काठमाडौं / एमाले र माके एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अहंकार तोड्न पार्टीभित्र नयाँखालको ध्रुवीकरण विकसित हुन थालेको छ । पुष्पकमल दाहाल र केपी ओलीको फरक फरक गुट बन्ने अवस्था सृजना भएको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीबारे ओली र प्रचण्डको एकमत हुन नसकेपछि गुट सृजना भएको स्पष्ट देखिएको छ । पार्टी एकीकरण नहुँदैदेखि यस्तो खालको गुटबन्दीको आशंका गरिएको भए पनि यति छिट्टै यसरी गुटबन्दी विकास होला र केपी ओलीको अवस्था नाजुक बन्ला भनेर कसैले सोचेको थिएन । केही दिनअघि प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए । संविधान संशोधन गरेर शासन प्रणाली परिवर्तन गर्ने बारे प्रचण्डले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीले विरोध जनाएका छन् । ओलीले विरोध जनाएलगत्तै पार्टीभित्र ध्रुवीकरण सुरु भएको छ ।
प्रचण्डले अघि सारेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमदेखि रामबहादुर थापा ‘बादल’लगायतका नेताहरू खुलेर देखिएको छन् । प्रधानमन्त्री ओलीलाई शीर्ष नेताहरूमध्ये भर्खरै मात्र उपप्रधानमन्त्रीको उपहार पाएका ईश्वर पोखरेलले मात्र साथ दिएका छन्
तत्कालीन एमालेका सचिव योगेश भट्टराईले पनि प्रचण्डले भने जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । त्यसैगरी ओलीसँग चिढिएका नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल पनि प्रचण्डको पक्षमा खुलेका छन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अहिलेको अवस्था फेर्न खोजिए कडा प्रतिकार गर्ने चेतावनी दिंदै ओलीको पक्षमा मुख खोलेको छ ।
जनधारणा साप्ताहिक


















