पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै

996

उदयपुर/ उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।

गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा जनाउँछन् ।

इनामेमा आजभन्दा सात वर्षअघिसम्म स्थानीय यारीखोलामा सञ्चालन हुँदै आएको पानीघट्ट अहिले पूर्णरुपमा बन्द हुन पुगेपछि पानीघट्ट लथालिङ अवस्थामा रहेको ताप्ली गाउँपालिका–४ का ७० वर्षीय कृष्णमान तामाङ बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, “पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा यारीखोलाको पानी घट्टमा वल्लोपल्लो गाउँका गाउँले धान कुटाउन कोदो मकै पिसाउनेको ओइरो नै लाग्थ्यो, अब घट्ट भत्किदै गइसक्यो, यो क्षेत्र सुनसान बन्न पुगेको छ, सबै आफ्नै टोलटोलमा नयाँ प्रविधिको मिल सञ्चालन गरेर धान, कोदो र मकै पिस्छन् ।”

जिल्लाको पहाडी क्षेत्रमा घरघर र गाउँगाउँमा सञ्चालन हुने ढिकी, पानीघट्ट र जाँतो रहे पनि प्रयोगमा ल्याउन छाडेका कारण यसको प्रचलन नै हराउन लागेको छ ।  अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here