काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको बुधबार प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएकन हुन् ।
सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडाँै महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताए ।
बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा हुनका साथै बाँकी काम निर्धारित समयमा सम्पन्न गर्ने निर्णय भएको जानकारी दिँदै उनले राष्ट्रिय महत्वको उक्त सम्मेलन देशको प्रतिष्ठासँग गाँसिएकाले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।


















