–चन्द्रप्रकाश बानियाँ
अस्तिताका हो क्या रे, हाम्रा प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको धर्माचरणप्रति कटाक्ष गरेका थिए । अर्थात् देवदर्शनको नाममा मुलुक चाहार्ने चेष्टाको आलोचना गरेका थिए । जिन्दगीभर षड्यन्त्रमा बाँचेको मानिसले अरुका हरेक गतिविधिमा षड्यन्त्रको गन्ध सुँघ्ने प्रयत्न गर्छ भनिन्छ । प्रधानमन्त्रीको अभिव्यक्ति सायद त्यही मनोविज्ञानको परिणाम होला । उसै पनि हाम्रा नेताहरुलाई बोल्नुपर्ने नपर्ने कुराको उतिसारो हेक्का रहँदैन । त्यसमाथि “तित्राको मुखै बैरी” भन्ने लोकोक्ति हाम्रा प्रधानमन्त्री ओलीमा शतप्रतिशत लागू हुन्छ भन्नु आग्रह नठहरिएला कि ? स्वाभाविक हो, गद्दीविहीन बनेका भए पनि ज्ञानेन्द्र शाह पूर्वराजा हुन् । धर्मभिरु नेपाली समाजमा राजालाई विष्णुको अवतार मान्ने सामाजिक मानसिकताको पूर्णरुपमा उन्मूलन भइसकेको छैन । त्यसका लागि नयाँ पुस्तालाई कुर्नुपर्छ । पुरानो पुस्तामा संस्करागतरुपमा राजाप्रतिको स्वाभाविक आदर, सम्मान र देवभाव सरेर आएको छ । त्यसमाथि थप राजा भनेपछि “एकपटक हेरिहालुँ न” भन्ने मनसाय सबैमा उब्जिन्छ । त्यसैले जहाँजहाँ राजाको उपस्थिति हुन्छ, त्यहाँ सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति हुन्छ । जनताको त्यही स्वतस्फूर्त उपस्थितिले कसैलाई हौस्याउँछ, कसैलाई तर्साउँछ । ६०÷६१ सालतिर त्यही जनताको उपस्थितिले तिनै राजा ज्ञानेन्द्रलाई आफू लोकप्रिय रहेको भ्रम दियो र सत्ता हातमा लिने मूर्खतातिर अभिप्रेरित ग¥यो । राजाको उपस्थितिमा देखिने भीड देखेर नेताहरु पनि तर्सन्छन् । कतै प्रतिगमन हुने त होइन भनेर थर्हरी हुन्छन् । हो, त्यही डरको मानसिकताको उपज हाम्रा नेताहरुको पूर्वराजाप्रति लक्षित कटाक्ष होइन भन्न सकिन्न ।
नेपाली जनतामा राजा र राजसंस्थाप्रतिको स्वाभाविक आकर्षण थियो र छ । यो नकार्न नमिल्ने विषय हो । राजनीतिबाट अलग रहेर त्यस्तो आकर्षण पाल्नु अपराध पनि होइन । राजनीतिक रुपमा नेपालको राजतन्त्र असफल भयो । नासियो । त्यसमा अरु कसैको होइन, आफ्नै मूर्खता प्रमुख कारण थियो । तर धर्मभिरु समाजले राजालाई देवता मान्छ भने त्यसमा कुनै दोषखोट खोज्नुपर्ने आवश्यकता छैन । सांस्कृतिक रुपमा राजाको उपस्थिति हुने स्थानहरुमा प्रधानमन्त्री वा राष्ट्रपतिले प्रतिनिधित्व गर्ने परम्परा बसाल्नु भद्दा नौटंकी हो । हाम्रो संस्कृतिमा ढुंगामाटोलाई पनि देवता मानेर पुज्ने परम्परा रहेको छ । राजा देवताको जीवित प्रतीक हो । त्यसैले राजाप्रति स्वाभाविक आकर्षण जनतामा