरूको हातमा पुग्नाले ठेकेदारी प्रथा मौलाउने गरेको छ । सम्पदा निर्माणभन्दा पुनर्निर्माणको कार्य जटिल र संवेदनशील हुने भएको हुँदा सम्बन्धित विज्ञहरू (वास्तुकलाविद् आर्किटेक्चर, कलाकर्मी, चित्रकार, मूर्तिकार, काष्ठकला विज्ञ, धातुकलाविज्ञ वज्रकर्मी) को विज्ञ समूह अनिवार्य गठन हुनुपर्दछ । विज्ञ समूहमा भाषणबाज नेता लेखक, पत्रकारलाई समावेश गर्नुभन्दा सम्बन्धित क्षेत्रमा कार्यरत दक्ष कलाकर्मीलाई राज्यले सम्पूर्ण सुविधा दिएर सम्मानसहित काम लिनुपर्दछ । सीप हस्तान्तरण अभियानअन्तर्गत ती विज्ञहरूबाट बेलाबेलामा तालिम, सीप प्रवद्र्धन गोष्ठी अन्तरक्रिया राख्नु उपयुक्त हुन्छ । गोष्ठी अन्तरक्रिया भने सम्बन्धित विषयका विज्ञ लेखक, पत्रकारलाई अनिवार्य सहभागी गराई जनचेतना प्रवाह गर्दै जानुपर्दछ ।

द्रष्टव्य ः
खुल्ला संग्रहालयका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्र– हाल पर्यटक शुल्क उठाउने विट राखेको ठाउँदेखि भित्र करिब ३२ वटा मठमन्दिर विहार चैत्य रहेका छन् । ती मन्दिरका तोरण, टुँडाल र ससाना कलात्मक मूर्तिहरू समेत सुरक्षाको दृष्टिकोणबाट संवेदनशील अवस्थामा छ । त्यसमाथि भूकम्पले त्यो जटिलतालार्ई अझै बढाएको छ । भूकम्पले ध्वस्त बनाइसकेपछि भग्नावशेषका रूपमा रहेको काष्ठमण्डपका काठहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने तथ्य जनतामा सार्वजनिक भएको छैन, जुन अत्यावश्यक कुरा हो भने चिंकमुगलस्थित अट्कोनारायण मन्दिरको पुनर्निर्माणताका हराएको टुँडाल तोरण कहाँ पुग्यो, त्यत्रो ठूलो टुँडाल कसरी गायब भयो, अनुगमन भइरहेको छैन । हुनु अनिवार्य छ । जीवित देवी कुमारीको घरअगाडिको झ्यालमाथिका टुँडालहरू चोरिएको र बाँकी तोरण टुँडाल पनि ठेकेदारी संस्कारअनुरूप रंग लगाउँदा देवताको आँखा, नाक र मुखकै पहिचान हुन सकेको पाइँदैन ।
त्यसरी जथाभावी ढंगमा रंग पोत्ने, किला ठोक्ने, सिमेन्ट कङ्क्रिट, फलामका निर्माण सामग्री जथाभावी रूपमा प्रयोग हुनु पनि पुरातात्विक संरचनाविपरीतका सवाल हुन् तर इन्द्रचोकको आकाश भैरव मन्दिर पुनर्निर्माणमा त्यस्तै हुने भएको छ । भूकम्प अगाडि हनुमानढोका दरबारभित्रको दाखचोकभित्रबाट तीनदेखि पाँच बाकस सुन÷चाँदी भेटियो भनियो, सञ्चारमाध्यमबाट प्रसारण गरियो । तर ती परिणामको बक्स कहाँ कुन रूपमा राखिएका छन्, सार्वजनिक गरी प्राप्त सम्पत्तिलाई सम्पदा संरक्षणको अभियानमा लगानी गर्नुपर्दछ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here