काठमाडौँ, ५ साउन । केही दिन यता काठमामा वर्षा कम हुन थालेपछि उपत्यकाको तापक्रम वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस दर्ता भएको छ ।
उपत्यकामा यो तापक्रम यस वर्षकै उच्च भएको महाशाखाले जनाएको छ । यसअघि जेठ दोस्रो साता उपत्यकाको तापक्रम सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस दर्ता भएको थियो । यही साउन १ र २ गते यहाँको अधिकतम तापक्रम ३१.६ डिग्री पुगेको थियो । गत असार २३ गते काठमाडौँको अधिकतम ताफक्रम ३१.५ डिग्री पुगेको थियो ।
निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । काठमाडौँ उपत्यकामा केही दिनयता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनाइ छ । शनिबारदेखि मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद् मीनकुमार अर्यालले बताए ।
महाशाखाको विवरणअनुसार अबको दुई दिनसम्म देशका अधिकांश भेगमा बदली रही हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


















