नेता वामदेव गौतमले खोले– वाम सरकारको समाजवादतर्पm गन्तव्यको भित्री कुरा
काठमाडौं / देशमा यतिबेला कम्युनिष्टहरूको दुईतिहाइको सरकार भएकाले आम जनमानसमा यो सरकारले पक्कै नेपाली जनताको जीवनस्तर माथि उठाउने र राष्ट्रिय स्वाधीनताको रक्षार्थ काम गर्छ भन्ने विश्वास पलाएका छ । चरित्रले नै कम्युनिष्टहरू सर्वहारा जनताप्रति बढी बफादार हुन्छन् र हुनुपर्छ भनिन्छ, तर वर्तमान कम्युनिष्ट सरकार आफै शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरणमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ, संविधानले नै समाजवाद उन्मुख आर्थिक अर्थतन्त्रको व्यवस्था गरेको छ । तर व्यवहारमा भने धेरै फरक छ । अहिले पनि बैंक तथा वित्तीय संस्थामा लुट मच्चिइरहेको छ, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात तथा शुद्ध खानेपानीजस्ता विषयमा नागरिकले राज्यकै कारण सास्ती व्योहोरिरहेका छन् । वाम गठबन्धनको चुनावी घोषणापत्र होस् वा संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र, वर्तमान अवस्थामा नागरिकले विगतमा भएका प्रतिबद्धताको पालना भएको महसुस गर्न सकिरहेका छैनन् ।
स्वास्थ्यमा व्यापार भयो भनेर डा.गोविन्द केसी जुम्लामा पुगेर अनशन बसिरहेका छन् । उनको स्वास्थ्य झन् पछि झन् कमजोर बन्दै गइरहेको छ, अर्काेतर्फ महँगी, भ्रष्टाचार, अनियमितता तथा नागरिकका अधिकारसमेत खोसिने अवस्थामा पुगेको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसले सडक तताउने घोषणा गरिसकेको छ । यसैबीचमा सत्तासीन पार्टी नेकपाका पाँचौँ वरियतामा रहेका प्रधावशाली नेता तथा सचिवालय सदस्य वामदेव गौतमले भने वर्तमान सरकार संविधानअनुसार नै चल्ने बचनबद्धतासहित शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरणको अन्त्य गर्ने काममा सरकारले योजना बनाइरहेको खुलासा गराउनुभएको छ ।
गौतमले वर्तमान सरकारले संविधानले व्यवस्था गरेभन्दा विपरीतका कुनै पनि काम नगर्ने र कम्युनिष्ट चरित्रबाट विचलित नहुने संकेत गर्नुभएको छ । उहाँले शिक्षा र स्वास्थ्यको रूपान्तरण संविधानमा लेखिएको समाजवादउन्मुख आर्थिक दिशातर्फ नै हुने जनाउनु भएको छ । घोषणापत्रमा समेत समाजवादउन्मुख आर्थिक व्यवस्थाका बारेमा लेखिएको भन्दै गौतमले हाल शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरणलाई समाप्त पार्ने घोषणा गर्नुभएको छ । शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरूलाई प्रतिष्ठान बनाउने तथा समुदायलाई हस्तान्तरण गर्ने पनि उहाँले जानकारी गराउनुभएको छ । आफ्नो समेत सहभागिता रहेको कार्यदलले सरकारलाई सुझाव दिएको सन्दर्भमा कुरा गर्दै गौतमले यस्तो खुलासा गर्नुभएको हो ।
