उज्ज्वल भविष्यको खोजी गर्दै ‘दिनेश’

242

निशा तामाङ

व्हील चेयरले बाधिएका दिनेशका पाइलाहरु जुन अब कहिले उठेर , उभिएर हिँड्न सक्दैनन् । जन्मजातै अपाङ्गता भए त सहन पनि सकिन्थ्यो होला तर जन्मिदाको सबलता र पछिको अपाङ्गता भएको शरिर लिएर जीवन बिताउन साच्चै नै पीडाबोध हुँदो रहेछ । सायद शब्दमा बयान गर्न सकिदैन ।

गुल्मी दर्लिङमा जन्मिएका दिनेश खत्री कुनैबेला सबल जीवनयापन गरिरहेका थिए । तर के थाहा उनलाई समयले यसरी कोल्टे फेर्दैछ भनेर । १४ वर्ष अघिको घटना सम्झिदै दिनेश भन्छन्– आजै जस्तो लाग्छ मलाई ती पुराना दिनहरु सम्झिदा, जुन दिनहरुमा म अत्यन्तै खुशी थिए । उनी आफ्नो बालापन सम्झदै अगाडि भन्छन्, त्यो समय मेरा यी पाइलाहरु हरेक गन्तव्यका लागि हरदम अगााडि बढ्ने गर्दथे । म जहाँ जाने गर्दथे जे गर्दथे मलाई कसैको सहारा, कसैको जरुरी थिएन । जिन्दगीमा केही गर्ने रहर बोकेर आमा बुबालाई खुशी राख्ने सपना थियो । तर सपना सबैको कहाँ पुरा हुँदो रहेछ र ?उनले भावुक हुँदै भने– यस्तै भयो मेरो सपना पनि । अधुरो रह्यो मेरो सपना । मैले देखेको सपना विपना बन्न नपाउँदै सिसा सरी फुटेर गयो । सायद सपना देख्नु नै पो गल्ती भयो कि ?

२०६२ साल साउन २९ गते शनिबारको दिन दिनेश गाईवस्तुु हेर्न जाँदै थिए । अचानक उनी भिरबाट लड्न पुगेछन् । उनलाई त्यसपछि के भयो केहि थाहा भएन । उनलाई होस् आउँदा उनी पाल्पा मिसन हस्पिटल भर्ना भएका रहेछन् । उनी भावुक स्वरमा भन्छन्– मेरो मेरुदण्डमा चोट लागेको रहेछ । हस्पिटलमा चोट र पीडा सहेर २५–२६ दिन बसें तर मेरो त्यहाँ उपचार हुन सकेन । मेरो ढाडको अपरेशन त्यहाँ असम्भव भयो । डाक्टरले १२–१३ वर्षको केटा हो आफैँ एक्सरसाइज गरे ठीक हुन्छ नभए उपचार नै गर्न मन छ भने अन्त लैजाँदा पनि हुन्छ भन्ने जवाफ दिनुभयो । डाक्टरको जवाफ सुनेपश्चात् दिनेशलाई घर लगिएछ । तर उनलाई घरमा झन बढी समस्या हुँदै गयो । उनलाई घर लगेको एक महिना बित्न नपाउँदै शरीरमा ठूला–ठूला घाउ आउन थालेछ । सबैले उनको शरीरमा आएको घाउ देखेर बाँच्न सक्दैन भनेर आश मार्न थालिसकेका रहेछन् । सबैको मनमा अब मर्छ भन्ने भइसकेको थियो । सबैले माया मारिसकेका थिए । दुःखपीडाले भरिएको अवस्थामा भन्ने बित्तिकै काल पनि कहाँ आउँदो रहेछ र ?

पीडैपीडामा दिनेशका दिनहरु बित्दै गए । तर उनी हिंड्न सकेनन् । उनको घाउका कारण उनको खुट्टामा गहिरो असर परेका कारण उनी अपाङ्ग भए । अपाङ्ग पनि यस्तो कि अब उनको खुट्टा कहिल्यै ठीक हुने छैनन् । उनी आफू बसेको व्हील चेयर देखाउँदै भन्छन– मेरो सहारा यही हो ।

