काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको नेपालबहसले जनाएको छ ।
बिगत केही दिनदेखि व्यवसायी मल्होत्रा साढे ३३ किलो सुन तस्करीकाण्डमा मुछिएको, उनको व्यवसायिक साझेदार भनिएका हुण्डी व्यापारी बिमल पोद्दारलाई उच्चस्तरीय छानविन समितिले प्रक्राउ गरेपछि उनले मल्होत्रालाई पोलेको, त्यसपछि दीपक मल्होत्रा फरार भएको जस्ता अफवाह बजारमा व्यापक फैलिएपछि नेपालबहस डटकमले यसबारेको वास्तविकता बुझ्ने प्रयास गरेको थियो ।
छानविन समिति र गृह मन्त्रालय उच्च स्रोतले हालसम्म व्यवसायी दीपक मल्होत्राको नाम कसैले नपोलेको तथा हाम्रो आफ्नै सुचना संयन्त्रले खोजी एवं मिहीन अनुसन्धान गर्दापनि कँहीकतैबाट पनि उनको संलग्नता पुष्टि हुने काम कारवाही नदेखिएको जानकारी दिएको छ । ठूला माछा समात्ने समितिको प्रयासमा उँहाको नाम पनि जवरजस्त केही संचार माध्यामले जोडेकोले के रहेछ भनि हामीले गहन अनुसन्धान गरेका थियौ तर उँहाको संलग्नता कतैबाट पनि देखिएन : गृह स्रोतले दावी गरेको छ ।
चर्चित हुण्डी व्यवसाही बिमल पोद्दारलाई छानविन समितिले प्रक्राउ गरेपछि केही संचार माध्याममा व्यवसायी मल्होत्राको नाम जोडेर समाचार प्रकाशित भएका थिए । जतिबेला मल्होत्रालाई समितिले प्रक्राउ गर्न लागेकोले उनी फरार भए भनि व्यापक अफ्वाह फैलाईएको थियो त्यतिबेला उनी प्रधानमन्त्री केपी ओलीसँगै चीनको उच्चस्तरीय भ्रमण दलमा समाबेश थिए ।
व्यवसायी मल्होत्रा नेपाल चेम्बर अफ कर्मशको तर्फबाट भ्रमण दलमा सामेल थिए । उनी प्रधानमन्त्री ओलीसँगै नेपाल फर्किसकेका छन् । उनी चेम्बरको उपाध्यक्ष पनि हुन । कुनै समय उनको नाम सुन र भारु तस्करीमा जोडिएपनि बिगत १५ बर्षदेखि मल्होत्रा मोबाईल ,घरजग्गा तथा कोरियन गाडी साङयोङको व्यापारमा संलग्न रहदै आएका छन् ।
यता गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानविन समितिले ३८ सय क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पुर्याएको छ । चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई निष्कर्षतर्फ पुर्याउन लागेको बताएको छ ।
गत माघ ९ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रर्याएर बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतको थुनछेक बहसपछि सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेसहित ३१ जना प्रतिवादी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा दर्ता भएकामध्ये ३० जना प्रतिवादी अझै फरार छन् ।
सुन तस्करी प्रकरणमा गोरेका सहयोगी भनिएका जग्गा व्यवसायी राम तिवारी, काठमाडौंमा घरजग्गा तथा हुण्डी व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दार र रेस्टुरेन्ट व्यवसायमा संलग्न भनिएका अकबर साहसहितका नयाँ व्यक्ति पनि पक्राउ परेका छन् । अस्तिमात्र सुन तस्करी प्रकरणमा बीरगंजका चर्चित सुन व्यापारी राजु दारुका पक्राउ परेका छन् । दारुका पक्राउ पछि थप तस्करहरुको नालिबेली सार्वजनिक हुने अनुमान गरिएको छ । यद्दपी पक्राउ परेका सबै व्यक्ति सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला नपरेको समितिको दावी छ ।
मुख्य लगानीकर्तासम्म पुग्नै गाह्रो !
