त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो वाइड–बडी (मकालु) विमान अवतरण गरेको छ । नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको छ ।
१८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लास रहेको वाइड–बडी जहाजको सिट क्षमता २ सय ७४ छ ।
नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइड–बडी (ए३३०–२००) मध्ये पहिलो वाइडबडी ३३०–२०० जहाज अर्थात् (अन्नपूर्ण) असार १४ गते नेपालमा भित्र्याएको थियो ।
पहिलो वाइड–बडी ‘अन्नपूर्ण’ विमानलाई अगस्ट १ देखि व्यवसायीक उडानमा ल्याइने र दोस्रो वाइड–बडी ९मकालु० विमानलाई भने प्रशानिक प्रक्रिया पूरा गरेर व्यवसायीक उडानमा लगाउने निगमको योजना छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले विमानको स्वागत गरेका थिए भने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका थिए।
निगमले दुई वाइड–बडी जहाज किन्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको हो । निगमले ऋण सम्झौता गरेर एक वर्षमै जहाज भित्र्याउन सफल भएको हो ।


















