प्रचण्डलाई पछ्याइरहने यी ७ बुँदा

168

काठमाडौं / दशवर्षे जनयुद्धमा १६ हजार होनहार जनता मारिएका छन् । देशमा शक्तिशाली कम्युनिष्ट सरकार निर्माण भएको छ । सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने नेताहरूले सत्ता प्राप्त गरेका छन् । ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नारासहित जनयुद्ध सुरु भएपछि नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा क्रान्तिकारीहरू गोलबद्ध भएपछि नयाँ जनवादी सत्ता स्थापना उनीहरूको उद्देश्य थियो, त्यो उद्देश्य लगभग प्राप्त भएको छ । कम्युनिष्टहरूको बहुमतको सरकार गठन भइसकेपछि यो सरकारलाई नयाँ जनवादी सरकार भनिहाल्न सकिने अवस्था छ । तर सरकारको कार्यशैली पञ्च र कांग्रेसहरूको भन्दा भिन्न शैलीको देखिएको छैन ।
२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा समाजका हरेक क्षेत्र उत्पीडित समुदायले भविश्य देखेका थिए । त्यो जनयुद्ध सुरु गर्दा प्रचण्डसहितका नेताहरूले गरेको प्रतिबद्धतामा विश्वास थियो । ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतासहित सुरु भएको जनयुद्धले छोटै समयमा समाजमा जकडिएको मुठिभर वर्गको सत्तामा उथलपुथल पनि ल्याइदिएकै हो । त्यही जनयुद्धको उथलपुथल नै राजसंस्था विघटित भएर देशमा ठूलो राजनीतिक परिवर्तन भएको छ ।
शान्तिप्रक्रियासँगै जनयुद्धका मूल्यमान्यता र जनताका सपनाको हत्या नेतृत्वबाटै हुन सुरु हुन गयो । यसपटक एमाले र माकेबीच पार्टी एकीकरण भइसकेपछि जनयुद्धको प्रक्रियाको औपचारिक रूपमा अन्त्य भएको दावी एकपक्षबाट भइरहेको छ ।
जनयुद्ध सुरु गर्दा तत्कालीन नेकपा (माओवादी)ले गरेका प्रतिबद्धताहरू आज इतिहासका विषय बनिरहेका छन् । जनतालाई बाँडिएका सपना अलपत्र परेका छन् । के यी प्रतिबद्धताप्रति प्रचण्डलगायतका नेताहरूले नवगठित नेपाल कम्युनिष्ट पार्टीका माध्यमबाट ध्यानाकर्षण गराउन सक्लान् ? यस्ता छन् जनयुद्धकालीन प्रतिबद्धताहरू ः–
१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

 
३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँजनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सा“स्कृतिक क्रान्तिहरू चलाउ“दै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

 
५. हाम्रो योजना नयाँजनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–संघर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतास“ग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनससमुदाय मुख्यतः गरीब किसानहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।

 
७. युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको ‘क्रान्ति आफैले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।
यस्ता प्रतिबद्धतासहित युद्धमा होमिएको पार्टीको नेतृत्व आज बिर्सजनका श्रृंखला पार गर्दै विदेशी दलाल पार्टीको रूपमा लम्पसार बन्न पुगिरहेको आरोप आफ्नै सहकर्मीहरूबाट लागिरहेको अवस्था छ । यो दुर्भाग्यपूर्ण अवस्थाबाट छुटकारा पाउन सत्तामा पुगेकाहरूले सोच्नुपर्ने बेला भएकै हो क्या रे !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here