हुनु आश्चर्यको विषय होइन । मौका परे दर्शन गर्ने अभिलाषा राख्नु स्वाभाविक हो । राजाको देवदर्शनका नाममा हुने भ्रमणमा उर्लिने जनताले राजालाई फर्काउँछन् कि भनेर तर्सनु आवश्यक छैन । नेपाली जनताले राजालाई नेताको रुपमा अब कहिल्यै हेर्न देख्न चाहँदैनन् । ज्ञानेन्द्र शाह राजपरम्पराका अन्तिम राजा हुन् भन्ने कुरा सबै नेपालीले जाने बुझेको विषय हो । राजसंस्था फेरि फर्केर आउँछ भनेर कसैले चिताएको पनि छैन । आखिरी अवशेष भएको हुनाले पनि “एकपटक हेरि हालौं न” भन्ने जिज्ञासा मानिसमा पलाउँछ र जहाँ ज्ञानेन्द्र शाह जान्छन्, त्यहाँ मानव सागर उर्लन्छ । बस ! कुरोको चुरो त्यत्ति हो । दुवैथरिले यसलाई यसरी नै बुझ्दा हुन्छ । कोही मच्चिन, चटारिन र बटारिनुपर्ने आवश्यकता छैन ।
राजसंस्थाप्रतिको जनआकर्षणको कारण के थियो र संस्थाप्रतिको आस्था र सम्मानमा कसरी क्षयीकरण निम्तियो भन्ने कुराको आफ्नो अनुभव बाँडचुड गर्नु असान्दर्भिक हुनेछैन । पञ्चायतको उत्कर्षकालतिर, व्यवस्थाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा शिक्षणपेशाबाट अवकाश पाइयो । एकोहोरिएर इमानदारीपूर्वक पेशाव्यवसायमा लाग्दालाग्दै अनाहकमा पेशाबाट गलहत्याइनुपर्दा चित्त दुख्नु स्वाभाविक थियो । जीविकाको आधार खोसिँदा मानिसमा विद्रोहको भावना पन्पनु अस्वाभाविक थिएन । पहुँचवालाहरुको निगाह प्राप्त गर्न नसक्नेहरुले अन्यायमा पर्नुपर्ने र अनावश्यक दुःखकष्ट झेल्नुपर्नाको कारण तत्कालीन व्यवस्थाभन्दा बढी स्थानीय पञ्चनेताहरु थिए भन्ने कुरामा कुनै द्विविधा थिएन । त्यसमाथि थप नपच्ने कुरा के देखिन्थ्यो भने पञ्चनेताहरुले जस्तोसुकै जघन्य अपराध गरे पनि “माथि” देखाएर उम्कन्थे । उनीहरुलाई मुलुकको ऐनकानुनले छुँदैनथ्यो । राजा र पञ्चायतको अखण्ड जप गरेकै आधारमा उनीहरुका सातखुन माफीयोग्य ठहर्थे । तलकाले माथि र माथिकाले झन् माथि देखाउँदै जाँदा खतुकीतिर इशारा गर्ने चोर औंलो दरबारमा पुगेर ठोक्किन्थ्यो । हो, पञ्चायत र राजसंस्था दुवैको लोकप्रियतामा दिन चौगुना रात चौगुना क्षय हुँदै जानुको प्रमुख कारणमध्येको यौटा त्यो पनि थियो ।
‘वास्तवमा अस्तित्व नै नभएको “म” (अहम्) भन्ने भावनाले मान्छेलाई दुःख दिन्छ’ भनेर बौद्धदर्शनले भन्छ । पञ्चायतकालमा जे जति दुःख झमेला व्यहोर्नु प¥यो त्यसको मूल कारण त आन्तरिक नै हुँदो हो । मान्छेले आफूलाई चिनेर मात्र पुग्दैन, तत्कालीन परिवेशसँग तादात्म्य सम्बन्ध राख्न जानेन भने अप्ठेरो अत्तो आइलाग्नु स्वाभाविक बन्छ । तैपनि आफ्नो कमीकमजोरी र दोष कसले पो