तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का पशुपालक वसन्त कुमार शर्माले गुनासो पोखे ‘हामी कृषकहरुलाई मुल्यमा धेरै समस्या भयो , हामीले आफै हाम्रो उत्पादनको मुल्य तोक्न पाउनुप¥यो’ उनले विचौलियाका कारण लागत भन्दा पनि कम रकममा कृषि उपज विक्री गर्नुपर्दाको पीडा पोख्दै थिए ।
विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले सानासाना योजनालाई पनि समेटेर अगाडि बढ्नुपर्ने कुरा जनाए । उनले अनुगमन प्रभावकारी बनाउन आवश्यक्ता रहेको समेत जनाए । अर्का बासिन्दा कमानसिंह डाँगीले सामुदायिक विद्यालयको अवस्था खस्किदै गएकाले सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिए । विजौरीकै लेखनाथ खत्रीले वेलझुण्डी खानेपानी नेतृत्वविहिन भएकाले त्यसलाई निकास दिनका लागि आग्रह गरे ।
दुधरासका टेकवहादुर चौधरीले छाडा गाइवस्तुका कारण वालीनालीमा नोक्सानी भएको गुनासो राख्दै उपमहानगरपालिकालाई त्यसको नियन्त्रण गर्न आग्रह गरे । उनले कृषि शाखाले राम्रो व्यवहार नगरेको भन्दै किसानका कुराहरुलाई सम्वोधन गर्नुपर्ने वताए । सोही ठाउँकै मानवहादुर डाँगीले पहुँचको भरमा बजेट बाँडिएको भन्दै जनताका माझबाट योजनाको छनोट गर्नुपर्ने सुझाए ।
कृषि पेशामा आवद्ध चित्रा धितालले मादक पदार्थ सेवन गरेर पुृरुषहरुले महिलालाई दुख दिएको जनाएकी थिइन् । विजौरी कुटिचौरका पुर्णवहादुर पुनले पशुलाई पनि वडाले सुत्केरी भत्ता दिएर कृषकलाई उत्प्रेरित गरेको जनाए । काँग्रेसका नेता हिमवहादुर डाँगीले राजनीतिक पूर्वाग्रह त्यागेर काम गर्न आग्रह गरे ।
वडाध्यक्ष माधव वलीले वडावासीको मन जितेर काम गर्ने प्रतिवद्धता जनाउँदै जनताका गुनासोहरुलाई सम्वोधन गर्ने वताएका थिए । उनले जनताका समस्याहरुलाई समाधान गर्ने जनाउँदै जनप्रतिनिधिका रुपमा आफुले विशेष पहल गर्ने जनाए ।
विकासमा प्रतिवद्ध छौ : नगरप्रमुख पाण्डे
जनताका कुरा सुनिसकेपछि नगरप्रमुख घनश्याम पाण्डेले जनताको सुखदुखमा सधै साथ रहेर काम गर्ने जनाएका थिए । करका कारण जनतालाई अफ्ठेरो परेको भए त्यसमा पुर्नविचार गर्न तयार रहेको समेत जानकारी दिए । तुलसीपुरमा रहेको छाडा चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले तत्काल पहलकदमी लिने जनाउँदै पाण्डेले भने ‘जग्गाका लागि नेपाल संस्कृत विश्वविद्यालयसँग छलफल भइरहेको छ समाधान तत्काल गर्नेछौ’ योजनामा चरम लापरवाही भएको गुनासो धेरै आएका वताउँदै नगरप्रमुख पाण्डेले यस वर्षबाट अनुगमनलाई कडाइ गरिने जनाए । उनले बाटो चौडा गर्ने क्रममा धेरै ठाउँमा समस्या रहेको जनाउँदै जनताले सहयोग गरे सडक निर्माणलाई तिव्रताका साथमा अगाडि वढाइने जनाए ।

