गृह मन्त्रालयको उच्च स्तरीय समितिले गरेको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा २०४४–४५ सालदेखि नेपालमा सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेको थियो ।
सो अवधिमा तस्करहरुले १७ अर्ब १ करोड ८० लाख ७१ हजार रुपैयाँ बराबरको ३८ क्विन्टल सुन तस्करी गरेको सरकारी वकिलले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।
गृह मन्त्रालयको उच्च स्तरीय समितिले अहिलेसम्म एमके भनिने मोहन कुमार अग्रवाललाई सुन तस्करीको मुख्य लगानीकर्ता भनेको छ । सुन तस्करी प्रकरणका अभियुक्त भुजुङ गुरुङले समितिलाई दिएको बयानमा अग्रवालको मुख्य लगानीमा नेपालमा सुन तस्करी हुने गरेको बताएका थिए ।
समितिले छानबिनका क्रममा अग्रवाल नै सुन तस्करीका मुख्य लगानीकर्ता भएको प्रमाण फेला पारेको पनि बताउँदै आएको छ । तर अग्रवाल भने अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।
सुनसरीका धरान उपमहानगरपालिका–१६ घर भइ काठमाडौंको अनामनगर बस्ने अग्रवाल सुन तस्करी प्रकरणको छानबिन शुरु भएपछि भारत भागेको बताइन्छ ।अग्रवालको खोजीका लागि भारतको राजधानी दिल्लीसहित आधा दर्जन बढी शहरमा नेपाल प्रहरीले ‘सर्च’ गरेपनि उनी फेला पर्न सकेका छैनन् ।
गृह मन्त्रालयको समितिले जेठ २५ गते अग्रवालको घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन र २ किलो चाँदी बरामद गरेको थियो । समितिले अग्रवालको घरबाट केही महत्वपूर्ण कागजात फेला पारेको पनि बताएको थियो । अग्रवालका घरबाट बरामद भएका कागजातकै आधारमा समितिले पछिल्लो समय नेपालका ठूला व्यापारीसँगको साझेदारीमा काठमाडौंमा घरजग्गा व्यवसाय गर्ने बिमल पोद्दार , बीरगंजका सुन व्यवसायी राजु दारुका, अर्का रेस्टुरेन्ट व्यवसायी अकबर साहलाई पक्राउ गरिएको समितिले जनाएको छ ।
पोद्दारले केही ठूला व्यवसायी र नेपाल प्रहरीका पूर्व एआईजीहरुको नाम पोलेपनि सुन तस्करीबारे भरपर्दो सूचना नदिएको समितिका एक सदस्यले नेपाल बहस डटकमलाई बताए ।
ठूला माछा कहाँ छन् ?
गृह मन्त्रालयको छानबिन समितिले सुन तस्करीमा संलग्न उच्च व्यक्ति (ठूला माछा) पक्राउ पर्ने भनेर प्रचार गरेको धेरै भइसकेको छ । गृहमन्त्री स्वयंले समेत सुन तस्करीका ठूला माछा छिट्टै पक्राउ पर्ने घोषणा गरिरहेका छन ।
तर समिति स्रोतका अनुसार तस्करीका ‘ठूला माछा’को पहिचान नै हुन सकेको छैन । ‘कसलाई ठूला माछा भन्ने विषय नै यकिन भइसकेको छैन,’ गृह मन्त्रालयको छानबिन समितिका एक सदस्य भन्छन ‘अहिलेको सन्दर्भमा मोहनकुमार अग्रवाल ठूला लगानीकर्ता भएकाले ठूला माछा भन्न सकिएला । सुन तस्करीमा संलग्न अग्रवालभन्दा माथिल्लो तहका व्यक्तिबारे भरपर्दो तथ्य फेला परेको छैन ।’
पछिल्लो समय पक्राउ परेका पोद्दारबाट केही महत्वपूर्ण सूचना पाइने समितिको आशा छ । तर उनले बयानमा सुन तस्करीबारे तथ्यगत कुराहरु बोल्नैे मानेका छैनन् ।
‘राजनीतिक कनेक्सन’ हल्ला मात्रै ?
चैत २० गतेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिको म्याद असार मसान्तसम्मका लागि तेस्रो पटक थपिएको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले तेस्रो पटकका लागि समितिको म्याद १ महिना थप गरेको हो ।
समितिका पदाधिकारीले तेस्रो पटक थपिएको म्याद अन्तिम पटक भएको बुझेका छन् । अहिले समितिले थप अनुसन्धानभन्दा पनि अहिलेसम्म भएका अनुसन्धान र अनुसन्धानमा फेला परेका तथ्य, प्रमाण र सूचनालाई समेटेर सरकारलाई बुझाउने प्रतिवेन बनाउनमा ध्यान केन्द्रित गरेको देखिन्छ ।
केही दिन अगाडिसम्म समितिका केही सदस्य र प्रहरीको टोली मोहनकुमार अग्रवालको खोजीका लागि भारतीय शहर सिलगुढी पुगेको थियो । अग्रवाल सिलगुढीमा रहेको भन्ने ‘भरपर्दो’ सूचनाका आधारमा त्यहाँ पुगेको टोली रित्तो हात काठमाडौं फर्कियो । त्यसपछि समितिले अग्रवालको खोजीलाई त्यति प्राथमिकतामा राखेको देखिँदैन ।
सुन तस्करीमा राजनीतिक दलका उच्च तहका नेताको सहभागिता रहेको भन्ने चर्चा चलेपनि समितिका सदस्य भने त्यस्तो कुनै प्रमाण फेला नपरेको बताउँछन् । अहिलेसम्म पक्राउ परेका कुनै पनि व्यक्तिले राजनीतिक दलका नेताको नाम नपोलेको समितिका सदस्यको भनाइ छ ।
‘राजनीतिक कनेक्सनका विषयमा बाहिर हल्ला चलेजस्तो कुनै तथ्य भेटिएको छैन,: समितिका एक सदस्य भन्छन ‘अहिलेसम्म पक्राउ परेका व्यक्तिले दिएको बयानमा पनि राजनीतिक कनेक्सनको कुनै संकेत देखिँदैन ।’