देख्छ र ? बिग्रेभत्केको दोष अरुमाथि थोपर्न जति सजिलो अरु के हुन्छ र ? स्वभावतः ममा पनि व्यवस्थाप्रति मात्र होइन, राजसंस्थाको उपादेयताको सम्बन्धमा नकारात्मक धारणाको विकास हुँदै गएको थियोे । सामन्तवादको नाइके राजसंस्थाको जतिसक्दो चाँडो उन्मूलन हुनुपर्छ भन्ने मान्यताले मनभित्र जरो गाडिसकेको थियो । अर्थात् राजसंस्था र राजाप्रति मेरो मनमा रत्तिभर आस्था थिएन, प्रेमभाव थिएन, आदारभाव पनि थिएन । निष्ठा रहने त प्रश्नै उठेन । आशा भरोसा थिएन । रत्तिभर मोह र आकर्षण पनि थिएन । मेरो मनले राजालाई दर्शनीय मान्दैनथ्यो, पूजनीय मान्ने त कुरै भएन, आदरणीय पनि मान्दैनथ्यो । तर अचम्म के भैदियो भने २०४५ सालको फागुनको प्रारम्भतिरै तत्कालीन राजा वीरेन्द्रको बेनीबाजारमा आगमन हुने समाचारले आश्चर्यजनकरुपमा मलाई पनि आकर्षित ग¥यो । प्रत्यक्ष दर्शन गर्ने अवसर मिल्ने सम्भावना त थिएन तर पनि राजाको दर्शनका लागि ताँती लागेर बेनीतिर झर्ने मानवलस्करले मलाई पनि लता¥यो, तान्यो । एकाबिहानै बेनीमा झराल्यो । एक झलक राजाको अनुहार नजिकबाट हेर्न सकिने सम्भावना हेरेर गौंडो ढुकायो । वीरेन्द्रचोकको चौतारीमा बस्ने प्रशासनिक अनुमति थिएन । त्यसैले पूरापूर छ घण्टा चौतारीको छेउमा उभिएर राजपरिवारलाई एक झलक हेर्ने धोको पूरा गरिएथ्यो ।
राजगद्दी गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाह देवपीठहरुको दर्शनको निहँुमा देशका विभिन्न भागको भ्रमणमा निस्कने गर्छन् । मान्छेले बलेको आगो ताप्छ । श्रीपेच फुकालिएका र नारायणहिटीबाट लघारिएर “दाह्रा नङ्ग्राविहीन बाघ”जस्तो बनेका पूर्वराजाबाट मुलुकले कुनै आशा अपेक्षा राख्ने कुरै भएन । तैपनि “बाजाको तालमा जन्ती जानु” भनेजस्तै नेपालीहरुलाई फेरि पनि ज्ञानेन्द्रको दर्शन गर्ने इच्छाले तानेको देखिन्छ । शक्तिशाली चुम्बकतिर किलाकाँटाझैं गद्दीविहीन राजातिर मानिसहरु तानिन्छन् । चारैतिरका डाँडापाखाबाट कमिलाका ताँतीजस्ता मानव लस्करहरु पूर्वराजाको एक झल्को दर्शन पाउने आशामा ओइरिन्छन् । परिवर्तित परिस्थितिमा राजाको दर्शन गर्नुको औचित्य नदेख्ने अथवा बेलुका घर फर्कँदा झेल्नुपर्ने ज्यानमारा उकालो ओरालो सम्झेर घरगाउँमा खुम्चनेहरु गाउँलेबन्धुहरुको मनसमेत दिनभर देवीदेवताको दर्शन गर्न उत्रेका ज्ञानेन्द्र शाहतिर नै एकोहोरिन्छन् होला । तन घरगाउँमै भए पनि मन साथमा हुँदैन ।
