काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लासको राजनीति नगर्न चेतावनी दिएका छन् । डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा उनले काग्रेंसको चर्को आलोचना गर्दै चेतवनी दिएका हुन् ।
अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै प्रचण्डले डा. केसीको आडमा कांग्रेसले आन्दोलन गरेकोमा आपत्ति जनाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवनरक्षाको दायित्व सरकारको भएको दावी गरे । डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको जनाउदै प्रचण्डले भने–‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ? ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’


















