ब्रेथलाइजर हस्तान्तरण कार्यक्रम सम्पन्न

75

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गर्नु भएको हो ।
दशै तिहार छठ लगायतका ठुला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामाग्री हस्तान्तरण गरिएको हो । सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले बताउनु भयो ।
चालकले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि, ब्रेथलाइजरको मुख्य भूमिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनु भयो । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योती बानिया, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा.रवीन्द्र बासकोटा र नेपाल प्रहरीका प्रहरी अधिकृतहरूको उपस्थित रहेको थियो ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here