सुरु सुरुका दिनहरुमा पूर्वराजाको धार्मिक भ्रमणको स्वागत र विरोध दुवै हुने गथ्र्यो । आजकाल त्यस्तो हुँदैन । आस्था राख्नेहरु दर्शनमा उपस्थित हुन्छन् । नलाग्नेहरु जाँदैनन् । विरोध गर्नुपर्ने आवश्यकता पनि देख्दैनन् । विरोध गर्नेहरु नदेखिएपछि सबै नेपालीहरुले राजसंस्थालाई पुनः माया गर्न थालेछन् भन्ने भ्रम पनि पर्नसक्छ । तर एउटै मान्छेभित्र त दुईओटा विचारहरु रहन्छन् भने समाजमा त अनेकथरि मान्छे हुन्छन् । “कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि” । हाम्रो लोकतन्त्रमा सबैलाई मनलागी गर्ने स्वच्छन्दता रहेको छ । सबैको मन बुझ्न पनि सकिँदैन, सिंगो समाजको प्रतिनिधित्वको दाबी गर्न पनि मिल्दैन । कुनै पनि मान्छेले गर्न भन्न सक्ने त आफ्नै कुरा मात्र हो । भन्नलाई त “सत्यम् बु्रयात्, प्रियम् बु्रयात, नबु्रयात् सत्यमप्रियम्” भन्छन् । तर स्वार्थ र भय यी दुई तत्वबाट मुुक्त रहने हो भने अप्रिय नै भए पनि सत्य बोल्न डराउनु पर्दैन ।
ज्ञानेन्द्र शाह अब राजा रहेनन् । उनलाई मुलुकको अभिभावकत्वको बोझबाट पनि मुक्त गरिएको पनि दशक बितिसकेको छ । श्रीपेच खोसियो, गद्दीबाट बेदखल गरियो र नारायणहिटीबाट पनि लगारियो । राजसंस्थाको मान, सम्मान, गरिमा, गौरव सबै समाप्त भो । त्यसो भन्दैमा उनले निर्मलनिवास वा नागार्जुनमै कैद हुनुपर्छ भन्न मिल्दैन । आखिर उनी पनि मान्छे नै हुन् । मान्छेलाई मान्छेको सरसंगत चाहिन्छ । उनलाई पनि घुमफिर गर्न मनलाग्छ । हो, उनले अब हिजोको जस्तो राजकीय सवारीको सुविधा पाउँदैनन् । अब उनको हरेक ठाउँ वा संस्थामा हुने उपस्थिति नितान्त एउटा अतिथिको हैसियतमा हुन्छ । अतिथि देवो भवः । पाहुनालाई देवतासमान मान्ने हाम्रो परम्परा र संस्कार मात्र होइन, सुसंस्कृत नेपाली संस्कृति पनि हो । त्यसअर्थमा उनले पाउने स्वागतसत्कारलाई अन्यथा अर्थमा लिनु कञ्जुस्याइँ हो । दरिद्र चिन्तनको नग्न प्रदर्शन मात्र हो ।
चर्चित जेठ १९ मा मञ्चन भएकोे वीरेन्द्रराजाको वंशनाशको दुर्घटनालाई लिएर मान्छेहरुले अनेकखालका अड्कल अनुमान गर्ने गरेका भए पनि अनुसन्धानबाट यथार्थ वस्तुसत्य उद्घाटन नहँुदासम्म ज्ञानेन्द्र शाहलाई राजगद्दी अपुतालीमा मिलेको हो भनेर मान्नैपर्छ । “कौडीमा पनि मिल्कन्छ, भिल्लका देशमा मणी” भनेझैं हातपरेको गद्दी पाँचै वर्षमा गुमाउने मूर्खता ज्ञानेन्द्र शाहले प्रदर्शन गरेका हुन् । उनलाई पनि हातबाट फुत्केको माछा ठूलो लागेको होला । गद्दी गुमाउनु परेकोमा पछुतो पनि अवश्य होला । गुमेको अमूल्य वस्तु पुनः प्राप्त गर्ने लालसा रहनु पनि अस्वाभाविक होइन । गुमेको वस्तुको नाममा कल्पने स्वतन्त्रता उनलाई छैन भन्न मिल्दैन ।
