काठमाडौं । सर्वाेच्च अदालतको निर्णयलाई कार्यन्यन गर्ने भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले पक्राउ गरी जेल चलान गरिएका बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर ओली नतृत्वको सरकारले सजाय मिनाहा गर्दै जेलमुक्त गरेपछि ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोस व्यक्त गरेका छन् । पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’ उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क रहेको छ ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि ढुंगेललाई कार्यकर्ताहरुले जुलुससहित पार्टी कार्यालय पेरिसडाँडामा पु¥याएका थिए । जनयुद्धको सहिद तथा वेपत्ता परिवारहरुको सम्झनामा निर्मित स्तम्भ अगाडि तत्कालीन पार्टी कार्यालयका सचिव एवम् नेकपाका नेता प्रह्लाद बुढाथोकीले ढुंगेललाई स्वागत गरेका थिए । कार्यक्रममा ढुंगेलले कविता सुनाएर आफ्ना भनाइ राख्न सुरु गरेका थिए ।
‘दाम्लोसँगै भैंसी मरे मान्छे जंगलभरि
तर पनि आकाशमा उडे राता चरी ।’
उनले आफ्नो रिहाइको पहल गरिदिने सबैलाई धन्यवाद दिँदै भने, ‘सहिदहरुको रगत बेचेर खानु नपरोस् । सहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुको भावनामा लात हान्दै ठगेर खानु नपरोस् ।’
उनले सम्बोधनको क्रममा आफू तेस्रोपटक जेलबाट छुटे पनि अन्तिम भने नहुनसक्ने जनाए । गणतन्त्रको पक्षमा लाग्दा जेल जानुपर्ला भनेर आफूले कल्पनासमेत नगरेको भन्दैै उनले भने, ‘मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दावाद भन्दै गर्दा, हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवाजीहरु गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहुन्छ होला र उहाँ गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधी करार गर्दै जेल पठाउनु हुन्छ होला भनेर मैले त्यो हिरासतमा कहिल्यै कल्पना गरेको थिईँन ।’
ढुंगेलले भने ‘गणतन्त्र माग्दा संकटकाल लगाउने, टाउकाको मोल तोक्ने, हिटरमा पिसाब फेराउनेहरु, नागार्जुनका जंगलमा लगेर वेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बन्न पाएपछि मलाई कारागार पठाए, म गएँ र आज फेरि रिहा भएको छु ।’


















