दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ । दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले दुईतिहाइका बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो ।
‘प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइ समितिले गरेको अस्वीकृति नेकपाको दुईतिहाइको बलमा भएको निष्कर्षमा हामी पुगेका छौं’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामी संसद, सडक, बौद्धिक जगत् हुँंदै अन्तर्राष्ट्रियकरण गर्छौं ।’
दुईतिहाइ मतका आधारमा गरिने निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तमा समेत खेलवाड भएको अर्का नेता डा. शेखर कोइरालाले बताए । ‘सत्तारुढ दलहरूको पछिल्लो भूमिकाबारेमा हामीमा आशंका देखिएकै हो’, डा. कोइरालाले भने, ‘यसमा अन्तर्राष्ट्रिय समुदायको समेत चासो छ । हामी पनि अन्ततः अन्तर्राष्ट्रिय जगतलार्ई यसप्रति गम्भीर हुन आग्रह गर्छौं । दुईतिहाइको आडमा सबैतिर प्रभाव देखाउन खोज्ने हो भने यस्तो बलमिच्याइँले शक्ति पृथकीकरणको सिद्धान्तमै खेलवाड हुन्छ ।’अन्नपूर्ण पोस्टबाट ।

