दिनेशलाई परिवारबाट भएको अपहेलना सहन गाह्रो थियो । दिनेशको बुबाले दुई श्रीमती बिहे गरेका रहेछन् । दुई श्रीमतीमध्ये जेठी श्रीमतीको सन्तान थिए दिनेश । बुबाले कान्छी श्रीमती बिहे गरेपछि हेलाँको दृष्टिकोणले हेर्न थालेका रहेछन् । त्यसमाथि पनि अपाङ्ग भएका दिनेशलाई बुबाले के नै पो हेर्थे होलान र ! वास्तासमेत गर्न छोडेका थिए । घरपरिवारबाट भएको बेवास्ता, घृणा, अपहेलना सोचेर मनमा धेरै पीडाबोध गर्थे दिनेश । दिनेश भन्छन्– सोचेर रुन मन लाग्थ्यो । मर्न मन लाग्थ्यो । तर भन्ने बित्तिकै काल पनि कहाँ आउँदो रहेछ र ? कति आफूले आफूलाई मार्न कोशिस गरें तर सकिन । म हरेक पल तड्पिएर बाँचिरहेको थिएँ । त्यो पल सायद सोच्दा पनि अहिले धेरै स्तब्ध हुन्छु । उनी अझ पीडाबोध भावमा यस संसारमा न बाँच्न सजिलो न मर्न सजिलो । पीडैपीडाले भरिएको यस संसारमा तड्पिरहेको थिएँ म ।

समय बित्दै गयो । यसैक्रममा दिनेश आफ्नो उपचारका लागि काठमाडौं आए । काठमाडौं जोरपाटीस्थित अर्थोपेडिक अस्पतालमा भर्ना भएका उनको उपचार त्यहाँ हुन सकेन, तर त्यहीँ अवस्थित अस्पाइनल कर्ड इन्जुरी पुनस्र्थापना केन्द्रमा भर्ना भए । त्यहाँ उनलाई एक्सरसाइज गराइन्थ्यो जुन उनको शरीरको लागि आवश्यक थियो । त्यहाँ उनी मात्र नभएर अन्य उनी जस्तै अपाङ्ग थिए । तर उपचारकै क्रममा दिनेशको त्यहाँ दायाँ खुट्टा भाच्ािँए । उनलाई त्यहाँबाट वीर अस्पताल पठाइयो । वीरबाट उनलाई घर पठाइयो । उनी भन्छन्– मलाई बेडरेस्टको लागि घर पठाइयो । त्यहाँ फेरि मेरा जीवनमा चोटमाथि चोट थपिए । मलाई घर परिवारबाट झन धेरै घृणा र अपहेलना भयो ।

म जीवनमा केहि गर्न चहान्थे । पढ्न चाहन्थें । तर म आर्थिक अवस्थामा पनि कमजोर मान्छे केही गर्न सकिनँ । यस्तैमा मैले आफ्नो दुःखव्यथा सुनाउन नेपाली बिबिसी रेडियो नेपालमा पत्र लेख्थे । फोन गर्थे । त्यसै गरेर मेरो दुःख पीडा सुनाउँथे । कहीं कतैबाट केही सहयोग मिल्छ कि भन्ने आशामा । यस्तैमा मलाई एउटा एफएम रेसुङ्गाबाट फोन आयो मेरो रेकर्डिङ गर्नका लागि । मेरो जीवन कहानी सम्पूर्ण उहाँलाई भने । उहाँले त्यो प्रसारण गरिदिनुभएको दुःखान्त घटना सुनेर आशा अपाङ्ग केन्द्रले मलाई सहयोग गर्ने भयो । त्यस अपाङ्ग केन्द्रबाट दिनेशलाई पढाउने भएछ । मैले सोही कुरा मेरो घरमा भन्दा बुबा झन रिसाउनु भयो बेइज्जत ग¥यो भनेर । तर मेरो इच्छा चाहना, दृढ इच्छाशक्तिका कारण म अडिग भएँ ।

म पढ्न भनेर काठमाडौं आएँ । मैले आठ वर्षसम्म छोडेको पढाईलाई निरन्तरता दिए । पढाइ संगै म खेलकुद प्रतियोगितामा पनि संलग्न भए । अपाङ्गहरु सबै मिलेर खेल खेल्थे । धेरै प्रतियोगितामा सफल पनि भएको थिएँ । आशा अपाङ्ग केन्द्रबाट मलाई कक्षा १० सम्मलाई पढ्न सहयोग ग¥यो । तर त्यसपछिको मेरो पढाइलाई निरन्तरता दिन सहयोग गर्ने केहि भएन । दुःखसुख कलेज भर्ना गरे तर अहिले मलाई समस्या परिरहेको छ ।

दिनेश कसैले सहयोगी हात अघि बढाइदिएका छैनन् । मानव भएर मानवताको व्यवहार देखाएर मानवीय कर्तव्यबोध गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । दिनेश अगाडि भन्छन्– पटक पटक ढलेर पनि उठे । मृत्युको मुख निर पुगेर पनि फर्के । साच्ँचै नै मेरो जिन्दगीको भोगाइ कति कहालीलाग्दो छ तर पनि यात्रा निरन्तर जारी छ । किनकि मेरो जिन्दगीको अर्थपूर्ण कथा एक दिन विश्वलाई प्रेरणा दिनु छ । सहयोगी हातहरुका लागि विनम्र अनुरोध गर्दछु । दिनेश खत्री , फोन नं ९८१८८२२९०६, ९८४७४४००७६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here