भारतीय बाँधले सात सय हेक्टर धानखेत डुबानमा

141

असार दोस्रो साता यशोधरा गाउँपालिका–५, बैदौली भगवानपुरका ७५ वर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे। अहिले उनको धानखेत पूरै डुबानमा छ। वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन्। खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो। बाँधका कारण वर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन्।

धुनियाले डुबानमा परेको खेत देखाउँदै भने, ‘यसपालि भारतले बनाएको महलीसागर बाँधले रोपेको धान पूरै सखाप भयो ।’ गत वैशाखदेखि भारतीय पक्षले बाँधको पूरै ढोका बन्द गरेकाले अहिले बर्खाको पानीले सहज निकास नपाएर रोपोसहित खेत डुबानमा परेको उनले बताए। खेत रोप्दा बिउ र ज्याला गरी २० हजार रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। उत्पादन हुने धान बेचेर गर्जो टार्दै आएका धुनियाले यस वर्ष आफैंलाई पनि खानलाउन समस्या पर्ने बताएका छन्।

धुनियाजस्तै भगवानपुरका धनराज यादवको १० कठ्ठा खेत पनि डुबानमा परेको छ । समयमै वर्षा भएकाले धान रोपेर खुसी भएका उनी पनि असार १५ को वर्षापछि खेत डुबानमा परेकाले चिन्तित छन्। महलीसागर बाँधकै कारण आफ्नो धानखेत डुबेको उनी बताउँछन्। ‘धान रोपेको खेत डुबानमा परेको छ’, उनले खेततर्फ देखाउँदै भने, ‘खेतजति सबै पोखरी बनेको छ, रोपो पनि पानीले खाएको छ।’ उनले धान रोप्दा लागेको लगानी र परिश्रम खेर गएको दुःखेसो पोखे। उनले भने, ‘अब परिवार पाल्नै मुस्किल पर्ने भो।’  नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here