मुलुक संवैधानिक व्यवस्थाबाट चल्दछ । संविधानतः नेपाल अब गणतन्त्रात्मक मुलुक घोषित भैसकेको छ । संविधानप्रतिकूलका सबै गतिविधिहरु वर्जित हुन्छन्, अपराध ठहरिन्छन् । श्रीपेचविहीन ज्ञानेन्द्र शाह अब साधारण नागरिकमा रुपान्तरित भैसकेका छन् । उनले नागरिकको कर्तव्यपालना इमानदारीपूर्वक गर्नैपर्छ । असंवैधानिक र गैरकानुनी गतिविधि गरेको खण्डमा सामान्य नागरिकसरह ज्ञानेन्द्र शाह पनि दण्डका भागिदार बन्छन् । अन्तरिम संविधानले प्रत्याभूत गरिसकेको गणतन्त्रविरुद्ध षड्यन्त्रमूलक गतिविधिमा संलग्न भएको कुरा प्रमाणित भएमा नेपालको कानुनले उनलाई अवश्य छोड्दैन । त्यसैले संविधान र कानुनको सीमा उल्लङ्घन नहुँदासम्म उनका अन्य मानवीय गतिविधिमाथि बन्देज लगाउन मिल्दैन । सामान्य नेपाली नागरिकका हैसियतले मुलुक भित्र बाहिर इच्छा लागेको ठाउँमा डुल्नेघुम्ने स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्न खोज्नु सरासर अन्याय हो । हो, पूर्व राष्ट्रप्रमुखका हैसियतले उनको यात्राभ्रमणको जानकारी भने राज्यलाई दिनुपर्छ, पूर्वस्वीकृति लिने औपचारिकता निर्वाह गर्नैपर्छ । राजाको हैसियतमा होइन, एउटा सामान्य नागरिकले झैं ज्ञानेन्द्र शाहले देवालयहरुको दर्शनभ्रमण गर्दैमा बिग्रने कुरा के छ र ? बरु मन्दिर मन्दिर चहार्दै हिड्ने निरीह नागरिक ज्ञानेन्द्र शाहलाई देखेर व्यर्थैमा ताउर माउर गर्न तम्सनु “चितुवाको चित्र देखेको भुस्याहा कुकुर”कोे जस्तो भयग्रस्त चेष्टा देखाउनु मात्र हो ।
दाह्रानङ्ग्रा निकालिएको सिंहलाई खोरभित्र थुनिरहनुको के औचित्य रहन्छ र ? हो अवश्य दाह्रानङ्ग्राविहीन भए पनि सिंह गर्जन छोड्दैन र सिंहको गर्जन र दर्शनले मात्र पनि सानाभुसुना जनावरहरुको सातो जान्छ । यतिबेला ज्ञानेन्द्र शाहको अनुहार देख्नासाथ “हाहा हुहु” गर्नु नादानी मात्र होइन कायरता पनि ठहर्छ ! हो, उनलाई पुनःस्थापित हुने सपना नदेख्न र अस्वाभाविक गतिविधि नगर्नका लागि भने सचेत गराउँदै रहनु शाह स्वयम् र मुलुकका लागि पनि लाभदायक नै हुन्छ । ज्ञानेन्द्र शाह अब विशुद्ध हिङ रहेनन् । तैपनि हिङ पोको पारेको टालो त हुन् क्या रे ! त्यही भावनाले राजनीतिक दलहरुलाई तर्साएको होला । पूर्वराजाले हातगोडा चलाउन थाल्दैमा तर्सनुपर्छ जस्तो लाग्दैन । शाहले पनि आफूलाई हेर्न झुम्मिने सर्वसाधारणको भीड देखेर भुईं छाडेर हौसिनु पर्दैन । रमितेहरु आखिर रमिते मात्रै हुन् । दरबारका पोष्यपुत्र पञ्चहरुले समेत अप्ठेरो समयमा लाशलाई जुम्राले झैं राजाको साथ छोडेको कुरा यति चाँडै नबिर्सिँदा राम्रै होला कि ?















