काठमाडौं / नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको झण्डै सात दशक पुगेको छ । विं सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएयता जनताले निरन्तर सुनिरहने एउटै कुरा थियो, राजा, पञ्च र कांग्रेस जनताप्रति कहिले पनि उदार हुन सक्दैनन् । यसको अर्थ थियो जनताप्रति उदार हुने भनेको कम्युनिष्ट मात्रै हो ।
नेपालका कम्युनिष्टहरूले सार्वजनिक कार्यक्रमहरूमा जनताको नाम लिएर कहिल्यै थाकेनन्, (भलै कम्युनिष्टले जनताको नाम जप्ने प्रवृत्ति नेपालमा मात्र नभएर विश्वव्यापी प्रचलन नै हो) । सात दशकसम्म कम्युनिष्टहरूले प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा देखाउन दुईतिहाइ वा बहुमतको सरकार सञ्चालनको अवसर पाएका थिएनन्, त्यसैले जनताले पनि कम्युनिष्टहरूप्रति आशा बाँकी नै राखेका थिए । लामो समयदेखिको कम्युनिष्टहरूको अलाप तथा जनताको आशाले गर्दा यसपटक जनताले कम्युनिष्टलाई साँच्चिकै एउटा अवसर दिएका छन् । काम गर्छाैँ भनेर अलाप गरिरहने कम्युनिष्टका लागि काम गरेर देखाउने यो एउटा निकै ठूलो अवसर बनेको छ पनि । यसपटक नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिएर वर्तमान सरकार निर्माणका लागि अनुकूल वातावरण तयार पारिदिएका छन् । तर विडम्बना ! वर्तमान सरकार नाममा कम्युनिष्ट भए पनि व्यवहारमा कांग्रेसभन्दा एक कदम अघी बढेर जनतालाई दुःख दिने, राष्ट्रियताप्रति उदासिन रहने र जनतालाई चिढाउने काम गरिरहेको छ ।
वर्तमान सरकार गठन भएयता नेपाली जनताले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धिको अवस्था सामना गरिरहेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको असर दैनिक उपभोग्य सामग्रीमा समेत परिरहेको छ । सामान्य मजदुरको घरमा चुलो बल्न नसक्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । तर वर्तमान सरकार भने पानी जहाज र रेलमै कुदीरहेको छ । जनतालाई दिनुपर्ने सामान्य सेवा सुविधा तथा सहुलियतमा समेत सरकारको ध्यान पुगेको छैन । हिजो कांग्रेस नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दा कमिसन खान मूल्य वृद्धि गरेको आरोप लगाउने कम्युनिष्टहरूले आफै बहुमतसहित नेतृत्व गर्दा जनतालाई राहत हुने भन्दा पनि आहत पुग्ने काम मात्र गरिरहेका छन् । सायद आज सत्ताको नेतृत्व गरिरहेकाहरूले हिजो जनतालाई देखाएको सपनालाई फर्किएर हेर्दा प्रधानमन्त्री ओलीदेखि प्रचण्ड तथा अन्य ठूला नेताहरूलाई समेत विगतमा देखाएका सपना र झुठा आश्वासनले पश्चाताप गर्दा हुन् !
नेपाली जनता निकै धैर्य देखिदै आएका छन् । भारतीय नाकाबन्दीका बेला त्यतिबेलाका प्रधानमन्त्री ओली जो अहिले पनि प्रधानमन्त्री छन्, उनकै दलका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थमा कालो बजारी गर्दै रातारात धनाढ्य बनेका थिए । त्यतिबेलाको परिस्थितिका कारण जनताले ओलीमाथि शंका गरेनन् । तर ओलीले भने जनताको विश्वासमाथि निरन्तर कुठाराघात गर्दै जे गरे पनि जनताले सहन्छन् र समर्थन गर्छन् भन्ने मान्यता राखेको देखिन्छ । इतिहासकै शक्तिशाली प्रधानमन्त्री र कम्युनिष्टको सरकार हुँदा समेत जनताले सबैभन्दा बढी महँगी र पीडा सहनुपर्ने बाध्यताले त्यही कुरालाई पुष्टि गर्छ ।
वर्तमान सरकारको काम गर्ने शैलीले नेपालमा कम्युनिष्टहरूको नराम्रोसँग बदनाम गराइरहेको छ । सधै जनताको नाम अलापेर नसक्ने कम्युनिष्टहरूको शक्तिशाली सरकार हुँदा जनताको ढाड सेकिनुले कम्युनिष्टका नाममा कंलंकको संकेत गरिरहेको छ । अझ यस्तो महँगी र बेथितिको विरोधमा सडक आन्दोलन हुँदै भ्रष्टहरूमाथि कारबाही गर्ने अभियानमा उत्रिएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरूमाथि वर्तमान ओली सरकारले दमनचक्र चलाएको छ । अदालतले रिहाइ गरेबित्तिकै अदालत परिसरबाटै गिरफ्तार गरेर बेपत्ता पार्ने काम ओली सरकारले गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले प्राय हरेक कार्यक्रममा बोल्दा एउटा कुरा बोल्न छुटाउँदैनन् । त्यो हो, अब जनताले भोकै बस्नु पर्दैन । जनताले भोकै बस्नु पर्दैन भन्ने प्रधानमन्त्रीले आफ्नै कार्यकालमा जनताको चुलो बल्न नसक्ने अवस्था सृजना गर्दै गइरहेका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेका प्रधानमन्त्री ओलीले निरन्तर महँगी र मूल्य वृद्धि गरेर जनताको खुसी र सुख दुवै लुटने काम गरिरहेका छन् । एक पेट खान मुस्किल पर्ने नेपालीले प्रधानमन्त्रीबाट बोलिएका समृद्धि र सुखी जीवन कसरी प्राप्त गर्न सक्छन् ? यो प्रश्न सबैतिर उठ्ने गरेको छ ।
वर्तमान सरकार तथा प्रधानमन्त्रीको भनाई र गराईमा रहेको आकाश र धर्तिको फरकले नेपालमा कम्युनिष्टप्रतिको विश्वास र कमी हुँदै गइरहेको छ नै । वर्तमान प्रधानमन्त्री पनि जनताको मनबाट विस्तारै अलोकप्रिय हुँदै जाने क्रम निरन्तर बढिरहेको छ ।
(- जनधारणा साप्ताहिक)


