गौतमले शिक्षा क्षेत्रमा नेपाल सरकारको पाठ्यक्रम लागू गर्नुपर्ने र त्यो दायित्व सरकारको हुने जानकारी गराउनुभएको छ । सरकारको निर्देशन पालना नगर्ने शिक्षण संस्था तथा स्वास्थ्य संस्थालाई बन्द गरिनेसमेत योजना रहेको गौतमले खुलासा गर्नुभएको छ । वर्तमान सरकारले आधारभूत कुरा पूरा गर्ने भन्दै घर नभएकालाई घर, रोजगारी नभएकालाई रोजगारी, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन सबैको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यो काम शिलशिलाबद्ध ढंगले हुने भए पनि कतिपयले यसलाई लागु गर्न नदिन अनावश्यक हौवा फिजाउने काम गरेको गौतमको आरोप छ ।
गौतमले वर्तमान सरकारलाई शक्तिशाली सरकार भएर पनि काम गर्न नसकेको आरोप लागेपनि सरकार शक्तिशाली हुँदैमा एकाएक सबै परिवर्तन भइहाल्ने नभएर सबै क्षेत्रलाई विस्तारै सुधार गर्दै जान सकिने भएकाले धैर्य गर्न अनुरोध पनि गर्नुभएको छ । शक्तिशाली सरकार हुने बित्तिकै एकाएक कायापलट भइहाल्ने हुने नभई प्रक्रियागत ढंगले सबै विषय सम्बोधन हुँदै जाने गौतमको तर्क छ ।
गौतमको यस्तो भनाइले वर्तमान केपी ओली नेतृत्वको सरकारले बाटो सच्याउन खोजिरहेको संकेत हुन्छ । पाँच महिना बितिसक्दा पनि सरकारको कार्यशैली उत्साहजनक नभएको आरोप सर्वत्र लागिरहेका बेला नेता गौतमबाट आएको यो शुभसन्देशले पक्कै पनि सरकार नयाँ ढंगले चल्ने तयारीमा रहेको विश्वास गर्न सकिने भएको छ । सरकार निर्माण भएको एक सय दिनको मूल्यांकनका हिसाबले सरकारले केही सकाराकात्मक काम गर्ने प्रयास गरे पनि आफैले गरेका कतिपय महत्वपूर्ण कामहरूबाट पछि हट्न थालेपछि ओली सरकारको व्यापक आलोचना सुरु भएको छ । कम्युनिष्ट चरित्र विपरीतका गतिविधि सरकारले गर्न थालेपछि सड्क देखि सदनमा समेत ओली सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको भन्दै त्यसको व्यापक विरोध सुरु भएको छ ।
तर सरकारले भने बाहिर हल्ला गरेजस्तो अधिनायकवाद वा गैरकम्युनिष्ट चरित्रको खण्डन गर्दै आइरहेको छ । गत मंगलबार मात्र प्रधानमन्त्री ओलीले पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सरकारले गरेका राम्रा कामको कुनै प्रचार नभएको र पहिलेदेखिका विषयलाई उठाएर सरकारलाई जबरजस्ती बदनाम गराउन खोजेको आरोप लगाउनुभएको थियो । उहाँले सरकारलाई बदनाम गराउनका लागि अभियान नै सुरु गरिएको भन्दै त्यसको वैचारिक प्रतिवाद गर्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभएको थियो । प्रम ओलीले सरकार अनियमितता, भ्रष्टाचार, घुसखोरी जस्ता विषयमा कठोर रहेको भन्दै त्यस्ता गतिविधि भएमा सरकारलाई जानकारी गराउनसमेत अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको यस्तो भनाइले पनि सरकार आप्mनो कामको समीक्षा गर्दै नयाँ शैलीबाट अगाडि बढ्ने विश्वास गर्न सकिने छ ।
दुईतिहाइको दम्भमा एकलौटी ढंगले अघि बढ्न खोज्दा र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्न खोज्दा चौतर्फी आलोचना र प्रदर्शनी हुन थालेपछि सरकारले आफ्नो बाटो सच्याउन खोजेको प्रधानमन्त्री ओलीको भनाइ तथा नेता गौतमको भनाइले पनि संकेत गर्छ । तथापि भनाइ र गराइमा कति भिन्नता हुन्छ ? त्यसले नै सरकारले साँच्चिकै बाटो सच्याउन खोजेको हो वा तत्कालीन आलोचनाबाट बच्न यस्तो संकेत गरेको हो भन्ने पुष्टि छिट्टै हुने नै छ ।
(- जनधारणा साप्ताहिक)

















